‘सहरमा मेरा साथी र आफन्त धेरै छन् तर पतिको चिताअघि म एक्लै उभिएँ’

कोरोनाको कहर: आफन्तको शब लगेको भिडियो खिच्छन्, घाटमा आउँदैनन्

‘सहरमा मेरा साथी र आफन्त धेरै छन् तर पतिको चिताअघि म एक्लै उभिएँ’

लोकसंवाद संवाददाता  |  समाज  |  बैशाख १०, २०७८

घटना–१
लखनउका ३१ वर्षीय सुमित कुमार फोटोग्राफर हुन् । ८ वर्ष लामो आफ्नो करियरमा उनले अहिलेजस्तो दर्दनाक दृश्य कहिल्यै पनि देखेका थिएनन् । ५–६ दिनदेखि उनी लगातार लखनउका शव गृह र घाटमा गइरहेका छन् । परिवारसँग बस्ने भए पनि उनले आफूलाई घरको एक कोठामा कैद गर्ने गरेका छन् । 

घरपरिवारका सदस्यसँग भेटघाट हुँदैन। सुमित घरबाट निस्कँदा कार्यालय जान लागेको भनेर ढाँटेर निस्किन्छन्। सहरको सत्यता हेर्न हरेक दिन उनले झुठको सहारा लिनुपर्छ । घरका सदस्यहरूलाई हरेक दिन श्यमशानघाट र अस्पतालमा आफू दैनिक चक्कर लगाइरहेको कुरा भन्दैनन् । 

भैंसा कुण्डमा काम गर्ने लखनउका मुन्ना अगरले लगातार १० दिन घरै नगई सयौँ शवहरूको दाह संस्कार गरिसके । उनले अब शवको गणना समेत गर्न भुलिसकेका छन्। उनलाई कति चिता बिछ्याइयो भन्ने पनि अब याद छैन। दिनदिनै भेट हुने सुमित र मुन्ना अब साथी भइसकेका छन् । १४ अप्रिलमा ७० वर्षीय सुशील कुमार श्रीवास्तवले लालकटेरा इलाकामा एक अक्सिजन गोदामको बाहिर आफ्नो गाडीमा बसेर गहिरो श्वास लिइरहेका बेला खिचेको तस्बिर भाइरल बनिसकेको  छ । 

भारतमा कोरोना संक्रमित हुने संख्या यतिबेला दैनिक सवा ३ लाखभन्दा बढी र मृत्यु हुनेको संख्या दैनिक २ हजार भन्दा माथि पुगिसकेको छ । पछिल्ला दिनमा भारतमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्याले नयाँ रेकर्ड बनाइरहेको छ । महाराष्ट्रको एक अस्पतालमा बुधबारमात्रै ग्याँस लिक भएर भेन्टिलेटरमा रहेका बिरामीलाई आपूर्ति बन्द हुँदा २२ जनाको मृत्यु भयो ।

सुशील कुमारका छोराले उनलाई गाडीमा राखेर अस्पताल भर्ना गर्न लिएर जाँदै गर्दा बाटोमा अक्सिजनका थोक व्यापारीकोमा रोकाएर अक्सिजन चढाएका थिए। उनले त्यसको दुई दिनमा मात्रै अस्पतालमा बेड पाउन सफल भए। तर रक्तचाप र मधुमेहका बिरामी सुशील कुमारको अस्पतालमा भर्ना भए पनि १६ अप्रिलमा मृत्यु भयो ।

सुमित उनको निधनमा दुःखी छन्। उनी भन्छन्, ‘हामीले कसैलाई सहयोग गर्न पाइरहेका छैनौँ । हामी उभिएर तमासा हेर्ने दर्शक बनेका छौँ । यो कुरा घरमा पनि सुनाउन सक्ने अवस्था छैन । किनकि घरमा पनि ढाँटेर मात्रै निस्किने हो । मसँग यस्ता कुरा मनभित्रै राख्नुको विकल्प छैन। यहाँ हामी लाचार छौँ ।’ कोरोना सङ्क्रमणबाट मृत्यु भएकाले घाटमा जल्नका लागि पालो पर्खिनुपर्ने बाध्यता आइपरेको छ । 

घटना–२ 

३८ वर्षकी अपराजिता मेहराका पति सात दिनसम्म कोरोनासँग संघर्ष गरेपछि बिदा भए । अपराजिताको परिवारका सबै पुरुष सदस्य कोरोना संक्रमित थिए र घरमा उनी, सासु र उनका ९ वर्षका छोरा बेसहारा महसुस गरिरहेका थिए । 

यस्तो अवस्थामा अपराजिताले लखनउमा निःशुल्क शव बाहन सेवा ‘एक कोशिस यस्तो पनि’ सुरु गर्ने वर्षा बर्मालाई फोन गरेर सहयोग मागिन् । बर्षा र उनको टिम तत्काल आयो र अपराजिताका पतिको शब घाट लग्यो । अपराजिता एक्लै आफ्ना पतिको दाह संस्कार गर्न पुगिन। तर वर्षाले उनलाई एक्लो महसुस हुन दिइनन् । अपराजिता अझै पनि शोकबाट मुक्त भएकी छैनन् । उनले भनिन्, ‘वर्षाले मलाई सहयोग गरिन् । उनले मलाई एक्लो महसुस हुन दिइनन् । सहरमा मेरा साथी, नातेदार छन् तर त्यसबेला म एक्लै मेरा पतिको चिताअघि उभिएकी थिएँ । जीवनको यो क्षण म कहिल्यै पनि भुल्न सक्दिनँ।’

६ दिनअघि वर्षा बर्माले लखनउमा आफ्नो निकट साथी मेहा श्रीवास्तवलाई गुमाइन् । कोरोना संक्रमणपछि श्वासप्रश्वासमा समस्या भएर ३८ वर्षीया मेहाको मृत्यु भयो । मेहालाई उनी वर्षा आफैंले दागबत्ती दिइन् र कोरोनाबाट मृत्यु भएका र प्रियजन गुमाएकालाई सहयोग गर्ने कसम खाइन् । वर्षा लखनउमा आफ्नी १४ वर्षकी छोरी र पतिसँग बस्दै आएकी छन् । उनका पति पीडब्लुयुडीमा इन्जिनीयर छन् । 

घटना–३ 

दिल्लीको एक सरकारी अस्पतालमा काम गर्ने डाक्टरले आफ्नै आमालाई भर्ना गर्नका लागि ४ घन्टासम्म भौतारिदा समेत बेड उपलब्ध भएन। अन्त्यमा उनले एक निजी अस्पतालमा भर्ना गरे । 

उनले भने, ‘म दिल्लीको ठूलो सरकारी अस्पतालमा काम गर्छु । ११ अप्रिलमा आमा कोरोना संक्रमित हुनुभयो । उहाँको अक्सिजन लेभल लगातार कम भइरहेको थियो । आफ्नै अस्पतालमा भर्ना गर्नका लागि १२ः३० देखि ४ बजेसम्म दौडधुप गरेँ । पागलजस्तै भएर बेड खोजे, तर बेड पाइएन । एक जना साथीले निजी अस्पतालमा भर्ना गर्न सल्लाह दिए र मैले निजी अस्पतालमा भर्ना गरेँ।’ 

कोही आउँदैनन् अन्त्येष्टिमा 

कोभिडको नयाँ भाइरसको खतरनाक हमला र संक्रमण फैलिने डरका कारण संक्रमित व्यक्तिका परिवार पनि दुरी कायम गर्न बाध्य बनेका छन्। अन्तिम संस्कारमा पनि परिवारका सदस्य जाँदैनन् । वर्षा भन्छिन्, ‘के भन्ने र हामीले त्यो परिवारमा पनि शब उठायौं, जहाँ पुरै परिवार बाहिर उभिएर हाम्रो भिडियो बनाउँथे तर पीपीईमा राखिइएको शबमा हात लगाउँदैन थिए।’ 

मेहाको निधनपछि २ वर्षदेखि अन्तिम संस्कारको काम गर्दै आएकी वर्षाले आफ्नो फोन नम्बर सार्वजनिक गरिन्।  मंगलबार एकै दिन उनलाई ९ वटा शव लिन फोन आयो । बुधबार उनले ८ जनालाई अन्तिम संस्कारका लागि घाट पुर्‍याइन्। वर्षालाई काम गर्न आर्थिक सहयोग प्राप्त भइरहेको छ । तर उनलाई काम गर्नका लागि जनशक्तिको आवश्यकता छ। उनी भन्छिन्, ‘कोही आएर हाम्रो टिममा काम गर्न चाँहदैनन्। कोरोनाका कारण काम धेरै बढेको छ।’ 

भारतमा कोरोना संक्रमित हुने संख्या यतिबेला दैनिक सवा ३ लाखभन्दा बढी र मृत्यु हुनेको संख्या दैनिक २ हजार भन्दा माथि पुगिसकेको छ । पछिल्ला दिनमा भारतमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्याले नयाँ रेकर्ड बनाइरहेको छ । महाराष्ट्रको एक अस्पतालमा बुधबारमात्रै ग्याँस लिक भएर भेन्टिलेटरमा रहेका बिरामीलाई आपूर्ति बन्द हुँदा २२ जनाको मृत्यु भयो ।

गृहमन्त्रालयले अक्सिजन लिएर गएका सवारीलाई निर्बाद रुपमा चल्न दिन निर्देशन दिएको छ । कोरोनाको बढ्दो संक्रमणबीच भारतमा अक्सिजनको हाहाकार मच्चिएको छ । कोरोनाको बढ्दो संक्रमणबीच प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार तय भएको पश्चिम बंगालको भ्रमण रद्द गरेर कोभिड–१९ को संकटका विषयमा बैठकको आयोजना गरेका छन् ।

कोरोनासँगको संघर्षमा भारतले यतिबेला ठूलो शक्ति लगाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो एक सातामा मात्रै विश्वमा ५२ लाखभन्दा बढी संक्रमित भएका छन्। महामारी सुरु भएपछि एक सातामा यति धेरै संख्यामा संक्रमित भएको यो पहिलो घटना हो । यसरी संक्रमित हुनेमध्ये सबैभन्दा ठूलो संख्या भारतमा नै छ। कोरोनाको दोस्रो भेरियन्टसँगै बढ्दो संक्रमणले भारतको स्वास्थ्य प्रणालीलाई नै असफल साबित गरिदिएको छ ।