उपत्यकामा कडाइ : लगाएको मास्क पाँच दिन सुरक्षित राख्नुपर्ने

उपत्यकामा कडाइ : लगाएको मास्क पाँच दिन सुरक्षित राख्नुपर्ने

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  बैशाख ७, २०७८

काठमाडौँ । मुलुकमा नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण फैलिएपछि काठमाडौँ उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको छ ।

यसअघि सडकमा यत्रतत्र मास्क फ्याँक्ने गरिएको थियो । त्यसबाट सङ्क्रमण फैलने डर हुन्थ्यो । अब त्यसरी मास्क फ्याँक्नेलाई कारवाही गर्ने गरी उपत्यकाको प्रशासनले नयाँ व्यवस्था लागू गरेको छ । मुख्यगरी यातायातका साधन सञ्चालनमा थप कडाइका साथै प्रयोग गरेका मास्कलगायत सामग्री विसर्जनमा ध्यान दिन भनेको छ । अब विसर्जन गर्नुपर्ने मास्क बन्द डस्टविन वा प्लाष्टिकको झोलामा बन्द गरी सुरक्षित साथ पाँच दिन अनिवार्यरूपमा सुरक्षित साथ राख्नुपर्ने छ । त्यसपछि मात्रै  विसर्जन गर्नुपर्ने छ । अटेर गरेमा कारवाही हुनेछ ।

घर तथा सार्वजनिक स्थानमा जथाभावी नथुक्न र प्रयोग गरेको मास्क जथाभावी नफ्याँक्न पनि भनिएको छ । सरकारले दिएको आदेश नमान्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । 

सरकारी आदेशअनुसार काठमाडौँ प्रशासनले उपत्यकामा सङ्क्रमण रोक्न मानवीय गतिवधि नियन्त्रण गर्न थालेको हो । नयाँ भेरियन्टसहित कोभिड–१९ महामारीको सङ्क्रमण बढ्दै गएको सन्दर्भमा त्यसको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषद्ले सोमबार महत्वपूर्ण निर्णय गरेको थियो ।

सोही निर्णयको आधारमा गृहमन्त्रालयबाट प्राप्त निर्देशनानुसार आज काठमाडौँ प्रशासनले विशेष सूचना जारी गरी सावधानी अपनाउन भनिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । काठमाडौँ प्रशासनले सवारी साधन सञ्चालन गर्दा चालक र सहचालकले मास्क र भाइजर अनिवार्यरूपमा लगाउन भनेको छ । सवारी साधनलाई दैनिक निसङ्क्रमित गर्न, कुनै पनि यात्रुले मास्क नलगाई आएमा चालक तथा सहचालकले बढीमा रु १० लिई उपलब्ध गराउन पनि आज विशेष सूचना जारी गरी जनाएको छ । मास्क नलगाउने व्यक्तिलाई सवारीमा प्रवेश निशेष गरिने छ । 

लामो दूरीमा चल्ने सार्वजनिक यातायातका साधनले बीच बाटोमा यात्रु चढाउन पाउने छैन । शुरुको गन्तव्यदेखि हिँडेपछि मानिस नचढाइ अन्तिमसम्म जानुपर्नेछ । त्यस्तै यात्रुको विवरण जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र काठमाडौँलाई उपलब्ध गराउन भनिएको प्रजिअ पराजुलीले जानकारी दिनुभयो । सार्वजनिक यातायातका साधानमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यात्रुमा मास्क अनिवार्य गर्न, सवारी साधनको ढोकामा र भित्र स्यानिटाइजरको व्यवस्था मिलाउन प्रशासनले भनेको छ । 

सूचनामा जिल्लाका महानगर र सबै नगरपालिकामा रहेको शैक्षिक संस्था भर्चुअल तथा वैकल्पिक शिक्षण सिकाइका विधि अपनाई शैक्षिक गतिविधि सञ्चालन गर्न आग्रह गरिएको छ । निर्धारित परीक्षा भने सुरक्षित साथ नियमित गर्न सकिने छ ।

सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी नाचघर, क्लब, जिमखाना, स्वीमिङ पुल, फुट्स सभा, जुलुस, हाटबजार, रङ्गशालामा हुने दर्शकसहितको खेलकूद र मानिसको भिडभाड हुने अन्य प्रकारका सबै कार्यक्रम वैशाख मसान्तसम्म बन्द गरिएको छ । एक पटकमा २५ जनाभन्दा बढी भेला नहुन भनिएको छ भने सपिङ मल डिपार्टमेन्टल स्टोर्सका सञ्चालक तथा व्यवस्थापकलाई जनस्वास्थ्यका मापदण्डको पूर्णपालना गरी व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको छ । 

मेला महोत्सव, जात्रा, पर्व, विवाह, न्वारन, पास्नी, व्रतबन्ध, धार्मिक अनुष्ठान, मलामीलगायत अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्दा २५ जनाभन्दा बढी नहुने गरी र जनस्वास्थ्यका मापदण्डको पूर्णपालना गरी कार्य सञ्चालन गर्न भनिएको छ । विवाह र व्रतबन्धका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा स्थानीय प्रशासनसँग अनुमति लिनुपर्नछ । त्यसका लागि जनस्वास्थ्यको मापदण्ड पालना गर्ने  र २५ जना मात्र सहभागी हुने भनी प्रशासन कार्यालयमा निवेदनसहित उपस्थित भएमा अनुमति प्रदान गरिने छ तर २५ जनाभन्दा कम मानिस सहभागी भई आफ्नै घर कम्पाउण्डमा विवाह र व्रतबन्ध कार्य गर्न भने पाइने छ ।