ग्रामीण भेगमा विद्युतीकरण गर्दै तनहुँ जलविद्युत् आयोजना

ग्रामीण भेगमा विद्युतीकरण गर्दै तनहुँ जलविद्युत् आयोजना

लोकसंवाद संवाददाता  |  समाज  |  बैशाख १५, २०७८

दमौली ।  हालसम्म विद्युत् सुविधा नपुगेको तनहुँका ग्रामीण भेगमा तनहुँ जलविद्युत् आयोजनामार्फत विद्युतीकरणको काम अगाडि बढेको छ । विद्युत् सेवा नपुगेका तनहुँका विभिन्न ठाउँमा आयोजनामार्फत विद्युतीकरणको काम अगाडि बढेको हो । 

आयोजनामार्फत जिल्लाका घिरिङ, ऋषिङ गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी र देवघाट गाउँपालिकाका विद्युत् नपुगेका घरधुरीमा विद्युतीकरण गरिने इन्जिनीयर लक्ष्मण रेग्मीले जानकारी दिनुभयो । 

तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँमा विद्युतीकरण गर्न प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजना कार्यान्वयन गर्न इष्ट इन्डिया उद्योग÷वाइवा इन्फ्राटेक जेभीसँग विसं २०७५ मङ्सिर १३ गते ठेक्का सम्झौता भएको थियो । 

ठेक्का सम्झौताको रकम अमेरिकी डलर ६१ लाख ५३ हजार अमेरिकी डलर र १४ करोड ८८ लाख रहेको छ । ठेकेदार कम्पनीले विद्युतीकरण नभएका क्षेत्रको पहिचान गरी सर्भे तथा डिजाइन सम्पन्न गरिसकेको छ । कम्पनीले ३३/११ केभी वितरण लाइन निर्माण गर्नेछ । 

विद्युतीकरणका लागि घिरिङ गाउँपालिका–४ कोटसाभुङ र बन्दीपुर गाउँपालिका–६ साराङघाटमा सबस्टेशन निर्माणको काम भइरहेको छ । तनहुँ जलविद्युत् आयोजनामार्फत जिल्लाका आठ हजार घरधुरीमा विद्युतीकरण गरिनेछ । 

ती घरधुरीमा विद्युतीकरणका लागि रु ८८ करोड बजेट खर्च हुनेछ । “६÷८ एमभिए क्षमताको दुईवटा सबस्टेशन निर्माणाधीन अवस्थामा छ, असार मसान्तभित्र काम सम्पन्न गर्ने भनिए पनि विविध कारणले काममा ढिलाइ भयो”, उहाँले भन्नुभयो । 

उक्त आयोजनामार्फत केही दिन अगाडि बन्दीपुर गाउँपालिका–६ को खहरे, ढाप, थुमथुमे तथा व्यास नगरपालिका–१४ को मास्दीघाट, सुढे रिजाल्दीको ११५ घरमा बत्ती बलेको छ । बत्ती बलेसँगै उक्त ठाउँ अन्धकारमुक्त भएका छन् । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले उक्त वडामा बत्ती बलेसँगै गाउँपालिकाका सबै घरधुरीमा विद्युत् पहुँच पुगेको जानकारी दिनुभयो । 

आयोजनामार्फत नै देवघाट गाउँपालिका–१ मा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगिसकेको छ । देवघाट गाउँपालिका–५ स्थित देवपुरबाट ११ केभी लाइनमार्फत कालीटार, कोटा र गोपीटारमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको हो । त्यस क्षेत्रमा पहिले लघु जलविद्युत्मार्फत विद्युत् आपूर्ति भइरहेको थियो । 

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि जग्गा अधिग्रहणको काम पनि अगाडि बढिसकेको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गतको २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि आयोजनाले तनहुँतर्फको जग्गा अधिग्रहणको काम अगाडि बढाएको हो ।