बूढो बाघ र खोर

बूढो बाघ र  खोर

सीताराम नेपाल  |  साहित्य  |  बैशाख १८, २०७८

सदाको लागि बिसाइसकेको
भुत्ते तरबारको आडमा
बाह्रबषन्त पहिलेको शर्त कुल्चदै
फेरि उल्टो कदम चालियो ।
प्रगति, अग्रगति र जनअधिकार मैले दिन्छु भन्दै
 प्रजातन्त्रको मूलढोकामा
जबर्जस्त फलामे बिर्को लगाइयो 
बिधान कुल्चेर ।
ठ्रयाक्कै बाह्रबर्षमा खोला उल्टो बग्यो
कही नभएको जात्रा फेरि नेपालगाउँमै देखियो ।
प्रजातन्त्र बिरोधिका लागि
बाह्रबर्षमा खोला फर्कियो ।
जनबलमा कुर्चीबाट फलिएका निरङ्कुश जुकाहरू
फेरि सलबलाए ।

.........          ...........

हजारौँको रक्तबुँद र पसिनाबाट निर्मित
साझा ढिकुटी –प्रजातन्त्रलाई
बाबुको बपौती ठान्ने ठालुहरू
जुर्मुराउदा दिउसै रात पर्‍यो ।
झलमल लागेको घाम छेकेर
औँसीको निस्पट्ट अँधेरी रात दिनदहाडै आउन थाल्यो ।
जमीनमुनि गाडिएका ढाडे जुम्राहरू 
सर्टपाइन्टमा टास्सिन थाले
प्रजातन्त्रको जिउ चिलाउन लाग्यो ।
........       .........

तीन दशकको पीडा चिर्दै
वीर सपुतहरूको सहादतको जगमा खडा हुदै
जनबलको हिमशीखरमा ठिङ्ग उभिएकी
नयाँ बिहानी
बहुदलका बहुलबादमा नाच्दा
केही चन्चल हुनु नौलो थिएन
केही उत्ताउलिनु अनौठो थिएन
त्यही बेलामा मौका ढुकी बसेका
तिरस्कारको रछ्यानमा फालिएका जुम्राहरू
डम्पिङ्ग साइडका कन्टेनरहरूमा
भित्रभित्रै जुटेछन् ।
प्राङ्गारिक मल बनाउदा
नयाँ कलेबरमा
नयाँ रूप, रङ्ग र भेषमा
सल्लाह गरी गरी
कोही लाखापाखा लागेझैँ गरेछन्
कोही सुस्ताएझैँ भएछन् 
कोही मयुरको प्वाँख भिरेर
प्रजातन्त्रभित्र छिरेछन् ।
.......              ........

कोखामा लुकाइ राखेको धारिलो कैची
कहाँ देखिन्छ सितिमिति
अमृतले मुख छोपिएको बिषको घैटो
कसरी चिन्नु र सोझो नियतकाले 
भेडाको छाला ओडेको ब्वाँसोलाई
कसरी चिन्नु र ?
यिनकै चित्ताकर्षक आलिङ्गनमा बेरिएर
यिनकै मोहजालमा परेर 
प्रजातन्त्रकै हातखुट्टा बाँध्दै गइएछ 
नाक, मुख, आँखा थुन्दै गइएछ ।
भोकले तड्पेर शिकारको खोजीमा बसेको बुढो बाग
प्रजातन्त्रको खोरबाट फुत्केर 
प्रजातन्त्रलाई नै झम्टेर घाइते पारेछ ।
घायल प्रजातन्त्रवादी जनसागर
सडकभरि बूढो बाघ खेद्दै छन् ।
दिनदिनै उर्लेको जनभेलले बूढो बाघलाई घेरी 
छिट्टै खोरमा जाक्नेछन् सदा सदाका लागि ।

रचना मिति २०५९ असोज १९