लोकसंवाद संवाददाता | समाचार | बैशाख १५, २०७८
पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण भुसको आगोजसरी नै भित्रभित्रै फैलिरहेको छ । देशभर संक्रमितको संख्या बढेको बढै छ भने मृत्यु हुने दर पनि तीव्र गतिले बढीरहेको छ । कोरोना महामारीले जनता त्राहीमान बनेका बेला राजनीतिक दलहरु भने सत्ताको खेलमा मस्त भइरहेका छन् । गत वर्ष कोरोना भाइरसको महामारीको त्रास चलिरहँदा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको थियो ।
यसवर्ष नेकपाको अस्तित्व सकिएर एमाले र माओवादी केन्द्र अदालतले ब्युँत्याइ दिएकाे छ । नेकपामा आएको विभाजनसँगै कोरोनाको दोस्रो महामारीमा फेरि सत्ताको खेल चर्किएको छ । यसै क्रममा मंगलबार गण्डकी प्रदेशसभामा सांसदहरुले आफूहरुलाई कोरोना लाग्ने चिन्ताका साथ परीक्षणको माग गरे। यसअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मध्यरातमा प्रदेशसभा अधिवेशन नै अन्त्य गरेर सत्ता लम्ब्याउने कोशिस गरेका थिए ।
मंगलबार एमाले सांसदहरुको ‘कोरोना चिन्ता’ पनि यसैसँग सम्बन्धित देखिएको छ। सरकार र विपक्षी दुवैतिरका सांसदलाई आफ्नो चिन्ता देखियो । सत्ता पक्षका सांसदलाई सत्ता गुम्ने चिन्ता र विपक्षीलाई सत्तामा पुग्ने हतारो बैठकमा स्पष्ट देखिन्थ्यो । सोही कारण सत्तारुढ दलकै सांसदले संसद अवरोध गर्न पुगे । देशमा कोरोनाको संक्रमणदर तीव्र बन्दा आम जनतामा त्रास सिर्जना भएको छ ।
ओली पक्षका कर्णालीका नेता यामलाल कँडेलले नेकपा एकै पार्टी हुँदा नै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर सुरु गरेको डढेलो सबै प्रदेशमा सल्केको छ । तर त्यसबेला सफल हुन सकेनन् । त्यसपछि यसै महिनाको सुरुमा पनि दोस्रो प्रयास गरेका थिए । सत्ताको खेलमा डेढ दर्जनभन्दा बढी जननिर्वाचित एमाले र माओवादी केन्द्रका सांसदले पद गुमाइसकेका छन् ।
तर आम जनतामा कोरोना परीक्षण, क्वारेन्टाइनको व्यवस्थापन, सीमा नाकामा कडाई र स्वास्थ्यकर्मीको उपलब्धता, कोरोना परीक्षणमा सर्वसाधारणका लागि सर्वसुलभ र निःशुल्क वा सस्तो दरमा परीक्षणको व्यवस्था गर्नुपर्ने जस्ता माग उनीहरुका थिएनन् । कोरोना संक्रमित ज्यान गुमाउने र बेड नपाउनेसम्मको संख्या बढ्दो छ। केन्द्रीय सत्तामा रहेका प्रधानमन्त्री दुई दिनअघिसम्म हुल बाँधेर पार्टीको विरोधी पक्षलाई कारबाहीको डण्डा चलाउन बैठक र काम देखाउनका लागि निर्माण सम्पन्न नै नभएका संरचनाको उद्घाटन, शिलान्यासमा व्यस्त थिए । प्रदेशमा पनि दलहरुको चिन्ता महामारीको भन्दा सत्ता कसरी बचाउने र कसरी सत्ता हात पार्ने भन्नेमा नै केन्द्रित छ।
गण्डकीमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीका सांसदले अविश्वासको प्रस्ताव पेश गरेका छन्। अविश्वासको प्रस्ताव आउनै नदिन गरेको प्रयास सफल भएन । यतिबेला दुवै पक्षले एक अर्कामाथि पद र सत्तालोलुपको आरोप लगाइरहेका छन् । मंगलबार अविश्वासको प्रस्तावमाथि छलफल हुने भनिएको बैठक सत्तारुण्ढ दलकै सांसदले कोरोना परीक्षणको माग गर्दै गरेको अवरोधमा पनि सत्ता केही घन्टा वा केही दिन भएपनि लम्ब्याउने मनसाय देखिन्छ ।
यसबाट जनताबाट निर्वाचित जनप्रतिनिधि सत्ताको खेलमा लिप्त भएर जनताको स्वास्थ्यप्रति कति गैरजिम्मेवारी पन प्रस्तुत भइरहेको छ । केही समयअघि कर्णालीमा एमालेले माओवादी केन्द्रको सत्ता ढाल्न गरेको प्रयास एमालेकै चार सांसदले 'फ्लोर क्रस' गरेर असफल पारिदिए । लुम्बिनीमा पनि शंकर पोखरेलको सरकार जसपाका चार सांसदलाई मन्त्री पद पुरस्कार स्वरुप दिएर थमाइएको छ ।
सत्तामा पुग्ने र सत्ता जोगाउने रस्साकस्सीले जनताको कोरोना महामारीविरुद्धको संघर्ष फिक्का हुने खतरा उत्पन्न भएको छ । संक्रमितको संख्या दैनिक तीव्र रुपमा बढिरहेको छ भने बिरामीको उपचारमा बेड र अक्सिजनजस्ता सामग्रीको माग बढिरहेको छ । तर केन्द्रदेखि प्रदेशसम्मका सरकार भने निषेधाज्ञा लगाएर, जनताका गतिविधि नियन्त्रण गरेर आफू सत्ताको कुरुप खेलमा केन्द्रित भइरहेका छन् । अर्थात् सरकार र राजनीतिक दलका जिम्मेवारी एकातिर, काम अर्कोतिर भइरहेको छ ।
संसद विघटन गर्ने प्रधानमन्त्रीको असंवैधानिक कदमबाट सुरु भएको सत्ताको घृणित खेल अहिले प्रदेशभरी फैलिएको छ । ओली पक्षका कर्णालीका नेता यामलाल कँडेलले नेकपा एकै पार्टी हुँदा नै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर सुरु गरेको डढेलो सबै प्रदेशमा सल्केको छ । तर त्यसबेला सफल हुन सकेनन् । त्यसपछि यसै महिनाको सुरुमा पनि दोस्रो प्रयास गरेका थिए । सत्ताको खेलमा डेढ दर्जनभन्दा बढी जननिर्वाचित एमाले र माओवादी केन्द्रका सांसदले पद गुमाइसकेका छन् ।
अलग पार्टीतिर लागेर सांसद पद गुमाएकाको भागमा मन्त्री पद सहजै उपहार रुपमा पाउने परम्परा संस्थागत भएको छ । नेता र दलका नेताहरु सत्ता स्वार्थका लागि दौडिरहँदा कोरोनाका कारण जनजीवन भने विस्तारै ठप्प बन्दै गएको छ । मंगलबार ४ हजार ५२४ जना संक्रमित थपिएका छन् भने १८ जनाको मृत्यु भएको छ । संक्रमण निको हुने क्रम भने संक्रमितको तुलनामा कम छ । मंगलबार ५५५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा गत वर्ष कार्तिक ५ गते सर्वाधिक संख्यामा ५ हजार ७४३ जनामा संक्रमण पुष्टि भएको थियो भने कात्तिक १९ गते सर्वाधिक ३० जनाको मृत्यु भएको थियो ।
हाल मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके र रूपन्देही गरी १० जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन् । यी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा लगाएर सरकार चुप लागेर सुत्छ या महामारी नियन्त्रणका लागि अत्यावश्यक तयारी पूरा गरेर छिटोभन्दा छिटो महामारी नियन्त्रण गरी सर्वसाधारणको जीवन सहज बनाउने जिम्मेवारीमा फर्किन्छ, त्यो हेर्न केही समय पर्खिनुपर्नेछ ।