एउटा जिउँदो मृत्यु

एउटा जिउँदो मृत्यु

दीपा राई  |  साहित्य  |  बैशाख ११, २०७८

प्रिय
जुन दिन तिमीले माटोको खातिर
हस्ताक्षर गर्‍यौ मृत्युको पानामा
अहो त्यही दिनदेखि विचलित छ
यो मन । 

खासमा हामी दुवैले गरेको
त्यो साझा हस्ताक्षर थियो
तिमी माटोको निम्ती  जिँउदो रगत दिइरहेछौ
ढल्दैछ तिम्रो शरीर
तिम्रो नसामा बिस्तारै रगत निख्रन लागेको छ
मलाई यता सास फेर्न गाह्रो हुँदैछ । 

भन न प्रिये, गर्वले छात्ती ढक्क फुलाउन
कसरी सकुँ म ?
साह्रै कष्टकर छ यो बेला
भन्थ्यौ- हामी दई शरीर, एक आत्मा हौँ
तिमीले सहेको कष्टको हजार गुणा कष्टमा छु म
तिमी इतिहासमा थप्न गइरहेछौ
एउटा नयाँ सुनको अध्याय ।

यसैले ‍प्रिय
मेरो हजार पीड़ालाई पर पन्साएर 
तिम्रो जिउँदो बलिदानको कथाको
एक एक अक्षर म सासको धारले  खिप्तैछु
गोर्खाल्याण्डको छात्तीमा । 

यो कान पनि साह्रै बज्न थालेको छ हिजोआज
इ... कता कता नौमती बाजाको मधुरो मधुरो आवाज सुन्छु 
आवाजको लय लयमा टेकी आएको
त्यो झरिलो भरिलो तिम्रो अनुहार देख्छु ।

यस्तै छन् आजकल मेरा दिनहरू
सुटुक्कै भाग्छ मन अतीतको त्यो घुम्तिमा
जहाँ हामीले बिताएका मीठा मीठा पलहरू
मलाई जिस्काइबस्छन् । 

प्रिय, यो समय छ अहिले
तिमी माटोको लागि युद्धरत छौ
म तिम्रो लागि हामी दवुैको लक्ष्यको खाँबो एउटै
तरै पनि मन नै हो आखिर
कमजोर बनिदिन्छ
तिम्रो जीर्ण शरीर भित्र मेरो मुटु कुनबेलासम्म ढुकढुकिने हो
साह्रै त्रासमा छु
मेरो सास यस बेला झिरमा उनिएको छ ।

जति जति तिम्रो खुन सुक्दैछ
उति उति सुक्छ मेरो सास
भन न प्रिय
तिमी बिनाको संसार कसरी बाँचुम ।

इ...
हिजोसम्म फुर्सद थिएन
पछि छोड़ेर आएको संसार हेर्ने
अहीले म चेत-अचेत दवुै अवस्थामा त्यही संसारमा छु
जहाँ हामी थियौँ । 

कति लामो खुट्टा समयको फड्को मार्दै मार्दै
ती देउराली धुप्पीघारी मेलापात घुम्दा घुम्दै
भुक्कुल्ले छोराछोरी माया गाँस्न आएको
हिजै जस्ताे लाग्छ । 

उफ्...
अँह अब हुन्न  म स्वार्थी
यो एउटै जुनी थियो
जुन माटोमा उभिएर हामीले
सँगै जिउने, सँगै मर्ने वाचा गरेका हौँ
समर्पण गर्छु प्रिय यही माटोको लागि
मेरो सम्पूर्ण म-लाई
मिस यु प्रिय...

(माटोको खातिर ज्यान दाउमा हाल्ने भूमिपुत्रहरूका पत्नीहरूलाई समर्पित)
 

गान्तोक, सिक्कम