लोकसंस्कृति, प्रयोगधर्मिता र दर्शनमा फरक : विवेक र चेतना मापनमा कौतुहलताका प्रश्न !
फर्केलान् र ती दिनहरू
बैशाख १८, २०७८

मैले औपचारिक रुपमा अध्यापन गर्न थालेको २०३१सालबाट हो ।  सिन्धुलीको परेबाडाँडाको निम्न माध्यमिक विद्यालयबाट । त्यो क्रम धेरै निरन्तर भएन तर म शिक्षा शास्त्र विषय नै लिएर सानोठिमी क्याम्पसमा अध्ययन गर्न थालेँ  । जसले मेरो अध्यापनको कडीलाई जोडेको ठान्छु ।  किनभने २०३३ सालको अन्त्यमा अभ्यास शिक्षणका लागि पशुपति मित्र माध्यमिक विद्यालय, चाबहिलमा गएर ३ महिना अभ्यासका लागि भने पनि अध्यापन गरेँ ।

२०३५ सालको असोज ५ गतेदेखि काठमाडौँ जिल्ला अन्तर्गत पढाउन थालेँ, सर्वप्रथम माध्यमिक तहको व्यावसायिक विषयभित्रको लेखा विषयको शिक्षक भएर गएको थिएँ । त्यो  शिक्षकका रुपमा औपचारिक नियुक्ति थियो भाग्योदय मावि साँखुका लागि, त्यो नियुक्ति थियो अस्थायी । त्यो बेलामा माध्यमिक विद्यालयलाई तीन तहमा बाँडिएको थियो - व्यावसायिक, साधारण र संस्कृत ।

 ती सबै तहका विद्यालयमा व्यावसायिक विषय राखिएको हुन्थ्यो माध्यमिक तहमा । व्यावसायिक विद्यालयमा १००० पूर्णाङ्कको प्रवेशिका परीक्षामा ४०० पूर्णाङ्कको  व्यावसायिक विषय ४ पत्रको रुपमा र साधारण विद्यालयमा २०० पूर्णाङ्कको व्यावसायिक विषय हुन्थ्यो । संस्कृत माविमा भने संस्कृत विषयभित्रको व्यावसायिक विषय राखिएको हुन्थ्यो ।

भाग्योदय मावि त्यो बेलामा साधारण विद्यालय भित्र पर्दथ्यो । तर त्यहाँ दुई ओटा व्यावसायिक विषयहरू थिए, व्यवसाय शिक्षा अन्तर्गतको लेखापाल र कृषि शिक्षा अन्तर्गतको कुखुरा पालन । म त्यहाँ जाँदा कक्षा ८ मा मात्र सुरु गरिएको थियो र त्यो दरबन्दीमा म गएको थिएँ । कुखुरा पालनमा पहिलेदेखि नै गोविन्द मल्ल सर हुनुहुन्थ्यो भने उहाँ सरुवा भएर गएपछि जनक वन्त सर आउनु भयो । पछि जनक सर पनि पशुपति मित्र व्यावसायिक माविमा सरुवा भएर आउनु भएको हो । त्यो बेलामा प्रधानाध्यापकका रुपमा पूर्णमान शाक्य हुनुहुन्थ्यो । 

व्यावसायिक शिक्षालाई महत्त्व दिएकोले विद्यालयहरूलाई व्यावसायिक र साधारणका रुपमा विभाजन गरिएको थियो ।माध्यमिक शिक्षालाई एउटा जीवनको पेसाका लागि प्रवेश विन्दु मानिएकाले नै होला, सरकारी सेवाको प्रवेशलाई खरदारको राजपत्र अनङ्कित दोस्रो श्रेणीको रुपमा मान्यता दिन एसएलसी पास हुनै पर्ने र प्राथमिक शिक्षक हुन पनि एसएलसी पास हुनै पर्ने नीति तय गरिएको थियो । 

मैले यो प्रसङ्ग केही पहिले पनि लेखेजस्तो लाग्छ किनभने २०३५साल असोज ६ गते हाजिर हुन भाग्योदय माविमा गएको म र त्यसपछि २०३६ साल वैशाख ११ गतेबाट कीर्तिपुरस्थित लेबोरेटरी व्यावसायिक माध्यमिक विद्यालयमा सरुवा भएर आएको थिएँ  । जसलाई छोटकरीका ल्याब स्कुल भनिएको हुन्थ्यो । त्यो ल्याब स्कुलको स्थापना कलेज अफ एजुकेसनको प्रयोगशालाको रुपमा भएको रहेछ अमेरिकी सरकारको सहयोगमा । सुरुमा कलेज अफ एजुकेसनको अङ्गका रुपमा स्थापित विद्यालय त्रिभुवन विश्वविद्यालयको स्थापनासँग सरकारी संस्थाबाट विश्वविद्यालयको इन्स्टिच्युट अफ एजुकेसनको अङ्ग अनि पछि जिल्ला शिक्षा समिति, काठमाडौँ अन्तर्गतको संस्था भएको रहेछ ।

नयाँ शिक्षा योजनाअन्तर्गत त्रिभुवन विश्वविद्यालयको अस्तित्वभन्दा सरकारी विद्यालयको अस्तित्वको रुपमा रहेको देखिन्छ । अहिले पनि त्यो विद्यालय कसको भन्नेमा बेला बेलामा विवाद भइरहेको सुनिन्छ । त्रिभुवन विश्वविद्यालयको जमिन भित्र कलेज अफ एजुकेसनको अङ्ग भएर खुलेको र विद्यालयको भवन बनेको हो अमेरिकी सरकारले दिएको कोसेलीको रुपमा ।

शिक्षा कलेजको स्थापना भवन माथि कीर्तिपुरमा बन्यो भने प्रयोगशालाको भवन तल दक्षिणकाली जाने बाटोमा बन्यो आखिर त्यो नेपाल सरकारलाई अमेरिकी सरकारले दिएको सहयोग नै थियो । साधारण विद्यालयका लागि तालिम दिनका लागि कलेज र प्रयोगशालाको रुपमा विद्यालय । त्यसैले त्यो विद्यालयको नाम नै रहेको रहेछ लेबोरेटरी स्कुल । मैले पनि त्यो विद्यालयको नाम शुद्धसँग उच्चारण गर्न जानेको त्यही विद्यालयमा शिक्षक भएपछि । छोटकरीमा भन्दा ल्याब स्कुल अनि शुद्धसँग भन्दा लेबोरेटरी व्यावसायिक माध्यमिक विद्यालय पछि लेबोरेटरी माध्यमिक विद्यालय, कीर्तिपुर । 

म २०३६ साल वैशाख ११ गते,  जुन दिन भाग्योदय माविबाट सरुवा भएर हाजिर हुन लेबोरेटी स्कुलमा गएको थिएँ । त्यो दिन काठमाडौँमा विद्यार्थी आन्दोलनले चर्को रूप लिँदै थियो र विद्यालय हातामा एक हुल विद्यार्थीहरू पसे किनभने विद्यालयको बस सरकारी प्लेटमा थियो वा अ ६५ नम्बरको । त्यो बसले विद्यार्थीहरू ओसार्ने नै भयो । काठमाडौँका साधारण विद्यालयहरू एक प्रकारले आन्दोलित हुँदै थिए । अनि विद्यालयका विद्यार्थीहरूलाई लिएर आउने बस कसको भन्दा ल्याब स्कुलको भन्दै तिनीहरू सार्वजनिक बस चढेर विद्यालयमा आन्दोलन गर्न आइपुगेका थिए ।

जीवन के हो त ? मेरो जीवन कसरी चलिरहेको छ ? मेरो योजना अनुसार त चलेको छ कि त्यसै उसै आफैँ चलिरहेको छ ? केलाई जीवनको सफलता मान्ने ? को हो त कुनै पनि जीवनको प्रेरणा ? या जीवन नै  के हो ? हामी जुन ग्रहमा छौँ , तीबाहेक अरु कतै जीवन छ होला कि नहोला ? या संसारलाई, ब्रह्माण्डलाई नियाल्ने हामी मानिसहरुमात्रै हौँ कि  अरु पनि कोही छ होला त्यस्तो प्राणी वा जीव ?

उनीहरूको मुख्य चासो त्यो बसलाई बन्द गर्ने थियो र बसमा आगो लगाउने विचारले ती उग्रता देखाउँदै थिए । त्यसको नाइके भएर आएका थिए आन्दोलनकारी विद्यार्थीका नाइके लेखनाथ सापकोटा जो पछि नेपाली सिनेमामा सम्राट सापकोटाका रुपमा प्रख्यात नायक भएका छन् । अहिले पनि उनको नाम याक्सन फिल्मको प्रख्यात नायकको रुपमा लिइन्छ । तिनै सापकोटाको नेतृत्वमा आएको आन्दोलनकारी विद्यार्थीहरूको समूहले विद्यार्थीहरूलाई कक्षाबाट निकाल्ने खोजे ।

बसमा आएकाहरूलाई त्यसरी कक्षाबाट निकालेर छोड्नु हुँदैनथ्यो र म भर्खर विद्यालयमा हाजिर हुन पहिलो पटक आएको मान्छे के गर्ने भन्ने अनुमान गर्दै थिएँ, बस तोडफोड गर्ने  अनि आगो लगाउने भन्ने हल्लामा मैले चिनेको लेखनाथलाई देखे पछि म दौडँदै गएर उनलाई सम्झाएँ र भनेँ - लेखनाथ, बसमा आगो लगाउनु हुँदैन, बरु यो विद्यालयका कक्षाहरू केही दिनलाई रोक्न सकिन्छ तर अहिले बसबाट पठाउनु पर्ने विद्यार्थीहरूलाई न त कक्षाबाट निकालेर बाहिर पठाउन मिल्छ, न त तिमीहरूले यसो गर्नु नै राम्रो हुन्छ ।

उनले त छक्क परेर मलाई भने - हरि दाइ,  यहाँ हो र ? तपाईँ त साँखुमा होइन र ? मैले भनेँ- हाजिर पनि गर्न भ्याएको छैन, हल्ला आएकोले यहाँ आएको । समस्या के थियो  भने मलाई त्यो स्कुलमा कसैले पनि चिन्दैनथे र मलाई नै आन्दोलनकारी हो कि भन्न पनि सक्थे । तर मैले त्यहाँ जे सुकै होस् भन्ने अवस्था थिएन किनभने अल्लारे केटाहरूले केही पक्कै गर्थे किनभने त्यहाँ मैले चिनेका विद्यार्थी नेताहरू कोही पनि थिएनन, बरु त्यही लेखनाथ मात्र थिए ।

अनि उनले हुललाई भने- हाम्रो आन्दोलनका पक्षमा लाग्ने पत्रकार हरि दाइ नै यहाँ हुनुहुँदो रहेछ, यहाँको शिक्षक हुनु हुँदो रहेछ, ल जाऊँ अब सेन्ट जेबियर र सेन्ट मेरिजतर्फ बाग्मती तरेर । उनीहरू त्यहाँबाट हिँडे । पछि पो मलाई डर लाग्यो कहीँ मलाई नै त्यो बस जलाउने पो भन्ने हुन् कि? त्यो कुरालाई राम्रोसँग हेरिरहनु भएकी तत्कालीन सहायक प्रधानाध्यापक शारदा प्रधानाङ्गले यो कुरा मलाई पछिसम्म सम्झाउनु हुन्थ्यो ।

अहिले पो  डर लाग्छ, यदि त्यो बसमा आगो लगाएको भए र मेरो परिचय नहुने थियो भने म नै त्यसो गर्नेमा पर्ने थिएँ किनभने मलाई त्यहाँका कसैले पनि चिन्दैन थिए । पछि गएर शारदा मिसलाई पत्र दिएँ र हाजिर गरेँ ।

करिब २२ वर्ष त्यो विद्यालयमा पढाएँ र त्यो विद्यालयका अनुभवहरू प्रशस्तै छन् । तिता पनि मिठा पनि । २०३६ साल वैशाख ११ गते प्रवेश गरेको ल्याब स्कुलबाट २०५७साल चैत्र २८ गते सरुवा भएर गएँ । ल्याब स्कुल कुन प्रकारको विद्यालय हो भन्ने कुरामा कसैले पनि ध्यान दिएनन् । खासमा त्यो कुरामा केन्द्रीय सरकारले ध्यान  दिनुपर्थ्यो किनभने त्यो विद्यालय समुदायको हो, त्यो पनि अमेरिकी सरकारले नेपाली शिक्षकहरूको शिक्षक प्रशिक्षणका लागि प्रयोगशालाको रुपमा दिएको कोसेली थियो ।

कलेज अफ एजुकेसनको अभिभावकत्व त त्रिभुवन विश्वविद्यालयले लियो र अहिले पनि शिक्षा शास्त्र संकायको रुपमा जीवित छ र शिक्षक प्रशिक्षणका लागि नै लागेको छ । तर सरकारको एउटा संस्थाको रुपमा स्थापित ल्याब स्कुल अहिले पनि कसको भनेर विवाद हुन्छ किनभने त्यो विद्यालयको आफ्नो कुनै जग्गा छैन , त्यो त अमेरिकी सरकारलाई भवन बनाउन दिएको बेलामा त्रिविले आफ्नो जग्गाबाट १०९ रोपनी जग्गा भोगाधिकारका लागि दिएको हो ।

त्यो बेलामा त्यो नेपाल सरकारको अधीनमा भएकाले त्रिभुवन विश्वविद्यालयले आफ्नै जस्तो गरी चर्चेको थियो किनभने म विद्यालयको होस्टेलमा सुपरिवेक्षक हुँदा जति पानी चलाए पनि पानीको पैसा त्रिविले नै दिन्थ्यो र बिजुलीको पैसा जम्मा महिनाको ५०० रुपैयाँ दिने गरेको थियो त्यो पनि त्रिविको लेखामा ।त्रिविको र ल्याब स्कुलको एउटै ट्रान्सफर्मर थियो किनभने त्रिवि र ल्याब स्कुल अभिन्न थिए । 

यसबारेमा अरु अनुभवहरू धेरै छन् मान र अपमानका , सफलताका र विद्यालय सञ्चालनका ।  तर अब म केही दार्शनिक प्रश्नमा केन्द्रित हुन चाहन्छु-सबैभन्दा ठुलो समस्या रहेछ आफूलाई नै पत्ता लगाउनु । म को हुँ ? हामी को हौँ ? जहाँ गए पनि यी प्रश्नहरू सबैका अघिल्तिर आउने गर्छन् । यी हाम्रा अघिल्तिर देखिएका सबै  यथार्थ हुन् कि भ्रम हुन् ?  यसो हेर्दा सजिलो जस्तो लाग्छ, मेरो नाम यही हो, मेरो थर यही हो र मेरा बाआमा बाजे बज्यै मामा माइजू, काका काकी भाइ बहिनी, नाता गोता यिनै हुन् । अनि मेरो अर्को के पत्ता लगाउनु छ र आफूलाई ।

जीवन के हो त ? मेरो जीवन कसरी चलिरहेको छ ? मेरो योजना अनुसार त चलेको छ कि त्यसै उसै आफैँ चलिरहेको छ ? केलाई जीवनको सफलता मान्ने ? को हो त कुनै पनि जीवनको प्रेरणा ? या जीवन नै  के हो ? हामी जुन ग्रहमा छौँ , तीबाहेक अरु कतै जीवन छ होला कि नहोला ? या संसारलाई, ब्रह्माण्डलाई नियाल्ने हामी मानिसहरुमात्रै हौँ कि  अरु पनि कोही छ होला त्यस्तो प्राणी वा जीव ?

हामीले मानिसको जातिलाई ८४लाख योनिमध्ये सबैभन्दा महत्त्वपूर्ण भनेर भन्दै आएका छौँ भने के अरु प्राणीहरूमा चेतना शून्यता नै छ त ? या हामीजस्तै आवाजमा बोलेर सम्प्रेषण गर्न मात्र नसकेका हुन् कि विवेकहीनता मात्र उनीहरूमा छ ? उनीहरू कसरी सिक्छन् बाँच्नका लागि या जीवन यापन गर्नका लागि ? विवेक भनेको कसरी पत्ता लगाउने हो ? चेतनाको मापन कसरी गर्ने हो ?

हामी मानिसहरू भन्ने गर्छौँ हामी विवेकशील प्राणी हौँ, त्यसो भए हामी कति विवेकशील प्राणी हौँ ? फेरि विवेक नै केलाई मान्ने ? हामी कहाँबाट आयौँ र कहाँ जान्छौँ ? हाम्रो जीवनका प्रत्येक क्षणहरू पहिले नै कतै तय भएर मात्र हाम्रो जन्म भएको हो कि हाम्रो जन्मको निर्धारण नियमित आकस्मिकताले मात्र भएको हो ? कोही छ कतै सबै कुराको छिनोफानो गर्नका लागि मापनको तुलो लिएर बसेको ? या हाम्रा आफ्नै कर्म र बाँच्दै जाने क्रममा सबै कुरा घटित हुने हुन् ?

सायद यी प्रश्नहरू मानव सभ्यताको प्रादुर्भावसँगै र मानिसले आफ्नो बारेमा पत्ता लगाउन खोजे देखिका हुन् जसलाई दर्शनको नाम दिइयो सायद ! जीवन र जगतका बारेमा पत्ता लगाउनु नै मानिसका लागि ठुलो समस्या भएको छ किनभने यी  कौतूहलहरू पनि मानिसका मनमा नै उठेका हुन् र यी कौतूहलका उत्तरहरू पनि मानिसले खोजेका छन् । तर कुनै पनि उत्तरलाई मानिसले ठ्याक्कै मिलेको ठानेको छैन र पनि उत्तरको खोजी जारी छ । 

मानिसहरूले आफैँलाई कसरी पत्ता लगायो होला यसबारेमा शोधग्रन्थहरु थुप्रै तयार भएका होलान् र आधिकारिक रुपमा आफ्ना तर्कहरू प्रस्तुत गर्नेमा वेदमार्फत आफूलाई आर्य भन्नेहरू नै देखिएका छन् । पश्चिमाहरू आफ्नो समयकलालाई इसामसिहको जन्म र मृत्युको अघिपछिको समयको मानकलाई जोड दिन्छन् र अरूका शोध र खोजलाई पनि त्यही समयको चक्रको वरिपरि नै सम्म्याउन चाहन्छन् । तर पूर्वका आर्यहरूले समयलाई करोडौँ वर्ष पहिलेको मापनसँग जोडेर र इतिहासले कल्पना गर्न नै नसक्ने समयको सेरोफेरोमा कसैले पनि तयार नगरेको तर आफैँ प्रकृतिबाट उत्पन्न भएको विवेक पुञ्ज ज्ञानको कुरा गरेका छन् जसलाई अपौरुषेय वेदको सांस्कृतिक प्रचलनको मौखिक परम्पराबाट मानव विवेकको विकासलाई जोडेर हेरेका छन् । 

पहिले आवश्यकता अनुसार मानिसले बाँच्ने प्रक्रियाको चलन ल्यायो कि त्यस्तो चलनलाई स्थायित्व दिने कोसिस गर्‍यो भन्ने पनि अहिले आएर अनुमानको कुरा भएको छ तर त्यो अनुमानलाई आज आएर जीवनको रुपमा ग्रहण गरिएकोले मान्नै पर्ने हुन्छ त्यो बेलामा पक्कै जीवन र जगतका बारेमा व्यापक अनुसन्धान गरिएको थियो होला । 

दर्शन भनेर बेग्लै केही पनि आएन होला सुरुमा तर बिस्तारै जीवन र जगतका बारेमा हेर्ने दृष्टिकोणहरू तर्कपूर्ण अवस्थामा आयो होला र सबैका तर्कहरूले दिने अनुमान र प्रमाणले केही दृष्टिकोण तयार गरेको थियो होला । सुरुमा धर्मको भन्दा चलनको महिमा थियो । सामूहिक चलन जसलाई लोक चलन मानियो अनि त्यसैलाई लोकसंस्कृति भनियो होला । विभिन्न लोक चलन जसलाई विभिन्न समुदाय र समूहको संस्कृतिको रुपमा व्याख्या गरियो र पछि त्यही संस्कृतिलाई परिमार्जन जीवन दर्शनको रूप दिइयो अनि बिस्तारै धर्मको प्रादुर्भाव भयो र त्यही दर्शनलाई लोकको हित गर्न भनेर विश्वासको आधारमा धर्मको नाम दिइयो । 

भनिन्छ, लोकसंस्कृति नै जीवन दर्शको पहिलो तरिका हो र त्यसको प्रयोगधर्मिताको व्याख्या भनेको दर्शन ।  लोकसंस्कृति आफैँले तयार गरेको बाटोले नै धर्मको ठाउँ बनायो र व्याख्या गर्नका लागि दर्शनको नाम लिइयो । 

मेरो विचारमा दर्शन भनेको हामी बाँचेको जीवन र जगतका बारेमा हेर्ने, बुझ्ने आन्तरिक र बौद्धिक धारणा हो । दृष्टिकोण हो ।यस्ता दृष्टिकोणहरू फरक फरक तरिकाले अनुभूत गरिन्छ तर तर्कद्वारा पुष्टि त गर्नैपर्छ , नत्र त्यो दर्शन नभएर फगत आफ्नो निजी धारणा मात्र हुन जान्छ । सुरुमा त्यो व्यक्तिगत धारणा र अनुभूति हुन्छ तर पछि त्यसैले जब व्यापकता पाउँछ, त्यो त विश्व दृष्टिकोण पनि बन्न पुग्छ । दर्शनले कुनै पनि भएको घटनालाई विश्लेषण गर्छ र त्यसको तर्कपूर्ण निकास दिन्छ । तर त्यसलाई सबैले स्वीकार गर्नुपर्छ भन्ने छैन । प्रत्येक अनुभव सम्बन्धित व्यक्तिको आफ्नो निजी हो र उसले आफ्ना अनुभवहरूको पुञ्ज तयार गरेको हुन्छ र एउटा बाटो पहिल्याएको हुन्छ । 

बेला मौकामा धर्म र दर्शनको मेल हुन्छ । कहिले संस्कृतिसँग यसको मेल भएको पाइन्छ । दर्शन त बाँच्ने तरिका पनि हो । दैनिक जीवनमा गरिने कामहरू सबै दर्शनले बाटो देखाएको हुन्छ । जीवनलाई हेर्ने तरिका पनि हो । बाँच्नका लागि एउटै परिवारका मानिसहरूले पनि फरक फरक तरिका अपनाएका हुन्छन् तर त्यसको तर्क हुन्छ र बाँच्ने तरिकाको सहजतालाई त्यसले सम्बोधन गरेको पक्कै हुनुपर्छ । 

मैले स्नातकोत्तर तहका विद्यार्थीहरूलाई शिक्षासम्बन्धी दर्शनका बारेमा कक्षामा सहजीकरण गर्दा उनीहरूलाई यो विषय क्लिष्ट लाग्दो रहेछ । तर जब म सोध्थेँ- तपाईँहरू आफ्नो बच्चा कस्तो होस् भन्ने चाहनु हुन्छ भनेपछि अपेक्षाको विवरण आउँथ्यो अनि म भन्थेँ-  अनि तपाईँको लक्ष्य के हुनुपर्ने त तपाईँको बच्चाको शिक्षाका लागि ? अनि फेरि अपेक्षा आउँथ्यो सहज तरिकाले । अनि म भन्थेँ - त्यसो भए भन्नुस् त, कुनै पनि दर्शनले शिक्षाको बारेमा सोच्ने भनेको नै तपाईँका बच्चालाई दिने शिक्षाको तरिका होला नि त ? अनि म भन्थेँ - कुनै पनि दर्शनले शिक्षाको एउटा कल्पना गरेको हुन्छ कस्तो कुरा सिकाउने, कस्ता विद्यार्थीहरू तयार गर्ने अनि कस्ता शिक्षकले कसरी पढाउने ? 

ईश्वरको अस्तित्वका बारेमा जहिले पनि विवाद छ - वास्तवमा ईश्वर छ कि छैन ? नदेखेको कुरामा विश्वास गर्ने कि नगर्ने ? ईश्वरको स्वरूप कस्तो हुन्छ भन्यो भने आफ्ना आफ्ना दर्शनले सिकाएको कुरा तत्काल भन्ने गरिन्छ । हिन्दु दर्शनमा विश्वास गर्ने मान्छेले गणेशका बारेमा एउटा स्वरूप दिमागमा छाप लिएर बसेको हुन्छ तर उसलाई अरु धर्मका दर्शनका वारेका कुनै अनुमान हुँदैन , त्यस्तै अरूलाई पनि हिन्दुको बारेमा हुँदैन । त्यसैले बेला मौकामा दर्शन , धर्म र संस्कृति एउटै जस्तो पनि लाग्छ त कहिले फरक फरक जस्तो पनि लाग्छ । वास्तवमा फरक फरक भए पनि हाम्रो समाजले एउटै स्वरूपमा कसेर राखेको पाइन्छ ।

अनि समाजले माने पछि त्यही सत्य हुन्छ जसलाई हामीले जीवनको सामाजिक पक्ष भनेर मानेका हुन्छौँ । सत्य पनि समाज र  समय  सापेक्ष हुन्छ भनिन्छ कहिले भने सत्य जहाँ गए पनि एउटै हुन्छ, त्यसको स्वरूप परिवर्तन हुँदैन । अनि सत्य भनेको नै दर्शनले देखाएको एउटा निष्पक्ष पाटो हो जसलाई स्वीकार गर्नका लागि र प्रयोग गर्नका लागि नैतिकताको कसी मानिन्छ । अनि नैतिकता नि ? त्यो पनि समय र समाजपिच्छे फरक फरक व्यवहारमा लिइएको हुने रहेछ । धर्म, संस्कृति, दर्शन र नैतिकताका बारेमा अरूका अनुभूतिहरूले पथ प्रदर्शन गर्नुपर्छ जसलाई आफूले स्वीकार गर्ने क्षमता राख्नु जरुरी छ । अनुभूति न हो ।

एक पटक गुरु द्रोणाचार्यले आफ्ना चेलाहरूको बौद्धिक स्तर र समाजलाई हेर्ने दृष्टिकोण हेर्ने विचार आएछ । अनि दुई समूह बनाएर समाजलाई हेर्न पठाएछन् । एउटा समूहको नायक धृत राष्ट्र पुत्र दुर्योधन अनि अर्को समूहको नायक पाण्डु पुत्र युधिष्ठिर भएछन् । दुर्योधनले बुझ्नु पर्ने भएछ-हस्तिनापुरमा कति मानिसहरू असल बस्छन्, पत्ता लगाएर उत्तर ल्याउने । अनि युधिष्ठिरले गर्ने काम रहेछ- हस्तिनापुरमा कति मानिसहरू खराब छन् पत्ता लगाएर ल्याउने । अनि दुर्योधनले खोज्दै जाँदा एक जना पनि असल भेटेनन् , युधिष्ठिरले एक जना पनि खराब भेटेनन् । एउटै कुलका राजकुमारहरू, एउटै गुरुले सिकाएका अनि एउटै परिवेशमा हुर्केका तर के त्यस्तो विचारमा फरक आयो जसले तिनै हस्तिनापुरका जनतामध्ये दुर्योधनले असल भेटेनन् भने युधिष्ठिरले खराब भेटेनन् । क्रमशः

 


अधिकारी दर्शन, राजनीति र साहित्यमा कलम चलाउनुहुन्छ ।