भूकम्पले जुराएको सिक्किम यात्रा र वन झाँक्रीको पहिलो पल्ट दर्शन !

भूकम्पले जुराएको सिक्किम यात्रा र  वन झाँक्रीको पहिलो पल्ट दर्शन !

जीवन मुकारुङ  |  साहित्य  |  बैशाख १२, २०७८

युरिक एसिडले थलाएको छ । ड्युटी जानु नसकेर घरमै छु । औषधिले केही सन्चो महसुस भइरहेको छ । संसार मौसम परिवर्तनको मारमा परिरहँदा सिंगापुर पनि अछुतो रहने कुरै भएन । गर्मी अधिक बढेको छ । नेपालमा विनासकारी भूकम्प गएको एक वर्ष नाँघ्यो । पराकम्पन भने अझै रोकिएको छैन । भर्खरैपनि दोलखालाई केन्द्रबिन्दु बनाएर ४.९ रेक्टरको पराकम्पन गएको अनलाइन खबरहरु र फेसबुकको भित्तो भरिएको छ ।

... ... ...

मोरङको बयरवन गाविस । खाना खाएर आराम गरिरहेको थिएँ । छ महिनाको छुट्टी चार महिना बितेर दुई महिना बाँकी थियो । पूर्व बसाइ निकै लामो भयो । काठमाडौँ जाने तरखरमा केही कुरा सोच्दै ओछ्यानमा ढल्किरहेको थिएँ । अचानक पुरै घर हल्लियो । भूकम्प आयो भन्ने थाह भयो । म भित्रै बसिरहेँ, बाहिर निस्किइनँ । मधेसको घर भूकम्पले केही हुँदैन । यस्तै सोचेँ, म ढुक्कले बसेँ । निकैबेर हल्लाइरह्यो । घरका सबै आत्तिएर बाहिर आँगनमा कराउँदै निस्किए । मचाहिँ भूकम्प रोकिएपछि मात्र निस्किएँ । सबै अत्तालिएका थिए । मैले सोचेँ, खासै ठूलो गएन, किनकि योभन्दा अगाडिको २०४५ साल र २०६८ सालको भूकम्प राम्ररी अनुभव गरेको छु । म भन्छु– ‘सानो हो ।’ अरु भन्छन्– ‘ठुलो हो ।’

वनझाँक्री बारे यस्तै यस्तै सुनेर हुर्किएको म । यहाँ उसैको मूर्ति पहिलो पल्ट हेर्न पाएँ । खुट्टाका पाइतला हेरेँ, उल्टो नै थियो । लाग्यो– बाजेले सुनाउनु भएको कथा सत्य थिएछ र नै यो मूर्तिको स्थापना गरियो ।

माइला भाइ गायक अशोक मुकारुङलाई काठमाडौँमा फोन गरेँ । ऊ भर्खर सिंगापुरबाट पेन्सनमा आएको थियो । फोन नै लागेन । अरु साथीहरुलाई फोन गरेँ, कतै पनि कसैसित सम्पर्क भएन । म बाइक स्टार्ट गरेर लेटाङतिर हुइकिएँ । कानेपोखरी निस्किएँ । राजमार्ग सुनसान छ । कहाँ, कति क्षति भो, केही सुन्नु भो भनेर त्यहाँका पसलेहरुलाई सोधेँ । सबैको एकै उत्तर  ‘केही थाहा छैन’ भन्ने नै आयो । म सिधै लेटाङ हान्निएँ । चोकैमा एकजना प्रहरीलाई सोधेँ । उनले भने ‘खासै केही थाहा छैन तर धरहराचैँ जमिनमुनि भासियो भन्ने हल्ला छ।’ ब्यालेन्स कमी थियो । हतारहतार बाइक साइडमा रोकेर मोबाइलमा रिचार्ज भरेँ । त्यसपछि फेसबुक खोलेर हेर्दा पो थाहा भयो कि काठमाण्डू क्षतविक्षत, गोर्खा तेस्तै, अरु जिल्लाहरु उस्तै । समाचार हेर्न थालेपछि पो म अत्तालिएँ । अहिले पो ख्याल गरेँ कि वरपर भेला भएका मान्छेहरुको अनुहार हेर्छु– सबैको मुहारमा त्रास झल्किरहेछ । सबै अत्तालिएका देखिन्छन् ।

चार बज्यो । म फर्किएँ । छ ‘रेक्टर’भन्दा कमको कम्पन गाडीमा थाहा नहुँदो रहेछ । घर पुगियो । अझै कतै पनि सम्पर्क हुन सकेन ।

... ... ...

भोलिपल्ट एकैछिनलाई मात्रै फोन सम्पर्क भयो । सबैलाई ठिक छ भन्ने थाहा भयो । फोन कटिगयो । नेपाल टेलिकमले दुई मिनेटभन्दा बढी फोन लाइन कसैलाई दिएन । कुरो ठिकै पनि हो । सबैलाई बढी समय दियो भने फोन लाइन जाम हुने नै थियो । अलि ढुक्क भने भइयो । त्यसपछि काठमाण्डूजाने सोच बनाएँ । तर अशोकले नआउनूभन्यो ।

काठमाण्डूबाट दिनको बाह्र लाखको हिसाबले सबै मान्छे बाहिरिए । यो क्रम चारपाँच दिनसम्म चल्यो । सरकार आफूमा भएको स्रोत–साधन र अन्तर्राष्ट्रिय सहयोगलाई समायोजन गरी उद्दार र राहतको काम अगाडि बढाइरहेकै थियो तर पीडित पक्षले भने प्रभावकारी महसुस गरिरहेका थिएनन् । सरकारले तीब्र आलोचना खेपिरहेको थियो । सरकारले काम गरेकै हो । सहरहरु भत्किएका छन्, गाउँहरु त भत्किनु मात्र होइन; पुरै बगेका छन् । फुमन्त्रले इउँका तिउँ बनाउने यन्त्रको आविस्कार भएको छैन नै । जेजति स्रोत–साधन छ, सबै परिचालन गरी धैर्यका साथ काम गर्नुभन्दा विकल्प नैछैन । लाखौं पीडितहरुको व्यवस्थापन र उद्दार कार्यमा अहोरात्र खटेका नेपाल आर्मी, नेपाल प्रहरीहरु वास्तविक घटनाका हिरो हुन् भन्न कन्जुस्याइँ गर्नु हुन्न ।

फेसबुकमा एउटा तस्बिर देखेँ । कान्तिपुरमा छापिएको रहेछ । उद्दारमा खटेका जवानहरु भग्नावशेष स्थलमा 'निउज' पेपरकै पानामाथि चिउरा राखेर खाइरहेका रहेछन् । तस्बिर देखेर म साँच्चीकै स्तब्ध भएँ । निःशब्द र भावुक भएँ । आखाँ चिम्लेर सोचे कि यो देशका, यो माटोका वास्तविक सपुतहरु त यिनीहरु हुन् । मलाई अत्मग्लानि भयो । अर्को कुरा सम्झिएँ कि माओवादीहरु शान्ति–प्रक्रियामा आइसकेपछि सेना–समायोजनको प्रक्रियामा सरकारसँग उसको रस्साकस्सी चलिरहेको थियो । एउटा सार्वजनिक स्थलबाट प्रचण्डले नेपाली सेनाको कामै छैन, पन्चानब्बे हजारबाट आठ हजारमा झारे हुन्छ भन्ने अभिव्यक्ति दिएका थिए । यो पल आफ्नै अभिव्यक्तिप्रति पक्कै उनी पनि पछुताएको हुनुपर्छ ।

भूकम्पको पराकम्पन आउने क्रम रोकिएको छैन । हरेक दिन दर्जनौं पटक पराकम्पन आकोआकै छ । यता राहत संकलनको चहलपहल ह्वात्तै बढेको छ । जोकोहीले संकलन गर्ने । मलाई पनि धेरैले फोनमार्फत् मागे नै तर मैले दिइनँ । सरकारले राहत संकलनको निम्ति मापदण्ड तोकेपछि भने चहलपहल बिस्तारै सेलाउँदै गयो र हामीले पनि हाम्रो युनिट सिंगापुरबाट संकलन गर्‍यौं । हाम्रो ‘ट्रान्जिट क्याम्प काठमाण्डू’मार्फत् प्रधानमन्त्री सुशिल कोइरालालाई ८२ लाख रुपैयाँ हस्तान्तरण गर्‍यौं ।

... ... ...

पराकम्पन आएकोआयै छ । म दोधारमा परेँ, काठमाण्डू जाऊँ त त्यहाँबाटै मान्छेहरु भागिरहेका छन्, यतै बसूँ, काम छैन । छुट्टी पनि सकिन लाग्यो । तैबरु सिक्किमतिर घुम्न जाऊँ भन्ने निस्कर्षमा पुगियो ।

जेष्ठ २० गते सिक्किमको लागि बाटो लागियो । कान्छा भाइको गाडीबाट बिहानको नौ बजे काँकडभित्ता पुगियो । बसबाट ओर्लिनसाथ भारु बेच्नेहरुले घेरिहाले । एक मनले साटूँ जस्तो लाग्यो तर साटिनँ । बाटोमा बस्ने व्यापारीको के भरोसा, त्यो पनि सिमानामा । भरै नक्कली नोट पर्यो भने त फसादमा परिन्छ । बरु अलि बढी तिरेर मनिचेन्जरमै साट्न उपयुक्त हुने ठानेँ । मनिचेंजर खोज्दै गएँ । पैसा साटेँ ।

पानीट्याङ्कीसम्म रिक्सामै जाने सोच थियो । मुसलधारे पानी ओइरियो । रिक्सामा जान सम्भव भएन । सिलिगुडीसम्म जाने जिप्सीहरु पाइँदा रहेछन् । पानी परिरहेको छ, बसपार्कमा छाता ओडेर एकजना जिप्सी ड्राइभर काराउँदै छन्– सिलीगुडी, सिलीगुडी । उनले हामीलाई हेर्दै भने– कहाँ जाने ? सिक्किम ? लु बस्नुहोस् ! म पुराउँछु ।

भाडा मिलाइवरी जिप्सीमा बसियो । आरु मान्छेहरु पनि आए । गाडीमा मान्छे भरिएपछि जिप्सी गुड्यो ।

'एकसय कोसँग छ, मलाई दिनुहोस् !’ ड्राइभरले भने ।

मैले दिन खोजेको थिएँ, अर्को मान्छे पहिलो भयो ।

मेची पुल तर्नासाथ पहिलो चेक भयो । सिभिलले नै चेक गर्दा रहेछन् । ड्राइभरले दाहिनेपट्टि उभिएको मान्छेलाई एकसय भारु खुसुक्क हातैमा थमाइदिएपछि जिप्सी अगाडि हुइँकियो ।

‘सधैं यसरी नै पैसा दिनै पर्छ ?’ मैले ड्राइभरलाई सोधेँ ।

‘पैसा दिएन भने नेपाल छिर्न दि“दैन । पानिट्याङ्कीसम्म मात्रै आएर त हामीलाई फाइदै हुँदैन । यसरी नै हो हामी ओहोरदोहोर गर्ने ।’ ड्राइभरले भने ।

म चुपचाप बसेँ । जिप्सी आफ्नै गतिमा गुडिरहेको छ । मनमनै सोचेँ कि हाम्रै छिमेकी दाइ न हो । के नहोस् यस्तो । हामीलाई उनीहरुले नै सिकाएका हुन् ढाँटनु, छल्नु, चोर्नु, घुस खानु । जिप्सी सिलीगुडी–गान्तोक ट्याक्सी स्टेसनमा रोकियो । गान्तोकसम्मको भाडा मैले तिरिसकेको थिएँ । टिकट दियो, गाडी चिनायो । गाडीमा झोला राखेँ । मान्छे नभरिएकोले एक घण्टासम्म पर्खनुपर्ने भयो ।

हातमा बान्ने डोरोको झुप्पा बोकेर बाबाहरु आए । मैले नमान्दानमान्दै पनि तिनले हात समातेरै बाँधी दिए ।

‘आपको शुभ होस् ! यात्रा सफल होस् !’

आशीर्वाद सुन्दा ठिकै लाग्यो । बाँधियो । एकछिनपछि त हैरान नै बनाउन थाले । कति बाँध्नु ! यतिसम्म कि दिक्क लागेर गाडीभित्रबाट झ्याल थुनेरै बस्नुपर्‍यो ।

मान्छे भरिएपछि गाडी चल्यो । दुई लेनको सडक उस्तै डर मर्दो । जिप्सी आफ्नै गतिमा सखुवाघारी छिचोल्दै अगाडि बढिरहेछ । लगभग एक घन्टापछि भेटियो टिस्टा नदी । किनारैकिनार नागबेली घुम्तीहरु छिचोल्दै किरेनी भन्ने ठाउँमा जिप्सी रोकियो । चालकले खाजा खाने सङ्केत गरे । किरेनी सामान्य यात्रुहरुलाई खाजा खानको लागि जमेको ठाउँ रहेछ । खाजा खाइयो । जिप्सीको हर्न बज्यो । गाडी चढियो ।

जिप्सी आफ्नै गतीमा हुँकिँदै अगाडि बढ्यो । जब रंगपो पुल पुगियो, चेक (जाँच)को लागि ड्राइभरले झ्याल खोले । पुलिसको खरो प्रस्तुतिले म झस्किएँ । सोधपुछ सुरु भयो । कहाँ जाने,  केको लागि जाने ? आदि इत्यादि । नेपालीहरुको लागि नागरिकता चाहिने रहेछ । जिप्सीबाट ओर्लिेएँ । पास काट्ने अफिसतिर लागेँ । कम्प्युटरको सानो क्यामराले फोटो खिचियो । आफ्नो विवरणसहित पन्ध्र दिन बस्ने अनुमति पत्र हातमा पाइयो ।

जिप्सी हुँइकियो । कतै उकालो, कतैभीरैभीर । खोलाको किनारै किनार । बाटो केही साँघुरो । धेरै ठाउँमा फराकिलो बनाउने काम भइरहेको रहेछ । ट्राफिक जाम हुने नै भयो । लगभग तीन घण्टाको समय पश्चात् रानीपुल पुगियो । त्यहाँबाट पुरै जाममा परियो । ट्राफिक पुलिसलाई कन्ट्रोल गर्न हम्मेहम्मे परिरहेको थियो । कछुवाको गतिमा घिस्रिँदै चार बजे ‘गान्तोक–सिलिगुडी ट्याक्सी स्टेसन’ पुगियो । सबै यात्रुहरु आ–आफ्नो गन्तव्यतिर लागे । म एउटा होटलमा छिरेर कोठा सोधेँ । त्यहााँ प्याक रहेछ । तिनले एमजी रोड जाने सल्लाह दिए, बाटो पनि देखाइदिए । अलिकति उकालो चढेपछि पुगियो– एमजी रोड ।

धेरै नै व्यवस्थित र सफा रहेछ । होटलहरु प्रशस्तै रहेछन् तर कोठा पाउनै कठिन । एकदुई ठाउँ भेटियो कोठा । तल भीरबाट उठाएर माथि रोडमा ल्याइएको बिल्डिङको झ्याल खोलेर हेर्‍यो, अहो ! कहाली लाग्दो । उसै पनि भूकम्पले तर्साएको मन, तेस्तोमा बस्न केको आँट आउनु !  भित्तोपट्टि रहेका होटलहरु चाहारियो । बल्ल भेटियो होटल । होटलमा झोला बिसाएपछि एमजी रोड घुम्न निस्किएँ । निकै नै भिडभाड हुँदोरहेछ । ठाउँठाउँमा साइनबोर्ड र तिनमा लेखिएका छन् कि 'क्लिन एड ग्रीन सिटी !' चुरोट तान्न, फोहोर फाल्न प्रतिबन्ध । मलाई खुल्दुली लाग्यो यहाँका मान्छेले चुरोट छाडेकै हुन् त ? अगाडि बड्दै जाँदा एउटा घुम्ती पसलमा आँखा पुग्यो । त्यहाँ गएँ ।

‘चुरोट पाइन्छ ?’ मैले सोधेँ ।

‘पाइन्छ, कुन चुरोट दिऊँ ?’

‘यहाँ त चुरोट खान पाइन्न भन्छन् त अनि !’

‘लुकाएर खान पाइन्छ ।’ उनी मुसुक्क हाँसे ।

‘भैगो । उसो हो भने म लिन्नँ ।’ म त्यहाँबाट हिँडेँ ।

वास्तवमा बुझ्न मात्र खोजेको हो । म चुरोट नखाने मान्छे, किन किन्थें र !  अगाडि बढ्दै गएँ । रोडको अन्तिममा भेटियो– ठूलो सालिक । महात्मा गान्घीको सालिक रहेछ । अनि पो थाहा भयो कि एमजी रोड जुन नाम उनकैनामबाट राखिएको रहेछ ।

घामले गान्तोक सहर छोड्दै थियो । हामी पुनः त्यही बाटो फर्कियौं ।

कपाल नकाटेको निकै भइसकेको थियो । ‘बारबार शप’ मा कपाल काट्न लाइन लागेँ । म भन्दा अगाडि दुईजना थिए । तेस्पछि मेरो पालो । तर जब मेरो पालो आयो, एउटा पुलिस आएर मेरो पालो मिचिगो । म चुपचापै बसेँ । अर्काको ठाउँमा चुपचाप बस्नु र हेर्नुबाहेक विकल्प मसँग भएन । पुलिसले काटी भ्यायो अनि म बसेँ बारबारको कुर्सीमा । पुलिस बाहिर खैनी माड्दै उभिरहेको थियो । सम्भवत ऊ डिउटीमै थियो । घरिघरि मलाई हेर्थ्यो । कपाल काटिसकेरे निस्कि“दा मलाई उसले सोध्यो, ‘होइन बाल त फौजी कट काट्नुभो । कहाँबाट आउनुभा ? तपाईं पनि फौजी पर्नु भो कि कसो ?’

मैले आफ्नो वास्तविकता सुनाएँ । मैले ‘म नेपालबाट हो, सिंगापुर पुलिसमा छु’ भनेपछि ऊ झस्कियो ।

‘ओहो सरी ! तपाईको पालो मिचेँ माफ गर्नुहोला ! सिंगापुरमा त यस्तो चल्दैन रे नि ?’

‘तपाईले जे सुन्नु भो अनि त्यो सही हो ।’ मैले भने“ ।

उसले सिंगापुरको बारेमा धेरै कुराहरु सुनेको रहेछ । निकैबेर गफ गरियो । गफ गर्दै जाँदा तलब सोधिहालयो । तलबको विषयले भने मलाई हैरान पारिहाल्छ । जसले पनि सोधिहाल्छन् । खान लाउन राम्रै पुग्छ, घुस खान पर्दैन । यसै भनिदिन्छु म ।

हामी छुट्टियौं । म होटलतिर लागेँ । भोलिको लागी गान्तोक आसपासका ठाउँहरु घुम्नलाई गाडीको प्रबन्ध मिलाएँ । खाना खाइयो । रातको ११ बज्यो । बाहिर मान्छेहरुको चहलपहल घट्दै आयो । कोठाका बत्तीहरु निभे !

भोलिपल्ट-

बिहान निकै अबेर उठियो । १० बजे गाडी आइपुग्यो । हामी निस्कियौं । गान्तोक बजारबाट चार किमी केही ओरालो झरेपछि भेटियो–वनझाँक्री झरना । टिकट लिइयो र प्रवेश गरियो । वनझाँक्री झरना ३० मिटरको उचाइबाट झर्दो रहेछ । अधिकांश पर्यटक बिहारीहरु रहेछन् । केही नेपाली भाषीहरु जो बोली सुन्दा दार्जिलिङबाट आएका हुन् भन्ने प्रस्टै हुन्थ्यो । मान्छेहरु झरनामा रमाएको देख्दा उनीहरुसँगै हामी पनि रमायौं । झरनासँगै किराती राईहरुको उँभौली/उँधौलीमा कुलपित्र पुज्दा, माङ्पा (बिजुवा) जसरी चिन्ता बस्छन्, चिन्तामा चाहिने सबै सर–सामानसहित मूर्तिहरु सजाइएका रहेछन् । यो देख्दा मलाई काकाजीको याद आयो । उहाँ यसै गरी चिन्ता बस्नुहुन्छ ।

सबैभन्दा आकर्षक वनझाँक्रीको मुर्ति नै लाग्यो । म सानो छँदा बाजेले वनझाँक्रीको कथा सुनाउनु हुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो कि पहिले पहिले सधैंको राति सुनको थाल बजाउँदै त्यो पारिको जङ्गलमा वनझाँक्री चिन्ता बस्थ्यो । कलियुग लाग्यो, अहिले हरायो । म बडो उत्सुकताको साथ सुन्थेँ अनि सोध्थेँ– ‘कस्तो हुन्छ वनझाँक्री ?’ ‘

वनझाँक्री हामी मान्छे जस्तै हुन्छ तर वनझाँक्रीको खुट्टाका पाइताला उल्टो फर्केको हुन्छ । उसकी स्वास्नी लेमलेमा । लेमलेमाले भेट्यो भने मान्छे खान्छ । भेटिहाल्यो भने कहिल्यै उकालो नभाग्नू,  ओराको भाग्नू ! किन त भने लेमलेमाको स्तन लामो झोलिएको हुन्छ । उकालो दगुर्न पर्यो भने आफ्नो स्तन काँधमा भिरेर तेजले दौडिन्छ । ओरालोमा भने स्तन काँधमा लगाउन मिल्दैन । दगुर्न सक्दैन । अनि ठुलो माङ्पा (बिजुवा) निस्कनेहरुलाई वनझाँक्रीले लान्छ । सबै मन्त्रहरु सिकाउँछ । त्यो बेला लेमलेमाले खान खोज्छ रे ! तर वनझाँक्रीले गुफाभित्र लुकाएर राख्छ रे ! गड्यौलाको खाना दिन्छ रे ! खाना थाप्दा हत्केलालाई उल्टो पारेर थापिखाने । सुल्टो थापियो भने मरिन्छ ।’ बाजेले भन्नुहुन्थयो ।

वनझाँक्री बारे यस्तै यस्तै सुनेर हुर्किएको म । यहाँ उसैको मूर्ति पहिलो पल्ट हेर्न पाएँ । खुट्टाका पाइतला हेरेँ, उल्टो नै थियो । लाग्यो– बाजेले सुनाउनु भएको कथा सत्य थिएछ र नै यो मूर्तिको स्थापना गरियो । हामी ‘रोप–वे केबलकार’तिर लाग्यौं । रोपवे सन् २००३ बाट सञ्चालनमा आएको रहेछ । जसको लम्बाइ एक हजार मिटर र उचाइ एक सय मिटर रहेछ । मान्छेहरुको असाध्यै भिड । झन्डै एक घण्टा लाइन बसेपछि मात्रै चढ्न पाइयो । डिब्बा चल्यो । बायाँपट्टि गान्तोक सहर पुरै देखियो । एकदमै रमाइलो दृश्य । दायाँपट्टि भने कहाली लाग्दो ! छ्वाङ्गै पहरा । भीरमुनि रोरोचु खोला । रोपवेपछि त्यहाँका स्तुपा, म्युजियम, फ्लावर गार्डेन आदि घुमियो । अन्त्यमा कञ्चाजङ्गा हिमाल हेर्न टाशीभ्यु पुगियो । हिमाल हेर्ने खासै इच्छा थिएन, ड्राइभरले पुराइहाल्यो । आफूले नइच्छाएको कुरो, मौसमले पनि थाहा पायो क्यारे ! एकै छिनमा बादल लागेर पुरै अँध्यारो भैगयो । केही हेर्न पाइएन । खाजा खाएर होटल फर्कियौं ।

होटल आइपुग्दा साँझ परिगयो ! बसाइको अन्तिम दिन पैदलै गान्तोक बजार घुम्न निस्किएँ । भारतको पहिलो अर्गानिक राज्य सिक्किम हो भन्ने समाचारतिर कतै पढेको थिएँ । प्रधानमन्त्री नरेन्द्र मोदीको भाषणमा पनि सुनेको थिएँ । त्यसैले त्यहाँको तरकारी बजार घुम्न मन लाग्यो । तरकारी बजार चारतले महलमा रहेछ । म त्यहाँ पुगेँ । एकजना व्यापारीलाई सोधेँ । गोलभेडाको भाउ किलोको भारु तीस पर्दो रहेछ ।

‘अर्गानिक हो कि होइन ? कहाँदेखि सप्लाई हुन्छ ?’

‘यो सबै सिलीगुडीबाट । आलु, प्याज, लसुन सबै उतैबाट हो । उतैबाट ।’

‘सिक्किम त अर्गानिक इस्टेट होइन र ?’

‘हावा नि ! कहाँ सधैं अर्गानिक पाउनु यहाँ । शुक्रबार एउटा स्टलमा पाइन्छ, अरु दिन पाइन्न ।’

अरु स्टलतिर पनि गएर सोधेँ । उस्तै उत्तर पाएँ ।

यहाँबाट उकोलो हुँदै म एमजी रोड निस्किएँ । एउटा मःमः पसलमा छिरेँ । मःमः अर्डर गरेँ । पसलकी बहिनीलाई चामलको भाउ सोधेँ । जवाफमा भारु पचास भन्ने आयो ।

‘मैले सुनेको त दुई रुप्पे पचास पैसामै पाइन्छ थियो त ?’ मैले सोधे“ ।

‘ए ए । त्योचाहिँ कस्तो हो भने बिलो प्रोपोर्टी अथवा कुनै पनि सिक्किमेली जनता, एक घरमा कोही जागिरे नभएको । टेलिभिजन नभएको घरवालाहरुलाई हो । सरकारले महिनाको तीस केजी चामल भारु दुई रुप्पे पचास पैसाले दिन्छ । त्यसमा अरु सुविधाहरु पनि छ ।

मःमः खाइसकेर म होटलतिर लागेँ ।

सिक्किम बसाइभित्र मैले जति देखेँ, जति बुझेँ समग्रमा उन्नत लाग्यो । भौगोलिक हिसाबले हाम्रो ठाउँभन्दा धेरै बिकट भए पनि विकासले गति लिएकोछ । सात लाखको हाराहारीमा रहेका जनता, हरेक गाउँमा सडक बिस्तार । हरेक घरमा बिजुली, खाने पानी, शिक्षा स्वास्थ्यको राम्रो प्रबन्ध । मैले जेजति मानिसहरु भेटेँ, उनीहरु कसैको अनुहारमा नैरास्य, डर, त्रास, चिन्ता झलिकएको देखिनँ ।

पाँच दिनपछि म जुन बाटो समाएर गान्तोक पुगेँ, सोही बाटो समाएर मेची पुल तरी आएँ ।

 

सिंगापुर