त्रिविका सबै परीक्षा स्थगित : वातावरण सहज भएपछि परीक्षा सञ्चालन गरिने

त्रिविका सबै परीक्षा स्थगित : वातावरण सहज भएपछि परीक्षा सञ्चालन गरिने

लोकसंवाद संवाददाता  |  शिक्षा  |  बैशाख १३, २०७८

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगन गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय केन्द्रीय परीक्षा सञ्चालन समितिको आज बसेको बैठकले मङ्गलबारदेखि हुने सबै परीक्षा स्थगन गरेको हो । 

परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोरोना भाइरसको दोस्रो प्रकोपले देशका विभिन्न स्थानमा बन्दाबन्दी र निषेधाज्ञा भएका कारण अहिलेको स्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने भएकाले स्थगन गर्नुपरेको जानकारी दिनुभयो ।  'केही ठाउँमा बन्दाबन्दी र निषेधाज्ञा शुरु भएको छ', उहाँले भन्नुभयो, 'यस्तो बेलामा परीक्षा गर्न सम्भव हुँदैन । त्यसैले सबै परीक्षा स्थगन गरेका हौँ।'

उहाँले वातावरण सहज भएपछि परीक्षा सञ्चालन गरिने बताउनुभयो । त्रिविको वार्षिक परीक्षाअन्तर्गत स्नातक तह र स्नातकोत्तर तह दोस्रो वर्षका परीक्षा सञ्चालन भइरहेका थिए ।  यही वैशाख १९ गतेसम्म सञ्चालन हुने परीक्षाअन्तर्गत मानविकी,  शिक्षा र विज्ञान सङ्कायका केही विषय मात्र बाँकी  थिए । 

यस्तै वैशाख १९ गतेदेखि स्नातकोत्तर तहको सेमेष्टरअन्तर्गतका परीक्षासमेत सञ्चालन गर्ने पनिकाको तयारी थियो । यसअघि पनि गत वर्ष चैतमा कोभिड–१९ का कारणले परीक्षा स्थगन गरिएका थिए । ती परीक्षा गत मङ्सिरदेखि निरन्तर सञ्चालन भइरहेका थिए ।  

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्देशक समितिको आइतबार बसेको बैठकले आजदेखि विद्यालय र शिक्षालयको भौतिक उपस्थितिमा हुने पूर्वनिर्धारित परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगन गर्ने निर्णय गरेको थियो ।