क्यान्सर रोग : शल्यक्रिया हुँदै किमो, रेडियो, इम्युनोदेखि टार्गेटेड थेरापीसम्म
बैशाख १४, २०७८

क्यान्सर शब्द नसुन्ने नेपालीहरूको सङ्ख्या धेरै कम छ । क्यान्सर भएको थाहा पाउने बित्तिकै मनमा त्रास पैदा हुने गर्छ । कतिसम्म भने मानिस आफ्नो मृत्युको कल्पना गर्न थालिहलेको पाइन्छ । क्यान्सर धेरै किसिमका हुन्छन् । केही किसिमका क्यान्सरको उपचारमा सन्तोषजनक प्रगति भइसकेको छ भने अन्य केही प्रकारका क्यान्सरको उपचार पद्धतिमा अझै अध्ययन भइरहेको छ । निकट भविष्यमा विशेषज्ञहरूले क्यान्सरको सफल चिकित्सा पत्ता लगाउने कुरोमा आशा राख्न सकिन्छ । 

क्यान्सर रोगको इतिहास धेरै पुरानो छ । यो रोगको विषयमा कहिले र कसले के कस्ता कुरा पत्ता लगाएका थिए भन्ने विवरण पाठक वर्गको लागि एउटा चाख लाग्दो विषय हुन सक्छ । 

करिब ३०० वि.सि.मा इजिप्टमा क्यान्सर बारे उल्लेख भएको पाइन्छ । त्यतिबेला क्यान्सर शब्दको प्रयोग भएको थिएन । Edwith Smith Papyrus नामक इजिप्टको पुरानो ऐतिहासिक मेडिकल पुस्तकमा क्यान्सरको शल्यक्रिया बारे उल्लेख गरिएको पाइन्छ ।  यो पुस्तकमा ८ वटा केशहरूको बारेमा लेखिएको छ । स्तनमा हुने अल्सरहरूलाई 'Firedrill' भन्ने उपकरणबाट हटाइयो तर लेखकले यो रोगको उपचार नभएको कुरा पनि उल्लेख गरेका छन् । यति पुरानो इतिहास बोकेको यो रोगलाई पछि ग्रिक चिकित्सक हिपाक्याटले (Hippocrates)'Carcinos'  वा करकिनोमा (Carcinoma) भनेर नामकरण गरे। 'Carcinos' भन्नाले ग्रिक भाषामा ‘गँगंटो’ बुझिन्छ । ट्युमरलाई काटेर हेर्दा गँगटोका औला जस्तो ट्युमरबाट शिराहरू निस्केर गँगटो जस्तो आकार देखिने हुनाले यो नाम राखियो र हालसम्म पनि यही नामले चिनिन्छ  । 

क्यान्सर राेगको इतिहास हेर्ने हो भने नयाँ आविष्कारमा केही सफलता पनि मिलेको छ । कुनै कुनै अवस्थामा आविष्कारको कुरा धरै नै  निराशाजनक रहेका कथाहरू पनि नभएको होइनन् । कति उपचार पद्धति विकास भएता पनि महँगो भएकाले विकासोन्मुख देशहरूमा हालसम्म प्रयोगमा ल्याउन सकिरहेको अवस्था छैन ।

पछि Galen भन्ने अर्को ग्रिक चिकित्सकले 'Oncos' भन्ने शब्दको प्रयोग गरे जसको अर्थ सुनिने ('Oncos' सुनिने) भनेर बुझिन्छ र क्यान्सर सम्बन्धी विधाको अध्ययनलाई अन्कोलोजी (Oncology) भनिन्छ । इजिप्टमा मृत्यु भैसकेका मानिसहरू र जनावरहरूलाई मम्मी (Mummy) बनाएर वषौँसम्म कुहुन नदी राखिएको हुन्छ । यी मम्मीहरूको अध्ययनले पनि विभिन्न क्यान्सरहरू पत्ता लागेका छन् । अहिले सम्म विश्वभरी २०० कङ्काल र मम्मीहरूमा विभिन्न खालका क्यान्सरहरू देखिएका छन् । कङ्कालहरूको अध्ययन गर्ने विषयलाई प्यालियोप्याथोलोजी (Paleopathology) भनिन्छ । 

माथि उल्लेखित मम्मी र कङ्कालहरूको अध्ययन गर्दा स्तन, ठुलो आन्द्रा र हड्डीका क्यान्सरहरू र मल्टिपल माहिलोमा रोग भएको देखिएका छन् ।

क्यान्सर राेग लाखौँ वर्ष अगाडि पत्ता लागेको रोग भएता पनि यसको उपचार अझ पनि चूनैति पूर्ण नै रहेको छ  । क्यान्सर राेगको इतिहास हेर्ने हो भने नयाँ आविष्कारमा केही सफलता पनि मिलेको छ । कुनै कुनै अवस्थामा आविष्कारको कुरा धरै नै  निराशाजनक रहेका कथाहरू पनि नभएको होइनन् । कति उपचार पद्धति विकास भएता पनि महँगो भएकाले विकासोन्मुख देशहरूमा हालसम्म प्रयोगमा ल्याउन सकिरहेको अवस्था छैन ।

आधुनिक निदानका साधनहरूद्वारा क्यान्सर रोगको डायग्नोसिस गर्न सकिन्छ  । हाम्रो देशमा पनि क्यान्सर रोगका विशेषज्ञहरू छन् र विभिन्न प्रकारका क्यान्सरहरू पत्ता लगाएर उपचार गर्न सक्षम छन् । क्यान्सर रोगको उपचार शल्यक्रिया, किमो थेरापी  र रेडियो थेरापीद्वारा गर्ने गरिन्छ । हालै प्रयोगमा ल्याइएका उपचार  पद्धतिहरूमा इम्युनो थेरापी र टार्गेटेड (Targeted) थेरापी रहेका छन् ।  यी नयाँ उपचार पद्धतिहरूका विषयमा धेरैलाई जानकारी नहुन पनि सक्छ । 

क्यान्सर उपचारमा सबैभन्दा पहिले विकास भएको पद्धति सर्जरी नै हो । सुरुमा स्कटिस सर्जन जोन हण्टरले (१७२८–१७९३) केही क्यान्सरहरू सर्जरीबाट निको पार्न सक्ने उल्लेख गरेता पनि, शल्यक्रियाले फड्को मारेको अर्थात् सम्भव भएको भनेको एनेस्थेसियाको (१८४६) विकास भएपछि मात्र हो । सर्जनहरूकै नाम लिनु पर्दा जर्मनीका सर्जन थियोडर बिल्रथ (Theoder Bilroth) लण्डनका सर्जन स्याम्पसन ह्याण्डली (Sampson Handley)  र बाल्टिमोरका सर्जन विलियम हाल्सटेड (William Halsted) को धेरै योगदान रहेको  छ । 

क्यान्सर भएको भागलाई शल्यक्रियाद्वारा हटाउनुको साथै यसको लिम्फग्रन्थीलाई हटाइयो भने क्यान्सर रोग फर्केर आउने सम्भावना कम हुन्छ भनेर यी सर्जनहरूको अध्ययनबाट निष्कर्ष निकालेका थिए ।

त्यही भएर सुरुमा विस्तृत रुपमा शल्यक्रिया गरिन्थ्यो, जस्तो स्तन क्यान्सरमा स्तन हटाउनुको साथै,  स्तन मुनिको मांसपेशी र काखी तिरको लिम्फग्रंथी सबै हटाइन्थ्यो । त्यसरी गरिने शल्यक्रियाले धेरैमा हात सुनिने, फोक्सोमा हावा भरिने विभिन्न समस्याहरु देखापरेपछि विभिन्न अध्ययनबाट शल्यक्रियालाई कम विस्तृत रुपमा गरेर त्यसमा किमो र रेडियो थेरापीको साहयताले जीवनस्तरमा सहजता ल्याउने काम भइरहेको छ ।

क्यान्सर रोगलाई काटेर फाल्दा हुँदैन किन ? भन्ने जस्ता प्रश्न बाइरँग विभागमा किमो र रेडियो थेरापी गर्न / जँचाउन आउने बिरामीहरूको हुने गर्छन् ।  तर शल्यचिकित्सकहरुले आँखाले देखिने ट्युमर काटेर फाल्नुहुन्छ र प्याथोलोजिष्टहरुले क्यान्सरको अध्ययन गर्नु हुन्छ र यही अध्ययनको आधारमा कस्तो किसिमको क्यान्सर हो भन्ने कुरा पत्ता लाग्ने  हुन्छ । थप उपचार चाहिने नचाहिने कुरा पनि यही अध्ययनले निर्धारण हुने गर्दछ । 

आँखाले देखिने ट्युमर काटेर फाले पनि त्यसका बिउहरू त्यही ठाउँमा अथवा अन्य अङ्गहरूमा फर्किन सक्छन् । यस्तो अवस्थामा कुन किसिमको उपचार उपयुक्त हुन्छ भन्ने कुरा विशेषज्ञहरूसँग सल्लाह लिनु बुद्धिमानी हुन्छ । 

रगत र लिम्फग्रंथीको क्यान्सरमा सर्जरीको आवश्यकता पर्दैन । प्राय गरेर ठोस क्यान्सर (Solid Cancer) मा शल्यक्रिया गर्ने गरिन्छ । ठोस क्यान्सरमा पनि क्यान्सरको स्टेज (stage) हेरेर शल्यक्रिया, किमो थेरापी, रेडियो थेरापी वा दुवै वा तीन वटै उपचार चाहिन सक्ने कुरा क्यान्सरको स्टेजले निर्धारण गर्दछ । क्यान्सरको उपचारमा शल्यक्रियाको ठुलो  देन  हुने गर्दछ।  कुन बेला कस्तो क्यान्सरलाई शल्यक्रिया चाहिन्छ भन्ने विषयमा विशेषज्ञहरूसँग छलफल गर्नु अति आवश्यक छ । 

 


डा. रायमाझी वीर अस्पतालमा कन्सल्टेन्ट अन्कोलोजष्टिका रुपमा कार्यरत हुनुहुन्छ ।