पहिलो समाजसेवा: 'फन्नि ट्र्याप' मा माइला दाइ र बाबु !?

पहिलो समाजसेवा: 'फन्नि ट्र्याप' मा माइला दाइ र बाबु !?

टंक राई  |  साहित्य  |  बैशाख ६, २०७८

हामी बच्चा हुँदा हाम्रो गाउँघरको जीवन बडो गज्जबको थियो । कठिन थियो नभनेर मैले किन गज्जबको थियो भने ?  किनभने त्यो बेलाको समाज सरल थियो । कठिनाइ त धेरै थिए । तर, आज जस्तो जटिल समाज थिएन । शारीरिक श्रम जीवनको मुख्य आधार थियो । नुन लिन धरान वा लाहान जानुपर्थ्यो । घरैमा वा स्थानीय हटियामा सहज किन्न पाइँदैनथ्यो । पाइए पनि किन्न आजभोलि जस्तो पैसाको कारोबार गाउँमा हुन्न थियो । नुनका किन्नका लागि पैसा नभएकै कारण वस्तु विनिमय गरिन्थ्यो । भर्नी भन्नाले घिउ वा आलुसँग नुन साट्ने चलन थियो । घिउको २० भर्नी वा २५ भर्नीसम्म नुन पाइन्थ्यो ।

 भर्नी भन्नाले १ बटुको घिउ भए २२ वा २५ बटुको नुन पाइन्थ्यो । मट्टितेलका लागि पैसा चाहिन्थ्यो । त्यसैले मट्टितेल अति महँगो र महत्त्वपूर्ण जिनिस मानिन्थ्यो । मट्टितेल पाउनुभन्दा अघि ढोड वा दियालो बालेर रातभर जस्तो पिपी (बजू), आमा र निनीहरू कपास धन्दाउनु हुन्थ्यो । कपास धन्दाउनु भनेको वोइटामा लगाएर कपास लगाएर ज्यापु (कपासको बिउ) छुट्टाउनु , फेरी त्यसलाई मसिनो बनाउनु र त्यसपछि चर्खामा धागो कातनु । धागो कातेर मात्र पुग्दैन थियो । धागो बनिसकेपछि माड लगाउनु पर्थ्यो ।

अनिमात्र तान लगाउन योग्य हुन्थ्यो । त यो काम सबै करिव करिव अध्यारोमा नै गर्नु पर्थ्यो । ढोडको आगो पिलिक्क बल्थ्यो निभ्थ्यो, फेरी ढोड थप्यो गरिरहनु पर्थ्यो । त्यसैले हामी कदम (जेट्रोफा)को दाना भेला गर्दथ्यो । यो दानालाई सिन्कामा उनेर बाल्दा बत्ति जस्तै बल्थ्यो र निकै बेर बल्थ्यो । यस वापत हामीले पिपी, आमा र नीनीहरुबाट श्यावासी पाउँथ्यौँ । त्यसपछि मट्टितेल आयो । काम त अलि सजिलो भो । तर पैसामा किन्नु पर्ने र लाहान वा धरानबाट ल्याउनु पर्ने भएकाले सारै मुल्यवान मानिन्थ्यो । धरानबाट नुन ल्याउन ९ देखि १० दिन लाग्थ्यो भने लाहानबाट ८ देखि ९ दिन । यो थियो जीवनको कठिनाइ र भोगाइ । 

तर पनि जीवन सरल थियो । आफूले लगाउने लुगा आफै बुन्ने । आफूले खाने अन्न पानी आफैं उत्पादन गर्ने । अहिले जस्तो खानामा दाल, भात, तरकारी र अचार हुँदैनथ्यो । चामलको भात दसैँ, तिहार बाहेक अरु बेला मुस्किलले खान पाइन्थ्यो । मकैको पिठे भात र कोदोको ढिँडो तिहुनसँग खाइन्थ्यो । तिहुन भनेको आजकलका पाठकलाई थाहा नहुन सक्छ । साग, आलु वा मुन्टामा झोल लगाएर तिहुन बनाइन्थ्यो । गुन्द्रुक, सिन्की र किनिमा हरियो सागपात नभएको बेला तिहुनको काम आउँथ्यो । भुटुनको जोहो गर्न गाई भैँसी पाल्नै पर्थ्यो । आजकल जस्तो तेल किन्न पाइँदैनथ्यो । घिउ नभए सुँगुरको बोसोले काम चलाउन पर्थ्यो । अलि अलि हुनेहरुले तोरी वा झुसे तिलबाट कोलमा पेलेर तिहार र माघे सङ्क्रान्तिको बेला सेल रोटी पकाइन्थ्यो । घोडाखरी र खराने पनि पेलेर तेल निकालेर भुटुनको काम चलाइन्थ्यो ।

भोलिपल्ट बिहानै थाहा भो त्यो ट्रयापमा प्रकाशबाबुको माइला दाई पर्नुभएछ । भारी बोकेको भए पनि सारै धेरै कुनै अनहोनी (घाउचाेट) लागेनछ  सायद खाल्डो त्यत्ति धेरै गहिरो नभएर होला । खाली लड्नु भएछ । खास ठुलो दुर्घटना नभएकाले माइला दाइले पनि हाँसेरै पचाइदिनु भो र हाम्रो बाटो सफा गर्ने नियमित कार्यक्रम सुरु भो । हामी २, ३ महिनामा एक चोटी बाटो सफा गर्न थाल्यौ । बाटो सफा गर्ने क्रममा फेरी अर्को एक पटक पनि खाल्डो खनियो र ट्रयाप बनाइयो । त्यो ट्रयापमा हाम्रो बाबु फस्नु भो । सौभाग्यले कुनै ठुलो घटना भएन र वहाँले पनि हाँसेरै पचाइदिनु भयो ।

हिउँद याममा सबै वयस्क महिला तान लगाउने  बुन्न काममा  व्यस्त हुन्थे । तान बुन्न नजान्नेलाई (तुवाचुङं) लगेर घ्रोमु लजुको थानमा लगेर तान बुन्न सिकाइन्थ्यो । हिउँदभर तान बुनेको सारै मिठो धुन छक्ल्याङ् छ्याक धेरै टाढाबाट पनि सुनिन्थ्यो । त्यही बेला तन्नेरी वा बुढाहरू पनि नुन तेल लिन मधेस झर्थे । मधेस झराइ पनि रमाइलो हुन्थ्यो । धिरी (ढुंग्रे बाँसको २,३ आख्लाको लामो ढुंग्रों) मा घरमा आमा,  पिपीहरुले पियोर कोदोको रक्सी ढाकरमा भारी लगाइ दिनु हुन्थ्यो । साथसाथै मेथी लगाको कोदोको जाँड पनि । नुन साट्ने घिउ वा आलु समेत ओढ्ने ओछ्याउने, पकाउने भाँडाकुँडा गर्दा भारी कुरुस्तै हुने गर्थ्यो ।

तैपनि बुढाहरू खुसी खुसी मधेस झर्थे । जहाँ पानी भेट्यो त्यहीँ खाना पकायो खायो । जहाँ रात पर्छ त्यही बास बस्यो । कमसेकम मधेस झर्ने खर्च जोहो गर्दा एम छाक कुखुरा किनेर खाने पैसा समेत जोहो गरिएको हुन्थ्यो । त्यो एक बासमा कुखुरा खानलाई पनि हाम्रा अग्रजहरू जीवनको रमाइलो क्षण ठान्थे, सायद !  ६०, ७० किलोको बोझ ओहोर दोहोर गरेकोमा तिनीहरूलाई कुनै अपशोच थिएन । घर आइपुगेको दिन उनीहरूको राम्रो खातिरदारी हुन्थ्यो । ढाड पिल्सिएका हाम्रा बाहरूलाई कोदोको तिन पाने र भए क्वाँक भालेको स्वागत मिल्थ्यो ।

मधेश आइ पुग्ने दिन गाउँमा खुसीयाली हुन्थ्यो र चाड जस्तै हुन्थ्यो । किनभने तिनीहरूले वर्ष दिनका लागि हाम्रा लागि नुन तेल ल्याएका हुन्थे । मधेशे भन्नाले मधेस नुन लिन झरेकाहरू भनिन्थ्यो । मधिसेहरू कसले बढी नुन बोक्यो त्यसको गफ गरिरहन्थे वा को पन्थे (पहिलो चोटि जाने) लाई कहाँ नाच्न लगाइयो त्यस बारे गफ हाँकिरहेका हुन्थे । हामी केटाकेटीहरू उनीहरूले ल्याइदिएको सक्खर(गुड) मा मस्त जो भएका हुन्थ्यौ । यो प्रसङ्ग म फेरी कुनै समय लेखुँला । 

आज म जे लेख्न खोज्दै थिँए, प्रसङ्गबाट भड्किएछ । खैर यसलाई पूर्व कथन मानिलिनुहोस् । त्यो बेला जब म ८ वर्षको थिँए (स्कुल म त्यसै बेला औपचारिक भर्ना भएको थिँए) स्थिति अलग थियो । हामी स्कुल जान खुब मन पराउँथ्यौ । यसको मतलब यो होइन कि हामीलाई पढ्न मन पर्थ्यो । यसको मतलब के हो ? भने हामीलाई घरमा भन्दा स्कुलमा कम काम गर्नु पर्थ्यो र खेल्न पनि पाइन्थ्यो । त्यसैले हामी स्कुल जान्थ्यौ । 

खेल्नका लागि हामीसँग केही खेल सामग्री थिएन । थाङ्नाको गोल पनि हामीभन्दा ठुलाहरू नै खेल्थे । उनीहरूले हामीलाई खेलाए पनि गोल किपर बनाउँथे । कहिले गोल आउने र पक्रिने । त्यस बाहेक गरी, डन्डीबियो र भाले जुधाइ खेल । हामी सानाहरूका लागि त्यो खेल खेल्न सम्भव नै थिएन । हामी झुम्रोको पुतली खेलेर हुर्केको पुस्ता हो । 

त्यो बेला गाउँको बाटो धेरै साँघुरो हुन्थ्यो । त्यही बाटोमा पनि बिचमा मात्रै हिँडेकाले मान्छेका पाइतलाले खियाएर खाल्डो जस्तो बनेको हुन्थ्यो । हाम्रो गाउँको माझमा एउटा मुख्य बाटो छ, त्यसलाई हामी गल्ली भन्थ्यौ । त्यो गल्ली लुकु खोल्सादेखि खहरे खोल्सासम्म थियो र यो झन्डै ५०० मिटर लामो थियो । बाटो त यो अलि फराकिलो नै थियो । तर, माथि भनिए जस्तो बिचमा मात्रै खाल्डो परेकोले हिँड्न अप्ठेरो हुन्थ्यो । वर्षा र पानी परेको बेला चिप्लोमा मान्छे लडिरहन्थे । यो अप्ठेरोलाई हटाउन पाए हुने भन्ने लागिरहन्थ्यो । त्यस्तै हाम्रो स्कुल जाने बाटो पनि सारै नाजुक थियो । बाख्रा बाहेक कुनै जनावर पनि त्यो बाटो हिँड्न सक्दैनथ्यो । 

मेरो गाउँमा मिल्ने साथी रणवीर हुनुहुन्थ्यो । वहाँ मभन्दा २ वर्ष जेठो । तर, वहाँलाई सबैले गोरे भनेर बोलाउँथे । अहिले सबैले प्रकाशबाबु भनेर बोलाउँछन् । अर्थात् प्रकाशको बाबु । हाम्रोमा छोराछोरी जन्मेपछि छोराछोरीको नामबाटै बोलाउने चलन छ । त्यसमा पनि बिचको अक्षर को हटाएर । जस्तो कि प्रकाशको बाबु लाई प्रकाशबाबु, रमेशको बाबुलाई रमेशबाबु । त, हामी भन्नाले प्रकाशबाबु र म सधैँ सँगसँगै स्कुल जान्थ्यौ, सँगसँगै सधैँ फर्किन्थ्यौ, सँगै खेल्थ्यौ । रातको ७, ८ घण्टा बाहेक हामी हरेक दिन सँगै हुन्थ्यौ । स्कुल जाने हाम्रो टोलको केटाकेटी मध्ये प्रकाशबाबु सबैभन्दा जेठो भए पनि मेरो कुरा प्रायः सबै मान्ने । 

मैले एक दिन गल्लीको बाटो फराकिलो र राम्रो पार्ने भनेर प्रस्ताव गरे । प्रकाशबाबु सहमत हुनु भो । अब हाम्रो काम सुरु भयो । स्कुल छुट्टी भएर आएपछि बासी भातको खाजा खाएर हामी बाटो खन्ने काम गर्थ्यौ । त्यसो त हामी स्कुल छुट्टी भएपछि गोठमा घाँस पानीका लागि जानु पर्थ्यो । गोठमा नगए गाली खानु पर्थ्यो वा कहिलेकहीँ त थप्पड पनि । तर, हामीले बाटो खन्न थालेको देखेर हाम्रो घरका अभिभावकहरूले कुनै गाली गर्नु भएन, सायद राम्रो काम गरे, भन्ने नै लागेर होला । त्यो ५०० मिटर बाटो तुलनात्मक रुपमा अलिकति राम्रो बनाउन हामीलाई हप्ता दिन भन्दा बढी लाग्यो । 

बाटो राम्रो भो । झार जङ्गल नभएको सबै सफा र ठुलो भयो । सकिने सकिने बेला प्रकाशबाबुले खनिसकेको बाटोको बिचमा सानो खाल्डो खन्न थाल्नु भो । मैले के गरेको भनेर सोध्दा सिर्फ हाँस्नु भो मात्र । खाल्डो खनिसकेपछि साना साना झिँजा माथिबाट टाँगेर खनिउँको पातले छाप्नुभयो । अनि माथिबाट माटोले पुर्नुभयो । अब त्यहाँ एउटा फन्नि ट्रयाप तयार भएको थियो । मैले केही भनिन । को पर्ला त्यो खाल्डोमा भन्ने मात्र सोचिरहे । 

भोलिपल्ट बिहानै थाहा भो त्यो ट्रयापमा प्रकाशबाबुको माइला दाई पर्नुभएछ । भारी बोकेको भए पनि सारै धेरै कुनै अनहोनी (घाउचाेट) लागेनछ  सायद खाल्डो त्यत्ति धेरै गहिरो नभएर होला । खाली लड्नु भएछ । खास ठुलो दुर्घटना नभएकाले माइला दाइले पनि हाँसेरै पचाइदिनु भो र हाम्रो बाटो सफा गर्ने नियमित कार्यक्रम सुरु भो । हामी २, ३ महिनामा एक चोटी बाटो सफा गर्न थाल्यौ । बाटो सफा गर्ने क्रममा फेरी अर्को एक पटक पनि खाल्डो खनियो र ट्रयाप बनाइयो । त्यो ट्रयापमा हाम्रो बाबु फस्नु भो । सौभाग्यले कुनै ठुलो घटना भएन र वहाँले पनि हाँसेरै पचाइदिनु भयो । त, यो नै थियो हाम्रो गाउँका लागि गरेको पहिलो समाजसेवा । 

 

hamrojalapa.blogspot.com बाट