चार दिनदेखि हुम्लामा इन्टरनेट सेवा अवरुद्ध,मर्कामा सेवाग्राही

चार दिनदेखि हुम्लामा इन्टरनेट सेवा अवरुद्ध,मर्कामा सेवाग्राही
सांकेतिक तस्वीर

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ८, २०७८

हुम्ला  । हुम्लामा चार दिनदेखि नेपाल टेलिकमको इन्टनरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । गएको शनिबार बेलुकादेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा जिल्ला सदरमुकाम सिमकोटसहित आसपासका सेवाग्राही मर्कामा परेका हुन् । 

इन्टरनेट सेवाले काम नगर्दा सिमकोटमा सञ्चालित एक दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थालाई बढी समस्या बनाउनुका साथै कारोबारसमेत ठप्प भएको छ । एडिएसएल सेवाको इन्टरनेटले काम नगर्दा सिमकोटमा सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालयसहित जिल्लामा रहेका दुईवटा रेडियो एफएमलाई समेत समस्या बनाएको रेडियो कर्णाली आवाजका स्टेशन मेनेजर नवराज महताराले बताउनुभयो । यस्तै इन्टरनेट सेवाले काम नगर्दा सञ्चारकर्मीलाई समाचार सम्प्रेषणमा समस्या बनाएको छ ।

कालीकोट जिल्लाको महाबुलेखमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा खराबी आउँदा इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम कार्यालय सिमकोटले जानकारी दिएको छ । उक्त क्षेत्रमा रहेको रिपिटर टावर मर्मत गर्ने कार्य जारी रहे पनि समस्या समाधान हुन नसकेको बताइएको छ । नमस्ते नेटवर्कको मोबाइल डाटाले काम गरे पनि एडिएसएल सेवाको इन्टरनेटले काम गरेको छैन ।