कोरोना सङ्क्रमितको उपचारका लागि मूलपानी नगर अस्पताल सञ्चालनमा

कोरोना सङ्क्रमितको उपचारका लागि मूलपानी नगर अस्पताल सञ्चालनमा

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  बैशाख १९, २०७८

काठमाडौँ । काठमाडौँको मूलपानीमा कोरोना सङ्क्रमितको उपचारका लागि मूलपानी नगर अस्पताल सञ्चालनमा आएको छ । कागेश्वरी मनोहरा नगरपालिकाले सञ्चालन गरेको उक्त अस्पतालमा अहिले दश सङ्क्रमितको उपचार भइरहेको नगरप्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो । 

कोरोना सङ्क्रमितका बिरामीलाई भर्ना गरी उपचार शुरु गरिएको जानकारी दिँदै उहाँले सङ्क्रमितको उपचारका लागि आवश्यक परेमा ०१–४१५३५९३ मा सम्पर्क गर्न सकिने बताउनुभयो । 

महिनाको  एक लाख भाडामा लिएर सञ्चालन गरिएको उक्त नगर अस्पतालमा चारवटा एम्बुलेन्स तयारी अवस्थामा छन् । कोरोना सङ्क्रमित बोक्ने एउटा छुट्टै एम्बुलेन्सको व्यवस्था गरिएको छ । नगर अस्पतालमा अहिले ४० देखि ५० श्यया प्रयोगमा ल्याउन सकिने थापाले बताउनुभयो । 

साथै नगरपालिकाभित्र कसैलाई कोभिडको शङ्का लागेमा उपचारका लागि एम्बुलेन्स आवश्यक परे ९८४१६५५६२१ चिरन कटुवाल, ९८६१–६६९३०६ कृष्ण बिसुन्खेलाई सम्पर्क गर्न सकिने जानकारी गराइएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको जनाउँदै नगरप्रमुख थापाले थप सतर्कता अपनाउन अनुरोध गर्नुभयो । उहाँले भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको  प्रयोग  गर्न  र कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्नसम्म अनुरोध गर्नुभएको छ ।