अक्षरहरू
बैशाख १८, २०७८

वर्तमान लेख्दैछु
त्यहीँनिर इतिहास देख्दैछु
लाग्छ !
आज लेखेर भोलि समेट्दैछु ।

बाङ्गो एउटा मेट्छु 
टिङ्गो एउटा मेट्छु 
धर्साहरू तान्छु दायाँ र बायाँ
अनि जोड्छु अक्षरहरू
ढालिएका सालिकहरू जस्तै
टुक्रा टुक्रा मन बटुलेर

कतै मेटी हेर्छु
कतै समेटी हेर्छु
फेरि अनेकौँ राजनीतिक दलहरूजस्तै
साना साना अङ्गहरू चोइटिएर जान खोज्छन्
कहीँकतै ठुल ठुला दलहरू
स्वार्थपूर्तिका निम्ति जोडिएजस्तै
असुहाउँदिलो पाराले जोडिएर आउन खोज्छन्

लाग्छ अक्षरहरू पनि गुटबन्दी चाहन्छन्
नातावाद, कृपावाद चाहन्छन्
कि अक्षरका पनि सन्तान दरसन्तान
इष्टमित्र, कुलकुटुम्ब र साथीभाइ हुन्छन् ?

म बुझ्दिनँ र हेर्छु,
कतै खान नपाएर
रोइरहेका हुन्छन् मेरा अक्षरहरू
कतै अरूलाई दमन गरेर
रूवाइरहेका हुन्छन् मेरा अक्षरहरूले
कतै खित्खिताउँदै
मस्त हाँसिरहेका हुन्छन् मेरा अक्षरहरू
कतै कठोर र उग्र बनेर मेरै सपनाहरू
लुटिरहेका हुन्छन् मेरा अक्षरहरूले 
सुन्दर र सुन्दरताको त के कुरो
सृष्टिकै खेमाभित्र
आन्दोलित छन् मेरा अक्षरहरू ।

म उठाउन चाहन्छु
ढलेको धरहराभन्दा छिटो उनीहरूलाई
उभ्याउन चाहन्छु विभेदबिनाको सुन्दर समाजमा
जहाँ कहिल्यै नढालून् सन्ततिले पुर्खाहरूको चोलुङ्ग
कहिल्यै नमेटाओस्
युगले कोरेका इतिहासका रक्तिम पाइलाहरू
फुलाइरहून् वर्तमानका आभाहरू
उचालेर आस्थाको हिमाल
मुस्कुराइरहून् सदियौँ पुराना छायाहरू
आफू हुनुको आभास दिलाउँदै ।

तर हथौडा र बाम्फक बोकेर
कुद्छन् मेरा अक्षरहरू
मेरै धैर्यताको पर्खाल भत्काउँदै  
बन्दुक उचालेर ताक्छन् मेरै कन्सिरी 
सङ्गिनको तिखो धार देखाउँदै
कहिले ज्वालामुखीझैँ उर्लिन्छन्
मेरै मनका भित्ताहरू कोपर्दै
म शान्ति खोजिरहेको हुन्छु
उनीहरू विद्रोही बनिरहेका हुन्छन्
म विकास खोजिरहेको हुन्छु
उनीहरू बिनास रोजिरहेका हुन्छन्
म बिनास र विकासबिचको
फरक बुझाइरहेको हुन्छु
उनीहरू सडक र चोकका सालिक
भत्काइरहेका हुन्छन् ।

यसरी अक्षरहरूको आतङ्कमुनि
म आफ्नै सृष्टि ढलेको हेरिरहेको हुन्छु
लयबिनाको गीत गाएर
पालाम, ख्याली र हाक्पारेको
लय भाँचिरहेको हुन्छु
आधुनिकीकरणको ढोल पिटी पिटी
माया पिरतीका भाकाहरूमा 
स्वार्थका भाकाहरू मिसाइरहेको हुन्छु ।

कति पनि धैर्यता छैन मेरा अक्षरहरूमा
चिन्ता पटक्कै छैन सीमा विवादको
सरोकार छँदै छैन देश र जनताको
बरु, हतारमा छन् उनीहरू सालिक बन्न

व्यस्त छन् अर्का एकथरी सालिकहरू फेरि ढल्न
जनता हात हातमा हथौडा बोकेर
उभिइरहेका छन् सालिकको फेदमा
आफैले माथि चढाएका बाँदरले 
झार्ने नरिवलको आशमा
लामबद्ध सरकारी निवासमा ।

मलाई भने कत्रो चिन्त्ता छ
देशको सिमाना मिचिएकोमा
कत्रो दुःख मन छ
जातीय दमन बढेकोमा
कति धेरै पिर छ
ऐतिहासिक सम्पदाहरू भत्किरहेकामा
कति दुःखी छु म
बाढीपहिरोले गाउँघर बगाइरहेकामा
कति आहत छु
सलहले बालीनाली नष्ट गरिरहेकामा

म सृष्टि ! म आमा !!
यसरी दुःखिरहेका बेला
रामायणको बुङ्ग उचालेर उभिइरहेको होला
भानुचोकमा एउटा आदिकवि सालिक
अनुहारभरि इतिहासको लेप लगाएर ।

यता मेरा अक्षरहरू भने
सेतो कागजको पानाबाट
बर्खेझरीले मौलाएको पहिरोजस्तै
बग्दै ओरालै ओरालो झर्छन्
र, रोकिन्छन् बाढीपहिरोले दर्फर्‍याएका
हुलका हुल ढुङ्गाहरूजस्तैंं
डायरीको अन्तिम पानाको पुछारतिर ।

थाहा छैन मलाई
मेरो वर्तमान कमजोर हो या इतिहास ?
प्रश्नहरू लकडाउनमा छन् ।
बाहिर निस्किन अर्को एउटा युगले
नयाँ इतिहास जन्माउनु पर्छ सायद !