मोदीले लगाउँछन् ममताले दिएको कुर्ता

मोदीले लगाउँछन् ममताले दिएको कुर्ता

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ११, २०७६

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले लुगा पठाउने गरेको बताएका छन् । 

बलिउड अभिनेता अक्षय कुमारसँगको गैरराजनीतिक कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले यो रहस्योद्घाटन गरेका हुन् । उनले भने, ‘मलाई ममता दिदीले वर्षमा दुई–तीन पटक कुर्ता गिफ्ट गर्नुहुन्छ ।’ 

प्रधानमन्त्री भएयता पहिलो गैरराजनीतिक अन्तर्वार्ता दिँदै मोदीले आफ्ना जीवनका अनेकौं स-साना कुरा अन्तरवार्ताकार अक्षय कुमारसँग गरेका छन् । 
मोदीले आफू जम्मा साढे तीन घण्टा सुत्ने गरेको बताएका छन् । उनले अन्तरवार्ताका क्रममा भनेका छन्, ‘मलाई काम गर्ने नशा छ ।’ 

आफूलाई पाकेको आँप अति मन पर्ने बताउँदै बाल्यकाल सम्झदै उनले भने, ‘मेरो पारिवारिक स्थिति आँप किन्न सक्ने थिएन । म आँप खान अरुको बगैंचामा पुग्ने गर्थें ।’

खाने कुराकै क्रममा आफुलाई बंगाली मिठाई अति मनपर्ने बताउँदै उनले रहस्य खोले– जब मैले भेटघाटका क्रममा बंगलादेशका प्रधानमन्त्री शेख हसिनाजीलाई आफ्नो यो रुचिबारे भनें, त्यसपछि उहाँले वर्षमा तीन–चार पटक मलाई बगांली मिठाई पठाउनु थाल्नुभयो । यो कुरा थाहा पाएपछि अहिले ममता दिदीले पनि मलाई बंगाली मिठाई पठाइराख्नु हुन्छ ।