कूल ११४ मुद्दा दर्ता भएकोमा ६० मुद्दा फर्छ्यौट

कूल ११४ मुद्दा दर्ता भएकोमा ६० मुद्दा फर्छ्यौट

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ०६, २०७८

हुम्ला । जिल्ला अदालत हुम्लाले चालू आर्थिक वर्षको हालसम्म  ६० मुद्दाको फैसला गरेको छ । अदालतका अनुसार अघिल्लो आवको सरेको र यस वर्षको नयाँ दर्ता गरी चालू आवमा हालसम्म कूल ११४ मुद्दा दर्ता भएको बताइएको छ । 
    
अघिल्लो आवमा सरेर आएको मुद्दा सङ्ख्या ६१ छ । चालू आवमा नयाँ ५३ वटा गरेर अदातलतमा दर्ता भएका ११४ मुद्दामध्ये ६० वटा फर्छ्यौट भइसकेको जिल्ला अदालत हुम्लाका स्रेस्तेदार मदनराज भट्टराईले बताउनुभयो । देवानीतर्फ जिम्मेवारी सरेको २७, नयाँ दर्ता भएका २५ गरेर जम्मा ५२ मध्ये ३० वटा फर्छ्यौट भएका छन् भने २२ वटा फैसला हुन बाँकी रहेका छन् । 
    
सरकारवादी मुद्दा जिम्मेवारी सरेका २६, नयाँ दर्ता भएका १५ गरेर जम्मा ४१ वटा मुद्दामध्ये १७ वटा फर्छ्यौट भएका छन् भने २४ वटा मुद्दा बाँकी रहेको स्रेस्तेदार भट्टराईले बताउनुभयो । फौजदारीतर्फ जिम्मेवारी सरेका आठ, नयाँ दर्ता १० गरेर १८ मध्ये १३ वटा फैसला भएको र पाँच वटा मुद्दा बाँकी रहेका छन् । यस्तै पुनरावेदनमा नयाँ दर्ता भएका तीनवटै मुद्दाको फैसला हुन बाँकी छ ।
    
जिल्ला अदालत हुम्लाले तीन वर्षको औसतमा दर्ता भएका मुद्दाका आधारमा हालसम्म ६८ दशमलव चार प्रतिशत मुद्दा फैसला गरेको जानकारी दिएको छ । यस्तै जिल्ला अदालत हुम्लामा आठ वटा बालबालिकासम्बन्धी मुद्दा दर्ता भएको थियो भने यसमध्ये चार वटा फैसला भइसकेको छ भने बालबालिकाको सङ्ख्या ११ वटा रहेको छ । यस्तै दुई जना बालबालिकालाई सुधार केन्द्रमा राखिएकोसमेत बताइएको छ । यस्तै ज्येष्ठ नागरिकसम्बन्धी कुनै पनि मुद्दा नपरेको जिल्ला अदालत हुम्लाले जानकारी दिएको छ ।