बज्रयोगिनी उग्रतारा देवीको खटयात्राको शुरुवात

बज्रयोगिनी उग्रतारा देवीको खटयात्राको शुरुवात

लोकसंवाद संवाददाता  |  पर्यटन  |  बैशाख १५, २०७८

काठमाडौँ । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमादेखि आठ दिनसम्म साँखु क्षेत्रमा गरिने बज्रयोगिनी उग्रतारा देवीको खटयात्रा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै शुरु गरिएको छ ।

राजा शङ्खदेवको पालामा कलिगत संवत् १८१८ देखि शुरु भएको ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण जात्रा गत वर्ष कोरोनाबाट बच्न लगाइएको बन्दाबन्दीका कारण स्थगित गरिएको थियो । जात्रामा प्रत्येक खट ५० मिटरको फरकमा राखेर गरिएको, चलाखु टोल सुधार समितिले मास्क र स्यानिटाइजरसमेत वितरण गरेको बज्रयोगिनी जात्रा व्यवस्थापन समितिका संयोजक प्रज्ज्वलमान सिंले राससलाई जानकारी दिनुभयो । वैशाख कृष्ण अष्टमीसम्म हुने यो जात्रामा बज्रयोगिनी उग्रतारा, चैत्यभराद (बुद्धमूर्ति), सिंहीनी र व्याघ्रिनीको चार मूर्ति खटमा राखेर जात्रा गर्ने परम्परा छ । 

तीन हजार ३०० वर्षभन्दा लामो इतिहास भएको जात्रा गत वर्षसमेत तीनपटक रोकिएकाले पनि यस वर्ष स्वास्थ्य सुरक्षाका विभि अपनाएर गरिएको व्यवस्थापन समितिले जनाएको छ । राजा रणबहादुर शाहको शासनकालमा बिफर रोगको महामारी र विसं १९७० मा बज्रयोगिनी मन्दिरमा आगलागी भएका कारण जात्रा रोकिएको साँखु क्षेत्रको सांस्कृतिक विषयमा अध्ययन अनुसन्धान गरिरहनुभएका प्रकाशमान श्रेष्ठ ‘सक्व’ ले जानकारी दिनुभयो ।  

शङ्खरापुर नगरपालिका–४, ७ र ८ को बीचमा रहेको बज्रयोगिनी मन्दिरबाट खट उठाएर साँखुका आठ टोलमध्ये चार टोलमा राख्ने गरिन्छ । खट राख्न धुला, चलाखु, इला र सुनटोल गरी चारवटा तोकिएको छ । यस वर्ष चलाखु टोलमा खट राख्ने पालो छ । धुलाटोलमा राख्दा साल्खा, चलाखुटोलमा राख्दा दुगाहिटी, इलाटोलमा राख्दा पुखुलाछी र सुनटोलमा राख्दा इपाटोलको पनि प्रतिनिधित्व हुने गरी राख्ने गरिएको साँखु क्षेत्रको ऐतहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक खोज अभियानमा लाग्नुभएका ‘सक्व’ ले राससलाई जानकारी दिनुभयो । 

बज्रयोगिनीबाट खट ल्याएर टोलमा राखेको चौथो दिनमा नाथ सम्प्रदायका योगीले पूजा गरेपछि मूल जात्रा शुरु गरिन्छ । मूलजात्राका दिन खटलाई बोकेर साँखु क्षेत्र घुमाइन्छ । मूल जात्रा अघिका चार दिन खट राख्न बनाइएको सत्तलभित्र र मूलजात्रा सकिएपछिका चार दिन सत्तल बाहिर राखी साँखुवासीले प्रत्येक दिन पूजाआराधना र दर्शन गर्ने चलन छ । जात्राका क्रममा नाथ सम्प्रदायका योगीले भात पकाएर भूत, पिशाचलगायत नकारात्मक तत्वलाई पन्छाउने विधिसमेत हुन्छ । गत वर्ष भीडभाड नगर्ने उद्देश्यले खट जात्रा नगरिए पनि पुजारीबाट हुने पूजाआराधना र नाथ सम्प्रदायका योगीले गर्ने पूजालगायत विधि भने पूरा गरिएको थियो । यस वर्ष स्वास्थ्यका मापदण्ड पूरा गरेर भौतिक दूरी कायम गर्दै जात्रा सम्पन्न गरेर छोड्ने समितिको प्रतिबद्धता छ ।