अन्ततः जनमोर्चा पनि सत्ताको चास्नीमा: 'नेगेटिभ' रिपोर्ट आएका सांसद आइसियुमा !

अन्ततः जनमोर्चा पनि सत्ताको चास्नीमा: 'नेगेटिभ' रिपोर्ट आएका सांसद आइसियुमा !

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १६, २०७८

काठमाडौँ । मङ्गलवार गण्डकी प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफलका लागि प्रदेशसभाको बैठक बस्नेवित्तिकै सत्तारुढ एमालेकै सांसदले कोरोना परीक्षणको माग गर्दै अवरुद्ध  गरे।

एमाले सांसदले कोरोना परीक्षणको बहानामा गरेको संसद् अवरोधलाई धेरैले अनौठो रुपमा लिएका थियो । किनकि उनीहरूको  चिन्ता रोगको त्रासमा भन्दा सत्ता गुम्न लागेको डर बढी थियो। त्यसमाथि पनि कोरोना सङ्क्रमितले समयमा परीक्षण र उपचारका लागि बेड र स्वास्थ्य सेवा समेत नपाएर ज्यान गुमाउने अवस्था सिर्जना भइरहेको बेला सांसदहरूको यो माग स्वार्थ केन्द्रित देखिएकै थियो । 

एमाले सांसदले कोरोना परीक्षण मागको भेद त्यत्तिखेर खुल्यो 'नेगेटिभ' रिपोर्ट आएका सांसद आइसियुमा  भेटिएपछि । यसरी परीक्षण गरेर कोरोना रिपोर्ट ‘नेगेटिभ’ आउने एक जना सांसद थिए राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा उनको बुधवार बिहान ७ बजेर २० मिनेटमा नेगेटिभ रिपोर्ट आएको छ । तर उनै शाहीको लाइफ केयर डायग्नोसिसमा गरेको परीक्षणको रिपोर्ट त्यसको १० मिनेट पछि अर्थात् ७ बजेर ३० मिनेटमा आएको छ । जसमा रिपोर्ट 'पोजेटिभ' छ । यद्यपि महामारीका रुपमा फैलिएको कोरोना ३ जना सांसद र एक कर्मचारीमा पुष्टि समेत भयो।

अझै पनि जनमोर्चाले जता सहयोग गर्‍यो, उसैको बहुमत पुग्ने निश्चित छ । तर, सत्ता राजनीतिमा खेलको दूषित खेल भने मेटिनेछैन। अन्ततः आदर्शको राजनीति गरेको भनिएको जनमोर्चा समेत सत्ताको चास्नीमा डुबेको आरोप लागेको छ । यद्यपि  जनमोर्चा नेपालले आफ्नो सांसद अपहरण गरी हत्या गर्न खोजेको आरोप लगाएको छ ।

काँग्रेस, माओवादी केन्द्र र जसपाले ल्याएको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमा ३ सांसद रहेको जनमोर्चा निर्णायक भूमिकामा रहेको थियो । त्यसैले सांसद शाही संसद्मा अनुपस्थित भएपछि हङ्गामा भएको छ । उनको अनुपस्थितिले अविश्वासको प्रस्तावमाथिको मतदानमा अङ्कगणित परिवर्तन भयो । सांसद शाही मोबाइल नै अफ गरेर बेपत्ता भएपछि उनको अवस्था सार्वजनिक गर्नुपर्ने, ज्यानको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने भन्दै सचेतक पियारी थापाले निवेदन दिएपछि अन्ततः प्रदेशसभा नै अनिश्चित कालका लागि स्थगित हुन पुग्यो । 

 उनी चरक अस्पतालमा उपचारका लागि भर्ना भएको अवस्थामा भेटिएका थिए । तर १० मिनेटको अन्तरमा आएका दुई रिपोर्ट र रिपोर्ट आएको केही घण्टाभित्रै सांसदको कोभिड वार्डको आइसियुमा नै उपचार हुनुले आशङ्का उब्जाएको छ । यो प्रकरणले सांसद शाहीसहित सत्ता जोगाउन मुख्यमन्त्री गुरुङ र एमालेको नैतिकताको प्रश्न उठेको छ ।

संसदीय राजनीतिमा कति घृणित खेल हुन्छन् र राजनीतिक व्यवस्थामाथि नै प्रश्न उठाउँछन् भनेर हेर्न यति बेला गण्डकी प्रदेशलाई हेरे पुग्ने भएको छ । यो घटनाले मुख्यमन्त्री गुरुङको सत्ताको आयु केही समय लम्बिएको छ र संसदीय राजनीतिको फोहोरी खेलभित्र अविश्वासको प्रस्ताव असफल पार्न सांसद आफ्नो पक्षमा पार्ने समय प्राप्त भएको छ ।  उनको पद पूर्ण रुपमा सुरक्षित भएको छैन । ६० सदस्यीय प्रदेशसभामा काँग्रेसका १५ र माओवादीका सभामुखबाहेक ११ जना, जसपाका २ जना गरी २९ सांसद छन्।

जनमोर्चाले मतदान जता गर्‍यो त्यही बहुमत पुग्ने अवस्था छ । बुधवार जनमोर्चाका सांसद नभएको अवस्थामा मतदान भएको भए अविश्वासको प्रस्ताव असफल हुने अवस्था थियो । त्यसैबेला सभामुखले बैठक नै जनमोर्चाको निवेदनका आधारमा स्थगित गरे। अझै पनि जनमोर्चाले जता सहयोग गर्‍यो, उसैको बहुमत पुग्ने निश्चित छ । तर, सत्ता राजनीतिमा खेलको दूषित खेल भने मेटिनेछैन। अन्ततः आदर्शको राजनीति गरेको भनिएको जनमोर्चा समेत सत्ताको चास्नीमा डुबेको आरोप लागेको छ । यद्यपि  जनमोर्चा नेपालले आफ्नो सांसद अपहरण गरी हत्या गर्न खोजेको आरोप लगाएको छ