कोरोनाका कारण मृत्यु भएको हुनसक्ने भन्दै गाउँ बन्द

कोरोनाका कारण मृत्यु भएको हुनसक्ने भन्दै गाउँ बन्द

लोकसंवाद संवाददाता  |  समाज  |  बैशाख १४, २०७८

डोटी । शिखर नगरपालिका–१ अन्तरगतको तेछाडा गाउँ सिल गरिएको छ । केही दिन पहिले छिमेकी मुलुक भारतबाट कामगरी गाउँ फर्किएकी २८ वर्षीया जानकी नागरिकको मृत्यु भएपछि कोरोनाका कारण मृत्यु भएको हुनसक्ने भन्दै उक्त गाउँ सिलगरिएको हो ।  वडाअध्यक्ष खडकबहादुर शाहीद्वारा हस्ताक्षरीत  विज्ञप्ति प्रकाशित गरी सो गाउँको पूर्वतीरको गणेश नेगीको पसल, पश्चिम ढल्कना, उत्तरतीर चौपाता पिपल तथा दक्षिणतीर धौल्याल खोलासम्म सिल गरिएको जनाइएको छ ।

यसैगरी उक्त गाउँबाट अर्को गाउँ जान तथा अर्को गाउँबाट उक्त गाउँमा आवत जावत गर्नमा यहि २० गतेसम्म बन्देज गरिएको छ । जिल्लामा पछिल्लो समय भारतबाट काम गरी घर फर्किएका नागरिक आउजे क्रम बढ्नुका साथै उनीहरु क्वारेन्टिन नबसि सिधै गाउँ जानथालेका कारण गाउँमा कोरोना सङ्क्रमण बढ्ने भन्दै स्थानीयबासीमा त्रास फैलिएको छ । जिल्लामा कम्तिमा पनि एक हजारभन्दा बढी नागरिक भारतबाट रोजगारी गरी घर फर्किएको बताइएको छ ।

सुपमा १८६  औलो रोगी फेला

सुदूरपश्चिम प्रदेशमा १८६ जना औलो रोगका बिरामी फेला परेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यहाँका यहाँका कैलाली, कञ्चनपुर, अछाम, बैतडी, डडेल्धुरा र डोटी जिल्लामा औलोको जोखिम बढेको हो । 

निर्देशनालयका अनुसार यहाँका छ जिल्लामा चालु आर्थिक वर्षमा करिब १८६ जना औलोरोगका बिरामी फेला परेका छन् । औलो रोगको नियन्त्रणका लागि सरकारी प्रयास जारी रहेपनि यहाँका छ जिल्लामा अझै औलो रोग पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको स्वास्थ्यकर्मी बताउछन् ।

प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीकाअनुसार औलोका बिरामी सबैभन्दा बढी प्रदेश राजधानीसमेत रहेको कैलाली जिल्लामा फेला परेका छन् । उहाँका अनुसार कैलालीमा चालु आर्थिक वर्षमा ७०, कञ्चनपुरमा ३६, अछाममा १४, बैतडीमा १२, डडेल्धुरामा ९ र डोटीमा ७ जना औलो रोगी फेला परेका हुन् । 

जिल्लामा स्थानीयभन्दा पनि आयातित औलोका बिरामी बढेको निर्देशनालयको दाबी छ । चालु आर्थिक वर्षमा ११५ आयातित औलोका बिरामी रहेको जनाइएको छ । प्रदेशमा आर्थिक वर्ष २०७६÷७७ मा ३२० औलोका बिरामी थिए । जसमध्ये २५५ आयातित र ६५ स्थानीय औलोका बिरामी थिए । प्रदेशमा आयातित औलोका सबैभन्दा बढी बिरामी कैलालीमा पाइएको छ । यहाँका जिल्लामा आयातित औलोका बिरामीको सङ्ख्या भने क्रमिकरुपमा कम हुँदै गएको छ ।