विगत एक दशक नेपालको न्यायपालिकाको ‘ब्रेक चुँडाल्ने’ गम्भीर षड्यन्त्रहरु
बैशाख १६, २०७८

नेपाली न्यायप्रणालीको मर्मबोध गराउने कृति ‘कृति’ लेख्ने काम सजिलो होइन/ हुँदैन । ‘कृति’ शब्दको त मानमर्दन पनि भइसकेको छ । त्यसैले ‘पुस्तक’ भनौं, यसपछि । ‘अनुभव र तथ्य’ को सङ्गम भएका पुस्तकले ज्ञानको निर्माण गर्दछन्, कसैलाई कुनै ज्ञान मन पर्न वा नपर्न सक्तछ । तर ‘तथ्य र सत्य’ कसैका अधीनमा हुँदैनन् । मानिसले जीवनमा अनेक कुराहरु भोग्दछ ।

ती भोगाइहरु आत्मिक अनुभूतिमा मात्र सीमित रहे भने मानिसका निजात्मक मान्यतामा सीमित रहन्छन् । तर मानिसले आफ्नो भोगाइलाई जगत्का यथार्थतासँग जोडेर विश्लेषण गर्‍यो भने त्यसबाट विश्लेषण र विमर्शहरु सिर्जना हुन्छन् । त्यस्ता विश्लेषणहरु निजात्मक हुँदैनन् । प्राचीन रोमन साम्राज्यमा एकजना चिकित्सक थिए–गालेन नाम गरेका । उनी अरु चिकित्सकलाई गाली गर्थे र भन्थे ‘व्यवहारमा ज्ञानको प्रयोग नगरी मनोगत विश्लेषण गर्ने कार्य जडवादी सोच हो।’ ज्ञानको पुष्टि व्यवहारमा हुनुपर्छ । तेस्रो र चौथो शताब्दीमा रोममा ‘क्रिस्चियन धर्मावलम्बी’ र व्यवहारवादी पागान (प्रकृति पुजकहरु) का बिचमा सङ्घर्षको युग थियो । क्रिस्चियनहरुले मानिसको जीवन र जगत् दुवै ‘प्रभु’को इच्छा र चाहना अनुसार चलेको छ; भगवान् एकजना मात्र छन् त्यसैले मन्दिरमा पूजा गर्ने सबै सैतानबाट प्रभावित छन् र त्यसो गर्नु भगवान्को अपमान हो भनी पागान मूर्तिहरु तोडफोड गरे ।

त्यसै समयमा रोमका सेल्सस नामका दार्शनिकले ‘तथ्यभन्दा बाहिरको ज्ञानलाई ज्ञान भन्न सकिन्न, ज्ञान प्रमाणित हुनुपर्छ’ भनी दाबी गरे । भलै, सेल्ससको पुस्तक क्रिस्चियनहरुले जलाए । अहिले युरोपियन इतिहासकारहरु भन्छन्, सेल्ससका पुस्तकमा लेखिएका तर्कलाई विज्ञानले प्रमाणित गरेको छ । प्रोफेरी अर्का दार्शनिक थिए । उनले पनि क्रिस्चियन आत्मवादको आलोचना गरे । त्यसैगरी लुसिएनले पनि तथ्यको सहारा लिए ।

अनि ग्रिक दार्शनिकले भने ‘जगत्को निर्माण अणुहरुको योगबाट बनेको छ ।’ यी सबै पुस्तकहरु जलाइए । सेन्ट अगस्टाइनले भने– ‘ती सबै भगवानका विरुद्ध रचिएका सैतानी रचना हुन् ।’ रोमनकालको ९९ प्रतिशत ज्ञान क्रिस्चियन अन्धवादले समाप्त पार्‍यो भनी क्याथरिन निक्सेले आफ्नो पुस्तक ‘डार्केनिङ्ग एज’ मा लेखेकी छन् । परिणामस्वरुप युरोप करिब १२ सय वर्ष अन्धकारको युगमा बाँच्यो । गार्सो रोमन ज्ञानको पुनर्निर्माण १६औँ शताब्दीबाट सुरु भयो र युरोपले विज्ञानको उत्खनन गर्न सक्यो । गार्सो रोमन ज्ञानको स्रोत पूर्वीय सभ्यता थियो ।

न्यायाधीशमाथि होइन ‘आफ्नै स्वतन्त्रतामाथि’ प्रहार भयो भनी बुझ्नु आवश्यक छ । आफ्नो ढोकाको चुक्कुल भाँचेर दैलोलाई सजाय गर्ने परिपाटीले चुक्कुल भाँच्नेको स्वतन्त्रता असुरक्षित हुन्छ भन्ने बुझ्न नेपालमा अल्पज्ञानले बाधा पारिरहेको छ । जब अल्पज्ञान स्वार्थसँग गाँसिन्छ नैतिकता मर्दछ । त्यसैले रोमन दार्शनिकहरुले ‘जडवाद र निरङ्कुशताको’ विरोध गर्नुलाई बौद्धिक चेतना हो भन्ने गर्थे ।

त्यसताका न्याय दर्शन, वैशेषिका दर्शन तथा साङ्ख्य दर्शन जस्ता दर्शनहरु लेखिएका थिए पूर्वमा । बुद्धको मध्यम मार्ग र कारण परिणामका सिद्धान्तका दर्शन पनि स्थापित भइसकेका थिए । न्याय दर्शनमा ऋषि गौतमले प्रकटित तथ्यलाई हेरेर अप्रकटित तथ्यको उद्घाटन गर्ने ‘अनुमान’ सिद्धान्तको विकास गरे, जसलाई ‘अन्विझिकी’ भनिन्छ । तर २०० वर्ष लामो उपनिवेशी शासनले एसियाको ज्ञान प्रणाली नष्ट गर्न नसके पनि धुलोमुनि गाडिदियो ।

अहिले हामी कताकता अन्धकारको युगमा छौं । न्यायपालिकाले न्याय गर्दछ । तर ‘न्याय’ उचित र न्यायिक मर्मयुक्त आदेश नरहेर ‘व्यवसाय’ बनेपछि न्यायपालिकाले न्याय कसरी गर्दछ ? न्यायाधीशको पद जागिर भएपछि मानिस कसरी न्यायाधीश हुन्छ ? यी प्रश्नहरु नेपालमा सर्वाधिक छलफलका विषयका रुपमा उठेका छन् । अर्थात् न्यायको क्षेत्रमा मानिसका आशङ्काहरु छन् । यी आशङ्काहरुको निर्माण गर्न २०४८ सालपछि नियुक्त सबै न्यायाधीशहरु जबाफदेही छन् । अझ प्रधान न्यायाधीशहरुको त समस्यालाई विश्लेषण गरी जनसमक्ष ल्याउने कर्तव्य नै हो भन्न सकिन्छ । तर २०४८ सालदेखि अहिलेसम्म सेवा निवृत्त भएका न्यायाधीश तथा प्रधान न्यायाधीशज्यूहरुमध्ये अत्यन्त थोरैले मात्र आफ्ना अनुभवहरु सर्वसामान्य जनताका अगाडि ल्याउनुभएको छ ।

त्यति धेरै सङ्ख्यामा न्यायाधीश तथा प्रधान न्यायाधीश हुनु तर यति थोरै पुस्तकहरु उहाँहरुबाट आउनु आफैँमा एउटा विडम्बना हो । भारतमा यस्ता सयौँ पुस्तकहरु प्रकाशित भएका छन् जसबाट न्यायपालिकाले निर्माण गरेको कानूनशास्त्रको एउटा आयाम निर्माण भएको छ । अन्य पश्चिमी देशका न्यायाधीश तथा प्रधान न्यायाधीशको त कुरै नगरौँ । उनीहरुले पुस्तक मात्र लेखेनन्, विश्वविद्यालयमा गएर आफ्ना विचारहरु राख्ने र पुस्तकका बारेमा गरिने समालोचनाहरु सुन्ने र छलफल गर्ने परम्परा पनि बसाए ।

यस बौद्धिक न्यायिक संस्कृतिले न्यायको स्तर विकसित गर्न र जनतामा न्यायपालिकाको भरोसा निर्माण गर्नमा पनि भूमिका खेल्यो । नेपालमा विद्वता र विमर्शको खेती पातलो छ; प्याँखर जमिनमा लगाएको मकै बाली जस्तै । पुस्तक लेख्नु भनेको त झनै कठिन कार्य मानिन्छ । यस किसिमको खडेरीमा पूर्व प्रधान न्यायाधीश गोपाल पराजुलीले ‘संयोगका पानाहरु’ नामक प्रस्तुत कृति प्रकाशनमा ल्याउनुभएको छ ।

सर्वप्रथम उहाँलाई असीम धन्यवाद ज्ञापन गर्न चाहन्छु र बधाई पनि अर्पण गर्दछु । यस पुस्तकले न्यायपालिका र न्यायभित्रका तरङ्गहरु र अन्तरङ्गहरु बुझ्न सबैलाई सहयोग गर्ने छ भनी विश्वास राखेको छु । प्रस्तुत पुस्तकमा पाँच परिच्छेद र परिशिष्टहरु समावेश रहेका छन् । ५४८ पृष्ठको यो पुस्तक पढिसकेपछि मैले थाहा नपाएका थुप्रै कुराहरु रहेछन् भन्ने अनुभूति भयो ।

जब मानिसले यथार्थताका आधारमा दृष्टिकोण बनाउँदैन उसले भ्रमको सिकार हुनुको विकल्प पनि छैन । पूर्वीय सभ्यतामा स्थापित एउटा मान्यता छ; त्यो हो– मानिस त एउटै हुन्छ तर अरुका दृष्टिकोणले मानिसलाई भिन्न भिन्न व्यक्तित्वमा विभाजित गर्दछ । नेपाली समाजको वर्तमान चरित्रलाई हेर्दा तेस्रो र चौथो शताब्दीको रोमन समाजको छायाँ  दिमागभित्र उजागर हुन्छ । त्यसताकाका एकजना विद्वान्ले भनेका थिए, अल्पज्ञान सबैभन्दा डरलाग्दो रोग हो । त्यतिबेलाको रोमन समाज अल्पज्ञानको सिकार भयो ।

नेपालको अहिलेको अवस्था त्यही हो । नितान्त निजी स्वार्थका कारणले कसले कसलाई कहिले आक्रमण गर्दछ थाहा छैन । नेपालमा आफूलाई बनाउने होइन, अरुलाई भत्काउने संस्कृति मौलाएको छ । यो निकै ठूलो र डरलाग्दो रोग हो । यस रोगको सिकार न्यायपालिका पनि बनेको छ । यस पुस्तकमा यी गम्भीर समस्याहरुका बारेमा चर्चाहरु उठेका छन् । पुस्तकका सबै पक्षमा चर्चा गर्न यहाँ सम्भव छैन तर लेखकले उठाउन खोजेका केही विशेष पक्षका बारेमा चर्चा नगर्नु अन्याय हुन्छ ।

पुस्तकमा लेखकले आफ्नो र परिवारको विगतलाई सटिक ढङ्गले राख्नुभएको छ । आफ्नो जन्मथलो र आफनो हुर्काइका बारेमा एउटा छोटोमिठो इतिहास लिपिबद्ध भएको छ । पण्डित पिताका संस्कार उहाँले ग्रहण गरेको कथा रोचक छ । थोरैले आमाका बारेमा चर्चा गर्छन् ज्ञानप्राप्तिका कुरामा । लेखकले आफ्नी माताको सन्दर्भलाई यस्तो रोचकतापूर्वक राख्नुभएको छ जसले एकपल्ट हरेक पाठकलाई आमाका गुन्युको सप्को समातेर पछाडि हिँडिरहेको अनुभूति गराउँछ । मैले थोरै जनाबाट सुनेको छु, आमाको शिक्षामा हुर्किएका मानिसले अर्कामाथि कुभलो गर्दैन ।

समाजमा आमाहरुको मानिसलाई विवेकशील बनाउने भूमिकालाई प्राथमिकताका साथ उल्लेख गर्नुभएकामा लेखकलाई धन्यवाद दिनै पर्छ । नेपाली समाज न्यायिक पद्धतिबाट शिक्षित समाज थियो । धेरै थोरै समाजमा मानिसका दैनिक व्यवहारमा न्यायिक सिद्धान्तहरु सिञ्चित भएको पाइन्छ । नेपालको विगत समाज मानिसको विवेक न्यायका सिद्धान्तद्वारा निर्माण गर्ने समाज हो । लेखकका पिताले उच्चारण गरेका वाक्यहरु मैले पनि मेरा पिताबाट सुनेको थिएँ । नेपाली समाजमा मातापिताले छोराछोरीको विवेक कसरी गर्ने गर्थे भन्ने कुरा वर्तमान जताततै चर्किएको सांस्कृतिक वितण्डाको सिकार भएको हाम्रो समाजले यस पुस्तकबाट सिक्न सक्ने छ । 

त्यसका अतिरिक्त पुस्तकले वर्तमान नेपाली समाजले लिपिबद्ध गर्न नसकेको नेपालको न्यायिक र कानूनी परम्परालाई व्यक्तिगत अनुभूतिका माध्यमबाट राम्रोसँग अगाडि राखिदिएको छ । नेपालका समकालीन युवाहरुले परिच्छेद १ को अध्याय ४ पढिदिए हुन्थ्यो भन्ने लागेको छ । अघिल्लो पुस्ताले शिक्षाका लागि गरेको सङ्घर्ष र त्यसका लागि गाउँका जनताले गरेको लगावको लगानीको इतिहासलाई हृदयङ्गम गर्न सके नेपालले शिक्षाको विकासमा नयाँ आयाम निर्माण गर्न सक्थ्यो । लेखकले म दार्जिलिङ्ग, देहरादुन पढेको भनी नढाँट्नु र राइटर बाजेले पढाएको हुँ भनी लेख्ने इमानदारी देखाउनुभएको छ, जसले उहाँको बनावटीरहित सरल छविलाई प्रस्ट पारेको छ ।

लेखकले विद्यार्थीहरुको २०३६ सालको आन्दोलनका बारेमा पनि उल्लेख गर्नुभएको छ । २०३६ सालको विद्यार्थी आन्दोलन अहिले धेरैलाई सम्झनामा आउँदैन । उहाँलाई प्रहरीले पक्रियो । त्यसबेला नेपाल ल क्याम्पसबाट पक्राउ पर्नेमध्ये लेखक र सूर्य सुवेदी हुनुहुन्थ्यो । म आफैँ पनि पक्राउ परी भद्रगोलमा राखिएको थिएँ । जुल्फिकर अलि भुट्टोलाई मृत्युदण्ड दिएको घटनालाई लिएर ल क्याम्पसमा बिहान अचानक भुइँतलाको हलमा कार्यक्रम भयो । एकजना विद्यार्थीले सशक्ततापूर्वक विचार राख्नुभयो । त्यो विद्यार्थी लेखक हुनुहुन्थ्यो । भित्र कार्यक्रम सकिएपछि पुतलीसडक बागबजार हुँदै विरोध प्रदर्शन गर्ने भनी मृत्युदण्डका विरुद्धमा नारा लगाउँदै विद्यार्थीहरु बाटोमा निस्किए । करिब बिहान ९ः३० को समय थियो । यस प्रदर्शनको नेतृत्व लेखकले गर्नुभएको थियो । बागबजार रत्नपार्क चोकको रातो घरमा मण्डले विद्यार्थी कार्यालय थियो । गुण्डाहरुले तत्काल विद्यार्थीहरुमाथि आक्रमण गरे । त्यहाँ लेखकले पनि पिटाइ खानुभयो । मैले पनि राम्रै सँग पाएँ । त्यहाँबाट भागेका विद्यार्थीहरु त्रिचन्द्र क्याम्पस पसे । आक्रमणको विरुद्धमा सभा भयो । त्रिचन्द्रका नन्द कन्दङ्वासमेतले बोलेका थिए । त्यहाँ पनि मण्डलेहरुले आक्रमण गरे । हल्ला फैलियो । अस्कल क्याम्पसमा विद्यार्थी सभा भयो । त्यस आन्दोलनले अगाडि बढ्दै गई जनमत सङ्ग्रह ल्यायो र २०४६ सालको बाटो समात्यो ।

धेरै मानिसहरु आज नेता, न्यायाधीश, विज्ञ हुने थिएनन् यदि ल क्याम्पसमा भुट्टोको फाँसीविरुद्धको सभा नभएको भए । नेपालको लोकतन्त्रको आगो त्यसदिन झोस्नेमध्येका एकजना लेखक हुनुहुन्थ्यो । पुस्तकले यस लोकतन्त्रका पृष्ठभूमिभित्रका कतिपय नलेखिएका इतिहासजन्य कुराहरुलाई लिपिबद्ध गरेको छ । तर लेखक राजनीतिमा जानुभएन । उहाँ वकालतमा प्रवेश गर्नुभयो ।

नेपालको कानून व्यवसायले लोकतन्त्र र मानव अधिकारको पक्षमा सधैँ सशक्त आवाज उठाएको परम्परा छ । २०३६ सालपछि केही समय राजनीतिक स्थिरता देखिए पनि नेपाली काङ्ग्रेसको सत्याग्रहले पुनः लोकतान्त्रिक आन्दोलनलाई सक्रिय पार्‍यो । लेखक फेरि जेल जानुभयो । कारागारमुक्त भएपछि उहाँ वकालतमै रहनुभयो । लेखकले नेपालको कानून व्यवसायमा इतिहास रचेका कतिपय व्यक्तित्वका बारेमा राम्रोसँग प्रकाश पार्नुभएको छ । उहाँले स्वर्गीय वरिष्ठ अधिवक्ता मुकुन्द रेग्मीको नेपाली परम्परागत भूमि कानूनका बारेमा रहेको दक्षता  एवम् विशेष ज्ञानका बारेमा जानकारी दिनुभएको छ । त्यो एउटा यथार्थ थियो, वास्तवमा ।

देवानी मुद्दामा बहस गर्ने मुकुन्दजीको कला र क्षमता अदम्य थियो । उहाँको बारेमा पुस्तकमा जानकारी संलग्न गरी पुस्तकलाई एउटा फरक विशेषता दिन सक्नुभएको छ । वि.सं. २०४० को दशकको कानून व्यवसायको अवस्था निश्चित थियो । वासुदेव ढुङ्गाना, शम्भुप्रसाद ज्ञवाली, कुसुम श्रेष्ठ र उहाँहरुका पनि माननीय कृष्ण भण्डारी जस्ता कानून व्यवसायीहरुको उपस्थितिले यो व्यवसाय मगमगाएको अवस्था एकातर्फ थियो भने, कानून व्यवसायको नाममा बालकका खाल निकाल्नेहरु पनि थिए । त्यो सङ्क्रमणकालको बारेमा पनि पुस्तकले राम्रोसँग प्रतिबिम्बित गरेको छ ।

अधिवक्ता कुलराज गुरु घरानाको सन्दर्भ, नेपाली कागजमा नलेखिएको वारेसनामा दरपीठ भएको सन्दर्भ, १००/१५० रुपैयाँ फिरादपत्र लेखेको शुल्कको सन्दर्भ, 'विना पान फुलके भी मुद्दा जिती हाँ '  भन्ने भनाइभित्र घुस नखुवाई मुद्दा जितिन्न भन्ने पक्षको मान्यताको सन्दर्भ, ऋणीले फायलै गायब गरेको सन्दर्भ आदि हाम्रो विगत हो । यसको जानकारी नयाँ पुस्तालाई हुनुपर्छ ।

म कानून शास्त्रको शिक्षकलाई यस्ता कुराहरुले बढी आकर्षित गर्छन् । मेरा लागि कानूनी इतिहासको जानकारी दिने पुस्तक पनि बन्न पुगेको छ, यो पुस्तक । पुस्तकको अर्को पक्ष लेखकका व्यक्तिगत जीवनका घटनाहरुसँग सम्बन्धित छ । उहाँले क्रूर घटनाहरुको सामना गर्नुभएको छ । वर्दघाटको मोटरसाइकल दुर्घटनापछि अरु शारीरिक मानसिक दुर्घटनाहरु उहाँले भोग्नुभएको छ । ती नमिठा कुरालाई नकोट्याउँ । व्यक्तिगत जीवनमा पारिवारिक घटनाहरु सबैका हुन्छन् । उहाँका पनि घटनाहरु थिए । तर कतिपय मानिसले ती घटनाहरुलाई उहाँका विरुद्ध अमानवीय ढङ्गले प्रयोग गर्ने क्रूरता गरेका छन् । त्यो राजनीतिक अश्लीलता हो ।

पुस्तकमा लेखकले ती सबै घटनालाई जस्ताको तस्तै राख्नुभएको छ । उनीहरुले यो पुस्तक पढेर आफ्नो विवेचना गर्नु राम्रै होला । पुस्तकको दोस्रो परिच्छेद लेखकको न्यायपालिकाको सेवासँग सम्बन्धित छ । उहाँका जन्ममितिका बारेमा प्रश्नहरु उठाइएका थिए, तर सर्वोच्च अदालतमा प्रवेश गरिसकेको निकै पछाडि मात्र । यसरी राजनीति (नेपालमा षड्यन्त्र शब्दको पर्याय भइसकेको छ)को गन्ध मात्र होइन लासै थियो भन्ने भने हुन्छ । २०४८ सालमा उहाँ पुनरावेदन अदालतमा न्यायाधीश नियुक्त हुनुभयो । त्यसबेला जन्म मितिको कुरा उठेन । तर सर्वोच्चमा उठ्यो । यस राजनीतिमा प्रहारको केन्द्र केवल गोपाल पराजुली होइन, सर्वोच्च अदालत थियो । विगत एक दशक नेपालको न्यायपालिकाको ‘ब्रेक चुँडाल्ने’ गम्भीर षड्यन्त्रहरु भए । एकपछि अर्को प्रहार न्यायपालिकामा गरियो । पुस्तकले यस राजनीतिका इतिवृत्तहरुलाई बाहिर ल्याइदिएको छ– छलफलका लागि । इतिहासको मूल्याङ्कन हुनैपर्छ ।

पुस्तकमा कानूनशास्त्रीय ढङ्गबाट छलफल गर्नुपर्ने थुप्रै सन्दर्भहरु छन् । जस्तो कि, एक समय थियो– राजस्व महाशाखाका निर्णय जुनसुकै पुनरावेदन अदालतको क्षेत्राधिकार–भित्र भए पनि पाटन पुनरावेदन अदालतमा पुनरावेदन दिनुपर्ने र जिउ मास्ने बेच्ने अपराधका मुद्दामा वारदात जहाँ भए पनि पाटन पुनरावेदन अदालतमा पुर्‍याउनुपर्ने जस्ता अव्यावहारिक कानून थिए ।

पाटन पुनरावेदन अदालतमा लेखककै इजलासले सम्बन्धित पुनरावेदन अदालतकै क्षेत्राधिकार कायम गर्ने गरी गरेको आदेशमाथि सर्वोच्च अदालतमा १७ नं. को निवेदन पर्दा, सर्वोच्च अदालतले पाटन पुनरावेदन अदालतको आदेश बदर गर्दा त्यसपछाडिको कानूनशास्त्रीय सिद्धान्त के हो ? पुस्तकले यस किसिमका हचुवा आदेशले न्यायपालिकामा पारेको प्रभावको विश्लेषण गरेको छ । बिन्तीपत्र र जाहेरी विभागका संयन्त्रभित्रका रोचक पक्षहरुलाई पुस्तकले केलाएको छ । विचौलियाहरुको जगजगी त न्यायपालिकामा संवत् २०५० को दशकताका पनि रहेछ ।

नेपाली कानूनका चोरी र डकैतीका बीचका जटिलता व्यवस्थापनले श्रमिकका मुद्दामा पुनरावेदन गर्न नपाउने कानूनी व्यवस्था, गुठीका व्यवस्था, आदि र मानिसले अर्ध सत्यको रुपमा बुझेको डी.बी.लामाको मुद्दा पुस्तकका रोचक पक्षका रुपमा रहेका छन् । यस पुस्तकमा धेरै विषयवस्तुहरु समावेश छन् । कानूनका क्षेत्रमा क्रियाशील मानिसले परिच्छेद २ बाट लाभ लिनसक्ने छन् । परिच्छेद ३ मा केही प्रतिनिधिमूलक अन्यायका घटनाहरु उल्लिखित छन् । मार्मिक छन् । गिटी कुटेर जीवनयापन गर्ने मानिस सालो भेट्न जाँदा उसलाई पनि जिउ मास्ने बेच्ने मुद्दामा हालिएको घटना समाजमा गरीबले भोग्ने गरेका नियति हुन् ।

कानून व्यवसायी न्यायको  पक्षमा उभिने व्यवसायी हुन् वा पक्षका स्वार्थमा आफ्नो स्वार्थ पनि गाँसेर वकालत गर्ने जीविकाकर्मी हुन् भन्ने प्रश्न यस परिच्छेदमा उठाइएको छ, र मार्मिक छ । कान्तिपुरको प्रवृत्ति पनि यस परिच्छेदमा चर्चा गरिएको छ । मिडियाको धर्मका बारेमा बृहत् चर्चा यसमा गरिएको छ । यस परिच्छेदमा उठेका थुप्रै प्रश्नहरुले न्यायपालिकाका बारेमा अझ थप बहसलाई अगाडि सारेका छन् । एउटा कठिन समय न्यायपालिकाले सामना गरेकै हो त्यस समयमा । त्यसको विश्लेषण आम जनताले गर्न पाउनै पर्छ । आस्था न्यायपालिकाप्रति बढ्नै पर्छ । त्यसैले तथ्यहरुमा खोजीनितीका ढोकाहरु खोल्नुलाई स्वाभाविक रुपमा लिनुपर्छ ।

परिच्छेद ४ ले केही राष्टिय सवालहरुलाई अगाडि सारेको छ । न्यायको कठघरामा उभिएका यी सवालहरु महङ्खवपूर्ण छन् । यी सवालहरुमाथि नयाँ पुस्ताले गम्भीर ध्यान दिनुपर्ने अवस्था छ । सबै भन्दा महङ्खवपूर्ण प्रश्न भने अदालतको स्वतन्त्रतासँग जोडिएको छ । राजनीतिको छायाँ कुनै रुपमा अदालतमा पर्नु हुँदैन । यस परिच्छेदमा लेखकले केही गम्भीर कानूनशास्त्रीय प्रश्नहरु अगाडि सार्नुभएको छ । यी प्रश्नमा आउने दिनमा बहस होस् भनी चाहना राखौँ ।

परिच्छेद ५ मा लेखकले आफ्ना मान्यताहरु अगाडि सार्नुभएको छ । यसबारेमा पाठकलाई प्रभावित नगरौं । पुस्तकमा मान्यताहरु, सिद्धान्तहरु, यथार्थताहरु र अनुभूतिहरु छरिएका छन् । मेरो भूमिका पूर्वआख्यान लेख्ने होइन । न्यायपालिकाका दिग्गज, मूर्धन्य एवम् सेवा निवृत्त व्यक्तित्वहरुले आफ्ना अनुभव लेख्ने परम्परा बस्न नसकेका कारणले नेपालको मौलिक कानूनशास्त्र विकास हुन सकेन । यस अर्थमा यस कृतिलाई स्वागत गर्नै पर्छ । कृतिहरुले बहस निर्माण गर्न मद्दत गर्दछन् । यस अर्थमा यो महङ्खवपूर्ण कृति हुनेछ ।

आउने दिनमा कृतिले उठाएका प्रश्नहरुमा मन्थन हुने नै छ । फैसला र मान्यताहरुमा बहस हुन्छन् । न्यायाधीशहरु न्यायपालिकामाथिको आस्था र अदालतको स्वतन्त्रताप्रति एकमुख हुने सहयोगीहरु हुन् । तर न्यायिक विचार र अवधारणामा उनीहरु प्रतिस्पर्धी विज्ञहरु हुन् । न्यायाधीशको मर्यादा अदालतको स्वतन्त्रतासँग पक्ष जोडिएको हुन्छ । कुनै न्यायाधीशले न्याय र अदालतका विरुद्ध कार्य गर्छ भने उसलाई कार्बाही गर्ने ‘महाअभियोग’ को अस्त्र छ ।

त्यसबाहेक कुनै पनि क्षेत्रबाट अदालतमा प्रहार भयो भने, वा कुनै न्यायाधीशको अपमान गरियो भने, त्यस न्यायाधीशमाथि होइन ‘आफ्नै स्वतन्त्रतामाथि’ प्रहार भयो भनी बुझ्नु आवश्यक छ । आफ्नो ढोकाको चुक्कुल भाँचेर दैलोलाई सजाय गर्ने परिपाटीले चुक्कुल भाँच्नेको स्वतन्त्रता असुरक्षित हुन्छ भन्ने बुझ्न नेपालमा अल्पज्ञानले बाधा पारिरहेको छ । जब अल्पज्ञान स्वार्थसँग गाँसिन्छ नैतिकता मर्दछ । त्यसैले रोमन दार्शनिकहरुले ‘जडवाद र निरङ्कुशताको’ विरोध गर्नुलाई बौद्धिक चेतना हो भन्ने गर्थे । यस किसिमको महङ्खवपूर्ण कृति प्रकाशनमा ल्याउनुभएकामा लेखकलाई पुनः बधाई दिन चाहन्छु । 

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीद्वारा लिखित संयोगका पानाहरू पुस्तकमा डाक्टर युवराज सङ्ग्रौलाले लेख्नुभएको भूमिकाबाट

 


प्राध्यापक, कानूनशास्त्र काठमाडौं स्कुल अफ