बागलुङका पत्रकारको आफ्नै आइसोलेसन कक्ष

बागलुङका पत्रकारको आफ्नै आइसोलेसन कक्ष

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २०, २०७८

बागलुङ । नेपालमा दोस्रो लहरको कोरोना सङ्क्रमणको दर बढ्दै गएको सन्र्दभमा अग्रपङ्क्तिमा  खटिने पत्रकारका लागि नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले आफ्नै आइसोलेसन कक्ष निर्माण गरेको छ ।
 
शाखाको आफ्नै भवनको सभाहलमा तत्कालका लागि १० शय्याको आइसोलेसन कक्ष निर्माण गरिएको महासङ्घका शाखा अध्यक्ष नरेश कँडेलले बताउनुभयो । उहाँले पत्रकारहरुलाई कोरोनाको बढी जोखिम रहेको र धेरै पत्रकार भाडाको घरमा बसेर काम गर्ने भएकाले कोरोना लाग्दा समस्या भएपछि आफ्नै भवनमा आइसोलेसन कक्ष तयार गरिएको बताउनुभयो ।

पत्रकार अग्रपङ्क्तिमा खटिएर काम गरिरहेका हुन्छन् । कोरोना लागेपछि छुट्टै बस्ने स्थान छैन, अस्पतालमा शय्या नपाइन सक्छ त्यसैले पत्रकारहरुका लागि महासङ्घले नै आइसोलेसन कक्ष बनाएको अध्यक्ष कँडेललेजानकारी दिनुभयो ।  जिल्लामा हालसम्म अग्रभागमा खटिने पाँच पत्रकारलाई कोरोना सङ्क्रमण भई निको भइसकेको अवस्था छ । पत्रकारलाई कोरोना सङ्क्रमणको दरअनुसार आइसोलेसन कक्ष व्यवस्थित तथा शय्या विस्तार गर्दै  जाने भएको छ ।

 नवनिर्मित भवनको हलमा हाइसोलेसन कक्ष, शौचालय तथा आवश्यक स्वास्थ्य सुरक्षाका सामाग्रीको व्यवस्था छ । अहिले कुनै पनि पत्रकार सङ्क्रमित नभए पनि कोरोनाको बढ्दो सङ्क्रमणले जस्तोसुकै अवस्था आउन सक्ने भन्दै पूर्वतयारी थालिएको महासङ्घले जनाएको छ ।
 
आइसोलेसनलाई अक्सिजनसहित सञ्चालनको व्यवस्थापन गर्न धौलागिरि अस्पतालले सहयोग गर्ने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेलले बताउनुभयो । उहाँले पत्रकारहरुले आफ्नो व्यवस्थापन गर्न थालेकामा खुसी व्यक्त गर्दै सङ्क्रमणको दर बढ्दै गएमा अस्पतालमा शय्या अभाव हुने भएकाले अन्य स्थानमा समेत आइसोलेसन कक्ष बनाउनुपर्ने बताउनुभयो । उक्त आइसोलेसन कक्षमा नगरपालिकाले स्वास्थ्यकर्मीसमेत खटाउनेछ ।
 
आइसोलेसन कक्षमा आवश्यक स्वास्थ्य सामग्री ब्रदर्श सर्जिकल एण्ड डाइग्नोस्टिक प्रालि बागलुङका सञ्चालक नीलकण्ठ शर्माले प्रदान गर्नुभएको छ । उहाँले पत्रकार महासङ्घलाई पाँच लिटर स्यानिटाइजर क्षमताको विद्युतीय स्यानिटाइजर डिस्पेन्सर, २५० थान मास्क, पाँच लिटर स्यानिटाइजर, पल्स अक्सिमिटर, डिजिटल रक्तचाप परीक्षण औजार, डिजिटल थर्मोमिटर र हेण्ड वास एक थान सहयोग गर्नुभएको अध्यक्ष कँडेलले बताउनुभयो ।