चेन्नई पुनः शीर्षमा

चेन्नई पुनः शीर्षमा
सट प्रहार गर्दै चेन्नई सुपर किंग्सका सेन वाट्सन (पहेलो ड्रेसमा) । तस्बिर : क्रिकइन्फो डट कम ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख ११, २०७६

काठमाडौं । चेन्नई सुपर किंग्स इण्डियन प्रिमियर लिग (आइपिएल)को अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ । 

मंगलबार राति सम्पन्न खेलमा सनराइजर्स हैदरावादलाई पराजित गरेसँगै चेन्नई एक स्थान सुधार गर्दै शीर्षमा उक्लिएको हो । चेन्नईको ११ खेलबाट १६ अंक छ । 

यसअघि शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल एक स्थान तल झरेको छ । समान खेल खेलेको दिल्लीको १४ अंक छ । 

यसरी सम्भव भयो चेन्नईको आठौं जित

टस हारेर ब्याटिङ गर्न आएको हैदरावादले निर्धारित ओभरमा ३ विकेट गुमाएर १७५ रन जोड्यो । टिमका लागि मनिष पाण्डेले अभिजित ८३ रन जोडे । उनले ४९ बलमा ७ चौका र ३ छक्का प्रहार गरे । यस्तै, प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नरले ४५ बलमा ५७ रनको योगदान दिए । 

चेन्नईका हरभजन सिंहले दुई र दीपक चहरले एक विकेट लिए । 

चेन्नईले १९.५ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्यो । चेन्नईका सेन वाट्सनले ५३ बलमा ९६ रनको आक्रामक पारी खेलेपछि चेन्नईले चालू आइपिएलमा आठौं जित दर्ता गर्यो ।चेन्नईको जितमा सुरेश रैनाले पनि महत्वपूर्ण पारी खेले । उनले २४ रनमा ३८ रन जोडे । 

हैदरावादका लागि भुवनेश्वर कुमार, रासिद खान र सन्दीप शर्माले समान एक विकेट लिए ।