दल त्यागको कारवाही वडासम्मै

दल त्यागको कारवाही वडासम्मै

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १४, २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्र हुम्ला अदानचुली गाउँ कमिटीले वडाध्यक्षसहित दुई जनप्रतिनिधिलाई दल त्यागको कारवाही गरेको छ । सोमबार बसेको गाउँ कमिटी सचिवालय बैठकले अदानचुली गाउँपालिका–१ का वडाध्यक्ष रग थापा र सदस्य वर्ष महतारालाई निर्वाचित पद रिक्त रहने गरी कारवाही गर्न सिफारिस गरेको हो ।

गाउँ कमिटी अध्यक्ष हरिदल पुनको अध्यक्षतामा बसेको बैठकले माअ‍ेवादी केन्द्रबाट निर्वाचन जितेर अन्य पार्टी (नेकपा एमाले) मा लागेको भन्दै पार्टी वडाध्यक्ष थापा र सदस्य महतारालाई कारवाहीका लागि जिल्ला पार्टीलाई सिफारिस गरेको हो । पार्टीको सम्पर्कमा नआएपछि हामीले पटक–पटक पठाएको स्पष्टीकरणसमेतको जवाफ नदिएपछि बाध्य भएर पार्टीले यस्तो निर्णय गर्नुपरेको हो ।

अध्यक्ष पुनका अनुसार बैठकले पार्टीको राज्य कमिटी सदस्य धन्जे दमाई ‘सङ्कलन’ सहित तीनै जनालाई पार्टीको साधारण सदस्य नरहने गरी कारवाही गर्न सिफारिस गरेको हो । माओवादी केन्द्रले कारवाहीका लागि सिफारिस गरेका ‘सङ्कलन’ पार्टीका राज्य समिति सदस्य हुन् भने थापा र महतारा पार्टीको जिल्ला कमिटी सदस्य रहेको बताइएको छ ।