मेरो प्यारो बाबा
बैशाख १८, २०७८

ती   सुहाउँदा दौरा सुरुवाल अनि आहा चट्ट परेको 
ढाका टोपी लाउँदा त थाहा छ बाबा तिमी कुनै
राजकुमारभन्दा कमी देखिन्थ्यौ।
ती न्यानो हातले कलिला मेरा छालाहरू सुमसुम्याउँदै
काखमा राख्दा त थाहा छ बाबा तिम्रा आँखामा
संसार देख्थे म।

कति जिद्धि थिए है बाबा तिमीले एक दिन पसलबाट
चाउचाउ,चकलेट नल्याउँदा डाको छोडेर 
रुन्थे म।
रिसाएझैँ गरी खुट्टा ठँट्याउँदै घरको चोटामा गएर
सिरक ओढी गमक्क खाटमा सुत्थे म॥
तर बिर्सिएको छैन समेरो कान्छी छोरी भन्दै फकाउन 
आउँथ्यौ तिमी अनि ती पुराना कोटभित्रबाट चकलेटहरू
हेरत यहाँ भन्दा फुरुक्क हुन्थे म।

बाबा आज चाउचाउ,चकलेट पाउँछु कि भनी कुन डाँडा
हेरूँ म  ?
आज म निःशब्द छु: भरिपुर्ण हुँदा नि खालि छु
ओठमा हाँसो छुटेको छैन तर किन हो 
असिद्धै निराश छु ।
म खुसी भएर खाएको देख्दा ती झोलिएका गालाहरू
कति मक्ख पर्थे फेरी महसुस गर्न पाउँदिन र बाबा रु
तिमीले दिएका ती सम्झनाहरू फेरि जीवित गर्न चाहन्छु
के तिमी फर्की आउँदैनौ र बाबा रु
आगो फुकेर भएका ती काला दौरा सुरुवाल अनि दाउराले
चिरिएका ती घाइते हातहरूको फेरि स्पर्श गर्नु छ बाबा;
तिम्रै हातले हाहा लैलै  गर्दै फेरि फुर्किएर बुबु माम खानु
छ बाबा।

फोटोग्राफर त होइनौ तिमी तर रानी झैँ सिँगारेर; कहिले
मलाई बारीको अग्लोमास कहिले ट्वाइलेटको छतमा राखी
सानो भोगटे कपाल काटेर फोटो खिचेको
 अझै याद छ बाबा
तिम्रा ती न्यानो हातहरूमा साँचै जादु थियो बाबा;
सायद आजसम्मको दामी फोटो त्यही थियो मेरो॥

दशै तिहार आउँदा ती भत्किन लागेको घरमा; बूढो 
हातहरूले बाबरी बान्दै पिङ बनाउँथ्यौ तिमी,
म खेलेको हाँसेको देखेपछि  कति खुसी हुन्थ्यौ अझै याद छ बाबा।
यो चन्चले सानो मनलाई के थाहा समैले माम नखाँदा
रिसाएर खुम्चिएका ती अनुहारहरू 
कति मायालु थिए भनेर
तिम्रो त्यो माम नखाँदा गाली गरी गरी खुवाउने ती 
हातहरू कति मायालु थिए  भनेर
 आज चाहेर पनि त्यो गाली किन्न सक्दिन म बाबा
आज चाहेर पनि त्यो माया पाउन सक्दिन म बाबा

कोही बूढो मान्छे देख्दा तिमीलाई सम्झिएर
फोन लाउन हतारिन यी औलाहरू कतै निराश छन् बाबा
मैले फोन  गर्दा गाह्रै भए पनि खितिति हाँसिदिने ती
मुस्कानको खोजीमा छु बाबा 

तिमी बसिरहने ती खाटहरूमा अझै
तिमी प्रस्ट भई आइदिन्छौ बाबा
दनदन आगोमा तिमीलाई  बेसरी पोलिदिँदा
त्यो दिन जिन्दगीको सबैभन्दा अन्धकार
दिनको नाम दिने  छु म बाबा ।

टाढैबाट भए नि बाबा मेरो प्रगति हेर्नु है
केही गल्ती गर्दा सुमार्गमा लग्दिनु  है
किनकि तिमी बिना अपूरो छु म
मान्दिन यदि भगवान् छन् या छैनन्  जसले
तिमीबाट तिम्रा भौतिक रूप चोरिदिए तर
अब मेरो भगवान् तिमी हौँ
मसँगै हिँड्नु ल मेरो हावा बनेर।।