पदयात्रा पर्यटनसँग जोडिँदै भुम्दी टुनार घरबास

पदयात्रा पर्यटनसँग जोडिँदै भुम्दी टुनार घरबास

लोकसंवाद संवाददाता  |  पर्यटन  |  बैशाख १२, २०७८

पोखरा । पर्यटकीय नगरी पोखराबाट नजिकै रहेको पोखरा महानगरपालिका–२२ स्थित भुम्दीका स्थानीयवासी घरबासका माध्यमबाट यहाँको गाउँलाई पर्यटकमाझ पुर्‍याउने लक्ष्यका साथ क्रियाशील छन् ।
    
भुम्दी टुनार घरबास ९होमस्टे० का नाममा सङ्गठित बन्दै यहाँका ११ वटा घरमा विगत एक वर्षयता घरबास सञ्चालनमा ल्याइएको छ । प्रकृति र संस्कृतिका विविधतालाई पर्यटक माझ लैजाने दीर्घकालीन सोचका साथ घरबास सञ्चालनमा ल्याइएको अध्यक्ष नानीमाया गुरुङले जानकारी दिनुभयो । गत वर्षदेखि घरबास सञ्चालनमा ल्याएसँगै पर्यटकको आकर्षण बढिरहेका अवस्थामा एकाएक विश्वव्यापी फैलिएको कोरोना भाइरसको प्रकोप र त्यसँगै गरिएको बन्दाबन्दीले आफूहरूको जागरुकतालाई प्रभावित बनाएको उहाँले बताउनुभयो ।
    
समुद्री सतहबाट ८०० मिटर उचाइमा रहेको यस ठाउँबाट माछापुच्छ«े, अन्नपूर्णलगायतका मनमोहक हिमाली दृश्य एकसाथ अवलोकन गर्न सकिन्छ । गाउँको शिरमा रहेको रामलक्ष्मण थान यहाँको अर्को धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको होमस्टेकी सदस्य एवं भुम्दी टुनार आमा समूहकी अध्यक्ष राधा गुरुङले जानकारी दिनुभयो । 

उहाँका अनुसार यस तीर्थस्थलमा प्रत्येक वर्षको आश्विन शुक्ल पक्ष९बडा दशैँ० र चैत्र शुक्ल पक्ष९चैते दशैँ०का अवसरमा नवमी तिथिमा विशेष पूजाआजा हुन्छ । उक्त दिनमा कुखुराको बलि दिने गरिएको उहाँले जानकारी दिनुभयो । उक्त दिनमा रामलक्ष्मणको थानमा शिकार खेल्नुपर्छ भन्ने प्राचीन संस्कृति यहाँको अर्को मौलिकता हो । उक्त दिनमा शिकार खेल्नैपर्छ भन्ने प्राचीन मान्यताका कारण स्थानीयवासी जम्मा भएर शिकार खेले झँै गरी हाहाहुहु गर्दै परम्परालाई धान्दै आएको उहाँले बताउनुभयो । 

घरबासमा आउने पर्यटकलाई आफूहरूले यामअनुसारको गाउँमा नै उत्पादित प्राङ्गारिक तरकारीका साथै विभिन्न परिकार खुवाउने गरेको उहाँले जानकारी दिनुभयो । गाउँमा विभिन्न जातजातिका २७ घरमध्ये ११ वटाले घरबास सञ्चालन गरेको जानकारी दिँदै उहाँले होमस्टे सञ्चालन नगर्नेले पनि पर्यटकका लागि आवश्यकपर्ने कृषिजन्य उत्पादन तयार गरी लाभान्वित हुने गरेको बताउनुभयो ।
    
हिमाली तथा पहाडी दृश्यावलोनको आकर्षक गन्तव्यका रुपमा रहेको यो ठाउँ पञ्चासे पदमार्गमा पर्ने ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल९टान० पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सुशीलराज पौडेलले बताउनुभयो ।
    
पञ्चासे पदमार्गमा जानेका लागि यस स्थानमा विगतमा घरबास सञ्चालन नभएका कारण क्याम्पिङ गर्नुपर्ने बाध्यता रहेको बताउँदै उहाँले घरबास भएसँगै पदयात्रीका लागि निकै सहज बनेको बताउनुभयो ।