महेश पौड्याल: 'डिस्ट्रिक्ट टपर', 'गोल्ड मेडलिष्ट' हुँदै प्राध्यापनमा समेत एक नम्बरमा

महेश पौड्याल: 'डिस्ट्रिक्ट टपर', 'गोल्ड मेडलिष्ट' हुँदै  प्राध्यापनमा समेत एक नम्बरमा

आशिष पौडेल  |  अन्तर्मन्थन  |  बैशाख ११, २०७८

आज हामीले युवाकवि, समालोचक, अनुवादक प्रखर प्राज्ञिक व्यक्तित्व महेश पौड्यालको जीवन, संघर्ष र व्यक्तित्व खोतल्ने कोसिस गरेका छौँ ।

परिवारिक अवस्था

पूर्वी पहाडको सुन्दर जिल्ला इलाम । पूर्वकी प्रकृतिकी रानी भने पनि हुने । त्यहीँको सामान्य कृषक परिवार तर शैक्षिक-सामाजिक हिसाबले राम्रैमा गनिने । ऊबेला, स्वाभाविक थियो पेटपालनका लागि कृषिकर्म । बुबा अनि हजुरबुबा प्रारम्भिक अवस्थामा भने कृषि पेसामा नै हुनुहुन्थ्यो । पछि उहाँको बुबा बसाइँ सराइ गरेर भारतको मणिपुर जानुभयो र उतैबाट एसएलसी गरेपछि शिक्षण पेसामा संलग्न हुनुभयो । बीए/बिटीसम्मको अध्ययन गर्नुभयो बुबाले । उहाँ अर्थात् आजको नेपाली साहित्यका कविता, आख्यान, गीतमा विशेष सक्रिय, सैद्धान्तिक समालोचना र अनुवादमा प्रखर प्राध्यापनमा संलग्न व्यक्तित्व महेश पौड्याल । 

जन्म र बाल्यकाल

उहाँको जन्म २०३८ सालमा इलामको सुलुबुङमा भएको हो । उहाँका तीन दाजुभाई अनि तीन दिदी बहिनी ।  गौपालन तथा सामान्य खेतीपातीमा बितेको हो उहाँको बाल्यकाल । तर, शारीरिक श्रममा अलिक कमजोर भएका कारण उहाँलाई 'यसले खेतीको काम गर्न सक्दैन' भनेर लगाउँदैन थिए परिवारका सदस्यले ।

गोठालो जान भने रुचि नै लाग्थ्यो उहाँलाई । संभवत: रमाइलो हुन्थ्यो साथीभाइसँग र अर्को कुरा पढ्न पाइन्थ्यो । गोठालो जाँदा पनि उहाँ कपी-किताब भने बोकेर जाने गर्नुहुन्थ्यो । यो उहाँको पढाइप्रतिको रुझान बुबाका कारण पनि भएको ठान्नुहुन्छ ।

उहाँलाई बुबाले कपी-किताब किनेर ल्याइदिने, केही लेखेको सुनेर स्याबासी दिने, केही पैसा भए पनि हौसलाका लागि दिने गर्नुहुन्थ्यो । परिश्रम गर्ने काम कम गर्ने भएकाले सानैदेखि पढाइ-लेखाइमा रुचि रह्यो उहाँको । साहित्य, पढाइ-लेखाइ यस्तै गरी बित्यो उहाँको बाल्यकाल । 

प्रारम्भिक शिक्षा

उहाँको प्रारम्भिक शिक्षा मणिपुरको पानीखेती जुनियर हाइस्कुलमा भएको हो । कक्षा तीनसम्म भयो यस स्कुलमा उहाँको अध्ययन । त्यसपछि उहाँ अंग्रेजी माध्यमको स्कुलमा जानुभयो पढ्नका लागि । यहाँ उहाँको सात कक्षासम्म बित्यो । कक्षामा करिब चालीस-पचास जनाजति हुन्थे ।

त्यसबेला छोरीलाई पढाउनुपर्छ भन्ने धारणा विकसित भइसकेको थियो समाजमा । उहाँको कक्षामा पनि छात्राहरूको सहभागिता राम्रो थियो, झण्डै छात्रक‌ै हाराहारी । डेस्क-बेञ्च राम्रा थिए । फिस भने चालीस-पचास रुपैयाँ तिरिएको बताउनुहुन्छ उहाँ ।

उक्त स्कुलमा जातको मिश्रण भने एकदमै धेरै थियो । नेपाली, हिन्दी, कुकी, मणिपुरी अनि नागा भाषा बोल्ने विद्यार्थीहरू थिए । सात कक्षापछि दश कक्षासम्म उहाँले मणिपुरको राजधानी इम्फाल शहरको फ्रोबेल स्कुल पढ्नुभयो । त्यसपछि बाह्र कक्षासम्म भने उहाँ चुराचान्द हाइयर सेकेण्डरी स्कुल पढ्नुभयो, जो राजधानीको पनि प्रमुख शहरमा छ, जहाँ मणिपुरको संसदसमेत रहेको छ । 

कृष्ण धरावासीको मदन पुरस्कार प्राप्त कृति 'राधा'को उहाँले अंग्रेजी अनुवाद गर्नुभएको छ, जो अमेरिकाबाट प्रकाशन भएको हो । अन्य धेरै नेपाली कृतिको अंग्रेजीमा अनुवाद गरेर विश्वसाहित्यमा नेपाली साहित्यलाई चिनाउने उहाँको धोको जीवित छ । भन्नुहुन्छ, 'समय, सन्दर्भ र परिवेशले केही अवरोध गरिरहेको छ, तर लक्ष्य जीवित छ ।'

उक्त कलेज मणिपुरकै उत्कृष्टमध्येको एक हो । त्यहाँ दुई, तीन जना मात्र नेपाली थिए । त्यहाँ नेपाली विद्यार्थीहरू पनि उत्कृष्ट नै हुने गर्थे । उहाँ भने 'डिस्ट्रिक्ट टपर' भएका कारण विशेष सहुलियतमा नि:शुल्क पढ्नुभएको हो । 

उहाँले विज्ञान विषय लिएर पढ्नुभएको हो तर यसै बिचमा साहित्य कर्म तथा मुम्बई तरुण भारत पत्रिकाका लागि मणिपुरबाट रिर्पोटिङ गर्नुहुन्थ्यो ।

ब्याचलर पढ्नका लागि उहाँ मणिपुर युनिभर्सिटीको धनमञ्जरी कलेजमा जानुभयो । उहाँ त्यहाँ अंग्रेजी साहित्य पढ्नका लागि भर्ना हुनुभयो । तीन वर्ष पढ्नुभयो । यही तीन वर्षमा अखिल मणिपुर गोर्खा विद्यार्थी संगठन भन्ने नेपाली भाषीको संगठनमा रहेर काम गर्न थाल्नुभयो । र, निर्वाचन लडेर निर्वाचित महासचिवसमेत हुुनुभयो ।

उहाँभन्दा अघिको विद्यार्थी संगठनको प्रयासले मणिपुरमा स्कुलको पाठ्यक्रममा नेपाली भाषा पनि समावेश छ । एसएलसीमा ५० नम्बरको नेपाली ऐच्छिक विषय पनि छ । उहाँले सन् २००२ मा मणिपुर युनिभर्सिटीमा फर्स्ट क्लास फर्स्ट भएर गोल्ड मेडलसमेत प्राप्त गर्नुभएको छ । 

काठमाडौंको यात्रा

सिलगुढीसम्म रेलमा आएपछि गाडीबाट उहाँ काठमाडौं आउनुभयो । यो यात्रा भने बडो अविस्मरणीय रह्यो उहाँको । पढ्न काठमाडौं हिँडेको केटोलाई झिटीगुण्टासहित झण्डै चालीस ठाउँमा हिँडायो सुरक्षाकर्मीले । यो भनेको २०६० सालतिरको कुरा हो । उक्त समय माओवादी द्वन्द्वको उत्कर्ष रहेको बेला थियो ।

उक्त समयमा मोबाइलको प्रचलन थिएन । मुग्लिनमा पचास रुपैयाँको उहाँलाई महँगो लागेको भात खाँदै काकालाई फोन गर्नुभयो ल्याण्डलाइनमा-'पहिलो पटक काठमाडौं आउन लागेको, केही थाहा छैन । बसपार्कमा आउनुस्' भनेर । काका छ बजे नै बसपार्क आइपुग्नुभयो तर उहाँ भने एक बजे । 

उहाँ बीए अर्थात् स्नातक गरेर आउनुभएको । स्नातकोत्तर (मास्टर्स)को भर्ना खुलेको थिएन । दशैँ मनाइसकेपछि 'अब केही त गर्नुपर्‍यो' भनेपछि जागिर खाने सुर चल्यो । जागिर त खाने तर केमा ?

उहाँको अंग्रेजी राम्रो भएको अनि त्यसबेला काठमाडौंमा पनि अंग्रेजीको शिक्षकको राम्रो 'डिमाण्ड' भएको हुँदा उहाँको विचार पनि पढाउनेतिर गयो । उहाँका आँखा परे पत्रिकाको विज्ञापनमा । विज्ञापन रहेछ न्यू डन बस्को स्कुलका लागि अंग्रेजी शिक्षकको । उहाँले गएर जाँच दिनुभयो । क्लास पनि लिनुभयो तर नियुक्ति भने पाउनुभएन ।

यतिकैमा चार दिनपछि एउटा फोन आयो- 'तपाईं महेश होइन ?' अनि अफर आयो जागिरको- 'हाम्रो अर्को स्कुल छ भक्तपुरमा, काम गर्नुहुन्छ ?' त्यो स्कुल रहेछ भक्तपुर बालकोटको स्ट्यान्डफोर्ड । संयोगले त्यसका प्रिन्सिपल सुवास न्यौपाने डन बस्को स्कुल गएका बेला एक जना अंग्रेजी शिक्षक चाहियो भन्ने कुरो चलेपछि उहाँको नाम सिफारिस भएको रहेछ ।

यो २०६० सालको कुरा हो । उहाँ उक्त स्कुलमै रहेर अंग्रेजी विषयमा एमए भर्ना हुनुभयो । 'गोल्ड मेडलिस्ट' पनि बन्नुभयो । संयोगले जुरेको त्यो साइनो आजसम्म पनि कायम रहेको बताउनुहुन्छ उहाँ । उहाँले करिब दश वर्ष उक्त स्कुलमा काम गर्नुभयो । 

उहाँ बच्चालाई एकदमै माया गर्ने मान्छे । बच्चासँग काम गर्दैगर्दा बाल साहित्यतिर प्रवेश गर्नुभयो । बाल गीत, बाल उपन्यास, बाल कविता अनि स्कुलका किताबको सिरिज नै पनि लेख्नुभयो ।

अनि प्राध्यापनमा

एमएमा गोल्ड मेडलिष्ट बनेपछि उहाँलाई त्रिभुवन विश्वविद्यालयले पढाउन बोलायो । अस्थायी शिक्षकका रूपमा उहाँले दश वर्ष पढाउनुभयो त्रिविमा । यसको कारण रहेछ- त्यसबीचमा आयोगको परीक्षा नै भएन । 

एक पटक २०६७ सालमा आयोग खुलेको थियो तर उहाँको बुबाको दुर्घटनामा उपचारका लागि उहाँ भारतमा भएकाले परीक्षा नै दिन पाउनुभएन । २०७२ सालमा आयोग खुल्यो तर परीक्षा भने २०७४ सालमा मात्र भयो । त्यहाँ पनि उहाँले एक नम्बरमा नै नाम निकाल्नुभयो । हाल स्थायी रूपमा त्रिविमा पढाउँदै हुनुहुन्छ महेश ।

उहाँको बाल साहित्यप्रतिको रुझान भने मणिपुरमा पढ्दैदेखिको हो । त्यसबेला उहाँ रवीन्द्रनाथ टैगोरका कथाहरू पढ्नुहुन्थ्यो । गौरी, मुनामदन, भिक्षुका कथा, कर्णेलको घोडा आदि त्यसबेला नै उहाँले पढ्नुभएको हो । 

मणिपुरमा हुँदा पनि उहाँका केही प्रकाशनहरू थिए । काठमाडौं आउँदा उहाँले ती पोको पारेर ल्याउनु पनि भएको थियो । तर, यता आएपछि उहाँ स्कुलमा नै हराउनुभयो । उहाँभित्र साहित्य छ भनेर कसैलाई थाहै भएन पनि ।

एक दिन सुवास न्यौपानेलाई उहाँले उताबाट ल्याएको कथा देखाउनुभयो । त्यसलाई लगेर सरले नोटिस बोर्डमा टाँसिदिनुभयो । त्यसपछि उहाँले राइटर्स क्लब बनाउने, स्पिकर क्लब बनाउने, बोर्ड पत्रिका छाप्ने, सम्पादन गर्ने गरेपछि साहित्यतिर बढी लहसिनुभयो ।

एक दिन स्कुलमा कार्तिकेय घिमिरे बाल पत्रिका चलाउने कुरो लिएर आउनुभयो । चौध जना निजी स्कुलका प्रिन्सिपलको एउटा क्लब बन्यो । पत्रिका अंग्रेजीमा निस्कने भयो । अब त्यसका लागि फेरि सम्पादनदेखि संयोजनसम्मको जिम्माका लागि उहाँको प्रिन्सिपलले उहाँको नाम सुझाउनुभयो । 

त्यसबेला रमेश विकल, माधव घिमिरेलगायतका कविता अनुवाद गर्दा भाषा साहित्यको पाटो, शुद्धाशुद्धि अनि सम्पादनको पाटोका बारेमा उहाँलाई दीक्षित गर्ने काम त्यसले गर्‍यो । यस अर्थमा पनि उहाँ कार्तिकेय घिमिरेलाई धन्यवादको पात्र ठान्नुहुन्छ ।

उहाँले यसबीचमा राजधानी दैनिकमा धेरै लेखहरू लेख्नुभयो । नागरिक दैनिकमा पनि धेरै नै लेख्नुभयो । पछि नयाँ पत्रिकमा त जागिर नै खानुभयो । उहाँले काठमाण्डु पोस्टमा पनि आठ वर्ष लेख्नुभयो ।

साहित्यिक कृति

उहाँको पहिलो प्रकाशित कृति नै बाल उपन्यास हो । उहाँका पाँचवटा अंग्रेजी उपन्यास एकै पटक विद्यार्थी पब्लिकेसनले छाप्यो । त्यसबाट केही पैसा आयो । ती किताबहरू सबै उहाँले रातीराती लेखेर पूरा गर्नुभएको हो ।

बालकथा, नाटक आदि पनि लेख्नुभयो उहाँले । 'आमा नहुँदा एक साँझ' भन्ने नाटककृति नै प्रकाशित छ उहाँको । त्यसमा पाँचवटा नाटक छन् । ती सबै नाटक मञ्चन पनि भए । शैली थिएटरसँग आवद्ध रहेर अभिनयदेखि निर्देशनसम्म गर्न भ्याउनुभयो महेशले ।

'तादी किनारको गीत' उपन्यास पनि लेख्नुभएको छ उहाँले । पुस्तक प्रदर्शनीमा विमोचन भएको उक्त किताब 'बेस्ट सेलर'समेत भयो । 'त्यसपछि फुलेन गोदावरी' भन्ने उहाँको कथासंग्रह प्रकाशन भएको छ, जसको तेस्रो संग्रह बजारमा उपलब्ध छ । उक्त कृतिले विमल स्मृति पुरस्कार प्राप्त गरेको छ ।

'शून्य प्रहरको साक्षी' भन्ने उहाँको कविता कृति पनि प्रकाशित छ ।  जसमा तीन लाइन, चार लाइनका कविता छन् ।

महेश नेपाली साहित्य र समालोचनामा त सक्रिय र स्थापित हुनुहुन्छ नै, उहाँको अर्को विशेष कर्म अनुवाद पनि हो । नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न स्तरीय अनुवाद आवश्यक रहेको बताउने पौड्याल उतकृष्ट नेपाली कृतिको अनुवाद पनि गर्दै आउनुभएको छ ।

कृष्ण धरावासीको मदन पुरस्कार प्राप्त कृति 'राधा'को उहाँले अंग्रेजी अनुवाद गर्नुभएको छ, जो अमेरिकाबाट प्रकाशन भएको हो । अन्य धेरै नेपाली कृतिको अंग्रेजीमा अनुवाद गरेर विश्वसाहित्यमा नेपाली साहित्यलाई चिनाउने उहाँको धोको जीवित छ । भन्नुहुन्छ, 'समय, सन्दर्भ र परिवेशले केही अवरोध गरिरहेको छ, तर लक्ष्य जीवित छ ।'