उकालो लाग्दै कोरोना सङ्क्रमितको सङ्ख्या : एक सातामा ५२ लाखभन्दा बढी सङ्क्रमित

राष्ट्रव्यापी लकडाउनमा बंगलादेश

उकालो लाग्दै कोरोना सङ्क्रमितको सङ्ख्या : एक सातामा ५२ लाखभन्दा बढी  सङ्क्रमित
सांकेतिक तस्वीर

लोकसंवाद संवाददाता  |  विदेश  |  बैशाख ८, २०७८

एजेन्सी । विश्वभर कोरोना संक्रमितहरुको संख्या पछिल्ला दिन ह्वात्तै बढेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सात दिनको अवधिमा संसारभर ५२ लाखभन्दा बढी नयाँ कोरोना संक्रमित भेटिएका छन् । नयाँ कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढिरहेको बेला मृतकहरुको संख्या पनि बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार मंगलबार बिहानसम्म विश्वमा कोरोना संक्रमितहरुको संख्या १४ करोड १८ लाख १३ हजार २  सय ५७ पुगेको छ । जबकि संक्रमणबाट मर्नेहरुको संख्या ३० लाख २७ हजार ३ सय ५३ पुगेको छ ।

अमेरिकामा बढी 

संसारमा सबैभन्दा बढी कोरोना संक्रमणको प्रभाव अमेरिकामा परेको छ । यो देशमा ५ लाख ८० हजारभन्दा बढी व्यक्तिहरुको कोरोना संक्रमणकै कारण मृत्यु भैसकेको छ भने ३ करोड २० लाखभन्दा बढी संक्रमितहरु देखिएका छन् । अमेरिकापछि भारत र ब्राजिल सबैभन्दा बढी प्रभावित मुलुक भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाबाट मृत्यु हुनेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । संगठनका अनुसार अहिलेसम्म विश्वभर संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ३० लाख नाघेको छ । जसमध्ये २५ देखि ५९ वर्ष उमेरका व्यक्ति संक्रमित हुने क्रम तिव्र रुपमा बढेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो खतराको घण्टी हो र अब विश्वभर खोप अभियान तिव्र पार्नु एकमात्र विकल्प हो ।

अमेरिकामा १६ वर्षभन्दा माथिकालाई भ्याक्सिन 

अमेरिकी राष्ट्रपति जो बाइडेनले अब १६ वर्षभन्दा माथिका हरेक अमेरिकी नागरिक कोरोना खोपका लागि योग्य हुने घोषणा गरेका छन् । बाइडेनले सोमबार ट्वीट गर्दै भनेका छन्, ‘आजदेखि १६ वर्षभन्दा बढी उमेरका हरेक अमेरिकी नागरिक खोपका लागि योग्य हुनेछन् । यो निःशुल्क र सुरक्षित छ । यही तरिकाले हामी महामारीको अन्त्य गर्नेछौं ।’ उनले सम्पूर्ण अमेरिकी नागरिकलाई कोरोना खोप लगाउन आह्वान समेत गरेका छन् ।

राष्ट्रव्यापी लकडाउनमा  बंगलादेश

बंगलादेशमा अप्रिल २८ सम्म राष्ट्रव्यापी रुपमा लकडाउन घोषणा गरिएको छ । त्यहाँ पछिल्लो समय ४ हजार ५५९ जना नयाँ संक्रमित भेटिएका छन् भने ९१ जनाको मृत्यु भएको छ । स्वीडेनमा पछिल्लो २४ घण्टामा १६ हजार ६९२ नयाँ संक्रमितहरु फेला परेका छन् भने त्यहाँ संक्रमितहरुको संख्या ९ लाख पार भएको छ । अहिलेसम्म स्वीडेनमा १३ हजारभन्दा बढीको संक्रमणका कारण मृत्यु भैसकेको छ । यता, नेपालमा पनि कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढेको छ । मंगलबार मात्र नेपालमा १७३६ जना कोरोना संक्रमित भेटिएका छन् भने ११ जनाको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म मृत्यु हुनेको कूल संख्या ३१ सय २ जना रहेको छ