डा. सुरेन्द्र शेरचन : थकाली समुदायको मानसिक रोग विशेषज्ञदेखि इमर्जेन्सी सेवासम्म
बैशाख १८, २०७८

मुस्ताङको एउटा सामान्य थकाली परिवारको एक सदस्य अन्ततः नेपालको मानसिक स्वास्थ्यको क्षेत्रमा एउटा विशेषज्ञ नाम बन्नु आफैँमा ठुलो उपलब्धि हो । 

हुन त यसका लागि उहाँले पर्दा पछाडि गरेका दुख र सङ्घर्षको कथाले नै डा. सुरेन्द्र शेरचनलाई यो स्थानमा पुर्‍याएको हो ।  सङ्घर्ष र सफलताको एउटा अध्याय हो यो आलेख । 

पारिवारिक अवस्था

उहाँको परिवार सामान्य किसान परिवार हो । बुवा आमा कृषि तथा सामान्य उद्योग धन्दा गर्नुहुन्थ्यो । उहाँको थातथलो मुस्ताङ जिल्लाको दक्षिणी भाग हो । 

जन्म तथा बाल्यकाल

उहाँको जन्म २०१४ सालमा भएको हो । मुस्ताङको थाक खोला । गाविस भने लार्जुङ । उहाँको बाल्यकाल पनि अरु बालकको जस्तै खेल्दै, चकचक र रमाइलो गर्दै बितेको हो । 

प्रारम्भिक शिक्षा

उहाँको प्रारम्भिक शिक्षा भने मुस्ताङकै स्कुलमा भएको हो । पछि उहाँको अभिभावक बसाइसराइ बुटवल तथा लुम्बिनीमा भयो । बसाइ सराइसँगै स्कुल पनि परिवर्तन हुने नै भयो। भैरहवाबाट पश्चिम तथा लुम्बिनीबाट उत्तर सूर्यपुरमा पछि स्थायी बसोबास भयो । 

कक्षा पाँच सम्मको पढाई भने गाउँमै भएको हो उहाँको । बस्ने डेस्क बेन्च सामान्य नै थिए । कक्षामा झन्डै चालिस पचास जना हुन्थे । महिलाको सङ्ख्या एक तिहाइ हुन्थ्यो । फि तिरेको त्यति याद छैन उहाँलाई । शायद निःशुल्क नै थियो कि भन्नुहुन्छ उहाँ । 

छ कक्षादेखि आठ सम्मको अध्ययन भने बुटवलको जनता हाइस्कुलमा भएको हो उहाँको । मध्यमस्तरको नै थियो त्यो  स्कुल । विद्यार्थी चालिस पचास हुन्थे कक्षामा । महिलाको सहभागिता ठिकै थियो । फि सामान्य थियो । बस्न भने उहाँ अगाडिको बेन्चमा नै प्राय बस्नुहुन्थ्यो । 

पढाइ रामै थियो उहाँको । प्राय फस्ट सेकेन्ड हुनुहुन्थ्यो । यो श्रेय भने उहाँ आफ्नो आमालाई दिन चाहनुहुन्छ । कारण रहेछ आमाले उहाँलाई पढ्नका लागि जहिले पनि घचघच्याइ रहनु हुन्थ्यो । 

नौ र दश कक्षा भने उहाँ फर्पिङको त्रिभुवन आदर्श स्कुलमा पढ्नुभयो । काठमाडौँ पढ्न आई पुग्नुमा भने उहाँको मामा तथा अन्य आफन्त पनि यतै रहेको र राम्रो स्कुलमा पढ्नुपर्छ भन्ने मान्यताले काम गरेको रहेछ । 

हुन त उहाँले आनन्दकुटीमा पनि प्रवेश परीक्षा दिनु भएको हो । तर, नाम निस्किएन । त्यसबेला नाम चलेका अरु स्कुल पनि थिए । तर, उहाँको ठुलो मामाले लगेर उतै भर्ना गरिदिनु भयो । 

फर्पिङ पनि त्यसबेला राम्रै स्कुल मानिन्थ्यो । उता स्कुलमा फस्ट सेकेन्ड भए पनि यता आएपछि भने दश सम्ममा उहाँको नाम अटाउन थाल्यो । उहाँले २०३० सालमा एसएलसी दिनु भएको हो । करिब तीस जना थिए होलान् उहाँको ब्याचमा । धेरैको फस्ट डिभिजन आयो । उहाँ पनि त्यसमै पर्नुभयो । 

एसएलसी पछि उहाँ चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जमा सामान्य चिकित्सा अर्थात् हेल्थ असिस्टेन्टको कोर्स पढ्न थाल्नु भयो । तीन वर्ष पश्चात् २०३३ सालमा उहाँले मेरिट अङ्क सहित पास गर्नुभयो ।  एच ए सकाएपछि उहाँ सेती अञ्चलको मुवा नहर दहको हेल्थ पोस्टमा काम गर्नुभयो । झन्डै छ सात महिना । तलब त्यस्तै तीन चार सय थियो होला, उहाँ भन्नुहुन्छ । 

पहिलो तलब भने आमालाई ल्याएर दिनुभयो । पहिलो तलब खुसी लाग्नु स्वाभाविकै हो उहाँ भन्नुहुन्छ । त्यो पैसा लिएर उहाँ दसैँको बेलामा घर फर्कनु भएको थियो । भनेपछि त्यसले दिने खुसी अझ धेरै नै हुने नै भयो । 

पछि भने मुस्ताङको लेते हेल्थपोष्टमा काम गर्न थाल्नुभयो । तर, धेरै होइन केही महिना मात्रै । त्यसबेला उहाँको छात्रवृत्तिको काम सुरु भैसकेको थियो । पछि सबै कुरा मिलेपछि उहाँ चिकित्सा शास्त्रको थप अध्ययनका लागि रुस सरकारले नेपाल सरकारलाई दिएको छात्रवृत्तिमा पढ्न रुस जानुभयो । 

पढ्न रुस

रुसमा पुगेपछि सबैलाई विभिन्न ठाउँमा पठायो । उहाँ भने आर्मेनिया जानुभयो । प्रारम्भमा एक वर्ष भाषा तथा विज्ञानका आधारभूत कक्षा लिने काम भयो । 

बल्ल सुरु भयो चिकित्सा शास्त्रको अध्ययन । युक्रेनको खार्कोभ युनिभर्सिटी । उक्त युनिभर्सिटी रुसको तेस्रो नम्बरमा पर्दोरहेछ । उक्त युनिभर्सिटीमा चिकित्सा शास्त्र अध्ययन पश्चात् मानसिक रोग विशेषज्ञका लागि उहाँले थप दुईवर्ष उक्त युनिभर्सिटीमै पढ्नुभयो । 

मानसिक रोग पढ्नुका पछिको कारण भने यस्तो रहेछ उहाँको । उहाँ यो विषयमा रुचि राख्ने तथा चासो राख्ने गर्नुहुँदो रहेछ । 

त्यहाँ अर्का नपाली विश्व बन्धु शर्मा अध्ययन सकाएर मानसिक रोग पढ्ने तरखरमा हुनुहुँदो रहेछ । उहाँसँगको उठबस हेलमेल तथा रुचि साथै उहाँले बेला बेला कक्षाकोठामा पनि लिएर जानुहुँदो रहेछ । यी सबै कारण मिलेपछि पढ्नु भएको रहेछ मनोचिकित्सा उहाँले । 

उहाँ सन् १९८५ मा नेपाल फर्केर आउनुभयो । त्यसपछि फेरि पढ्नका लागि जानुभयो रुस नै । जहाँ उहाँले पहिले पढ्नु भएको थियो । पछि सन् १९८८ मा मानसिक रोग विशेषज्ञका रुपमा नेपाल फर्कनुभयो । उक्त डिग्रीलाई त्रिभुवन विश्वविद्यालयले एमडी सरहको मान्यता प्रदान गर्छ । 

फर्केर नेपाल

नेपाल फर्किएपछि उहाँले डा. ध्रुवमान श्रेष्ठले चलाउनु भएको दुर्व्यसनीको संस्थामा काम गर्नुभयो  । साथै मानसिक अस्पतालमा पनि काम गर्नुभयो । केही वर्ष यसरी काम गरिसकेपछि उहाँ विराटनगरको कोशी अञ्चल अस्पतालमा जानुभयो काम गर्न । उहाँले झन्डै पन्ध्र वर्ष कोशी अस्पतालमा काम गर्नुभयो ।

त्यसबेला काठमाडौँमा मानसिक रोग विशेषज्ञ एकदमै कम थिए । भने काठमाडौँ बाहिर त झन् हुने कुरै भएन । सरकारी स्तरमा मानसिक रोग विभागको सेवा उपलब्ध थिएन । केही डाक्टरहरूले आउटरिच क्लिनिकका रुपमा भने सञ्चालन गर्नुभएको थियो । 

उहाँ कोशी अस्पतालमा गएपछि नै सरकारी स्तरमा मानसिक सेवाको आधिकारिक शुरुवात भएको हो । ओपिडी तथा वार्ड सञ्चालन गर्न भने केही समय लाग्यो । विशेषज्ञका रुपमा पढेर आए पनि सरकारले भने मेडिकल अफिसरका रुपमा नियुक्ति दिने काम गथ्र्यो । 

उहाँ विराटनगरमा रहँदा काठमाडौँ बाहिर मानसिक रोग विभाग तथा ओपिडीको शुरुवात भयो भने त्यसबेला भुटानी शरणार्थीको चाप समेत रहेकोले उनीहरूको क्याम्पमा गएर सेवा दिने काम पनि गर्नुभयो । साथै मध्यम स्तरको जनशक्तिलाई मानसिक स्वास्थ्य सम्बन्धी तालिम दिने कार्यक्रमहरू पनि सञ्चालन गर्नुभयो । यो कालखण्डलाई उहाँ जीवनको महत्त्वपूर्ण कालखण्डको रुपमा लिनुहुन्छ जसले उहाँलाई स्थापित मात्रै गरेन मानसिक सेवा प्रदान गर्ने काममा पनि सक्रिय बनायो । 

प्रमुखका रुपमा कार्य 

त्यसपछि उहाँ २०६४ सालमा पाटनको मानसिक अस्पतालमा आउनुभयो काम गर्नका लागि । त्यसबेला प्रमुखको रुपमा डा. कपिल उपाध्याय हुनुहुन्थ्यो । केही समय पश्चात् उपाध्यायको कार्यकाल समाप्त भएपछि करिब दश वर्ष उहाँले पाटन अस्पतालको प्रमुखको रुपमा काम गर्नुभयो । 

उहाँले उक्त अवधिमा इमर्जेन्सी सेवा पनि सुरु गर्नुभयो । नत्र उक्त समयमा सरकारी सेवा अवधि दुई बजे पछि आएका बिरामीले सेवा नपाउने र कोही समस्याग्रस्त बिरामीलाई त रुखमा बाँधेर राख्नुपर्ने सम्मको अवस्था थियो । दुई बजे पछाडि सशुल्क रुपमा विस्तारित बहिरङ्ग सेवा सञ्चालन गर्ने काम पनि गर्नुभयो । यसले सेवामा गुणात्मक परिवर्तन ल्यायो । 

उहाँको कार्यकालमा पुराना ओपिडीका टहराहरू भत्काएर नयाँ आधुनिक भवन बनाउने काम पनि गर्नुभयो । उक्त मानसिक अस्पतालको परिसरमा जिल्ला जनस्वास्थ्य कार्यालय पनि थियो । करिब एक वर्षको अथक प्रयासपछि उक्त संस्थालाई त्यहाँबाट हटाए पछि बल्ल मानसिक अस्पतालले काम गर्नका लागि पर्याप्त स्थान पनि प्राप्त गर्‍यो ।

मानसिक अस्पताल सञ्चालन गर्दा आम्दानी खासै केही हुँदैन । र, सरकारको प्राथमिकतामा पनि पर्दैन । आफ्नो आवश्यकताका जनशक्ति राख्न पनि मन्त्रालयले पैसा नदिने हुँदा उहाँले नयाँ आधुनिक भवन बनाउँदा बाटोतिर फर्काएर व्यापारिक सटरहरू बनाउन लगाउनु भयो जसले गर्दा अस्पताल सञ्चालनका लागि ठुलो राहत मिल्यो । 

उहाँ सेवा निवृत्त हुँदा करिब करिब तीन करोडको श्रोत उपलब्ध गराएर उहाँ निस्कनु भएको हो । उहाँको निरन्तर प्रयास पछि एमडी साइक्याट्रीको पढाइ सुरु भएको हो लगनखेलमा । उहाँको कार्यकालमा तीन ब्याच मानसिक रोग विशेषज्ञहरू तयार  भए । पहिलोमा दुई जना, दोस्रोमा एक जना तथा तेस्रोमा दुई जना गरेर पाँच जना विद्यार्थी निस्किए । पहिलो पटक स्वास्थ्य मन्त्रालय अन्तर्गत सरकारी अस्पतालमा मानसिक रोग विशेषज्ञ उत्पादन गर्ने कार्य उहाँकै पालामा भयो । 

उहाँले भूकम्पको समयमा मानिसलाई मानसिक समस्या हुने हुँदा विभिन्न स्थानमा आउटरिच मार्फत नुवाकोट, धादिङ, जिरी, दोलखा तथा रामेछापमा पनि मानसिक सेवा प्रदान गर्ने काम पनि गर्नुभयो । 

विवाह

उहाँको विवाह २०४५ सालमा भएको हो । उहाँका दुई सन्तान एक छोरा अनि एक छोरी । छोरी कान्ति बाल अस्पतालमा मानसिक रोग विशेषज्ञको रुपमा कार्यरत हुनुहुन्छ । छोरा भने अस्ट्रेलियामा अध्ययन गर्दै हुनुहुन्छ । 

मानसिक रोगका सम्बन्धमा 

एक्काइसौँ शताब्दीमा नेपाल मात्र नभएर विश्वमै मानसिक रोग एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखा परेको छ । नेपालको सन्दर्भमा भन्नुपर्दा भने यहाँ अस्पताल पनि छन्, विशेषज्ञ सेवा पनि छ, मेडिकल कलेजमा पढाइ पनि भइराखेको छ, वार्डहरू पनि छन् । तर, यत्तिको महत्त्वपूर्ण र आधारभूत स्वास्थ्य सेवाका सन्दर्भमा एउटा बृहत्तर राष्ट्रिय नीति भने बन्नु जरुरी छ । जसलाई सामुदायिक मानसिक स्वास्थ्यको मोडालिटिका रुपमा विकसित गर्न सकिन्छ । जसका लागि धेरै लगानी पनि गर्नु पर्दैन तर, त्यसमा हामी चुकिरहेका छौँ । 

र, अर्को कुरा भनेको कानुन । मानसिक रोगीलाई देश तथा समाजले हेर्ने दृष्टिकोण तथा उनीहरूको मानव अधिकारका लागि पनि एउटा कानुन बन्नु जरुरी छ । धेरै देशमा यस्ता कानुन आइसकेका छन् । नेपालमा पनि यसमा होमवर्क भइरहे पनि काम भने हुन सकेको छैन जुन दुखद कुरा हो । 

अर्को भनेको नेशनल इन्स्टिच्युट अफ मेन्टल हेल्थ बनाउनु जरुरी छ । जसले कानुन देखि लिएर अन्य सेवा सुविधा तथा अध्ययन अनुसन्धानमा पनि मद्दत गर्छ ।