विद्युत् डिमान्ड शुल्कमा उद्योगहरूले पाए सवा २ अर्ब छूट

विद्युत् डिमान्ड शुल्कमा उद्योगहरूले पाए सवा २ अर्ब छूट

लोकसंवाद संवाददाता  |  कारोबार  |  बैशाख १६, २०७८

काठमाडौं । उत्पादनमूलक उद्योगहरूले बन्दाबन्दी अवधिको विद्युत् डिमान्ड शुल्कमा २ अर्ब २५ करोड बराबरको छूट पाएका छन् । सरकारले ५८ प्रकारका उत्पादनमूलक उद्योगहरूलाई बन्दाबन्दी अवधि ( २०७६ चैत ११ गतेदेखि २०७७ असार मसान्तसम्म) को विद्युत् डिमान्ड शुल्क छूट दिने निर्णय गरेको थियो । सोहीअनुसार ती उद्योगहरूले छूट पाएका हुन् ।

नेपाल विद्युत् प्राधिकरणबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले डिमान्ड शुल्क छूटबापत लक्षित उद्योगहरूले त्यस बराबर रकम छूट पाएको बताउनुभयो । । ‘यस सम्बन्धमा पहिले नै निर्णय भए पनि कति रकम बराबरको छूट दिनुपर्छ भनेर यकिन भइसकेको थिएन ।

सबै वितरण केन्द्रहरूबाट तोकिएको मापदण्डभित्र पर्ने औद्योगिक ग्राहकहरूको पहिचान गरी उनीहरूबाट आवश्यक विवरण संकलन  गरिएको छ । प्राप्त विवरणका आधारमा उद्योगहरूले डिमान्ड शुल्कमा कुल  २ अर्ब २५ करोडको हाराहारीमा छूट पाएको देखियो ।

सम्बद्ध उद्योगहरूले पाएको छूट रकमलाई समायोजन गर्ने काम पनि शुरू गरिएको शाक्यको भनाइ छ । हामीले पहिला सम्बद्ध उद्योगहरूलाई यसबापतको पनि महसुल भुक्तानी गर्नु भनेर बिलिङ गरेका थियौं । अहिले भने डिमान्ड शुल्कमा गरिएको छूटबापतको रकमलाई समायोजन गरेर खुद महसुल रकम मात्र तिर्ने उद्योगहरूलाई बिल पठाउँदै आएका शाक्यले बताउनुभयो ।  उहाँका अनुसार उद्योगहरूको महशुलमा २५ प्रतिशत अंश डिमान्ड शुल्कको नै हुनेछ ।

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।