लाइडर सर्वेक्षणको शुभारम्भ: पश्चिम तराईका जमीनको तथ्याङ्क सङ्कलन शुरु

लाइडर सर्वेक्षणको शुभारम्भ: पश्चिम तराईका जमीनको तथ्याङ्क सङ्कलन शुरु

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २२, २०७८

रुपन्देही ।  हवाई फोटोग्राफमार्फत पश्चिम तराईका जिल्लामा जमीनको तथ्याङ्क सङ्कलन शुरु भएको छ । उक्त कार्यको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले भैरहवाबाट आज शुभारम्भ गर्नुभयो ।

भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा आयोजित कार्यक्रममा लाइडर सर्वेक्षणको शुभारम्भ गर्दै मन्त्री डा तुम्बाहाम्फेले भन्नुभयो, 'हामीले सुखी नेपाली समृद्ध नेपालको सपना साकार पार्न हरेक क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गरिरहेका छौँ, त्यसैको सिलसिलामा लाइडर सर्वेक्षण शुरु गरेका हौँ, कोभिडको महामारी भए पनि हवाई सर्वेक्षण गरिने भएकाले कामलाई निरन्तरता दिएका हौँ।'

 लाइडर सर्वेक्षण नापी विभागले त्रिआयामिक भौगोलिक स्वरुप र अर्थोफोटो (फोटो नक्शा) तयार पार्नका लागि सर्वेक्षण शुरु गरेको हो । यसरी तयार पारिएका तस्वीर डिजिटल टेरैन मोडल(कुनै क्षेत्रको प्रत्येक विन्दुको समुद्री सतहबाट जमीनको सतहको विन्दुसम्म)का हुन्छन् । अर्थोफोटो हवाइजहाजबाट खिंचिएको हवाई फोटोको प्रशोधित स्वरुप हो, जसमा नापिएका दूरीहरु जमीनका सम्बन्धित विन्दुबीचका दूरीहरुसँग समानुपातिक हुन्छन् ।

यी तथ्याङ्क विकासनिर्माणका लागि उपयोगी साधन भएकाले लाइडर सर्वेक्षणबाट तथ्याङ्क उपलब्ध भएपछि विकासनिर्माण जस्तै जलविद्युत्, सडक, खानेपानी, सिँचाइ, दैवीप्रकोप पूर्वानुमान, सुरक्षा रणनीतिलगायत काममा फिल्डमा गएर सर्वेक्षण गर्नु नपर्ने नापी विभागका महानिर्देशक प्रकाश जोशीले जानकारी गराउनुभयो । यसले जनशक्ति, समय र आर्थिक लगानीसमेत बचत हुने र काम छिटोछरितो गर्न सकिने उहाँको भनाइ थियो ।

मन्त्रालयका सचिव टेकनारायण पाण्डेले जमीन नापजाँचमा फरकफरक प्रविधि प्रयोग हुँदै आएको बताउँदै विश्वमा प्रभावकारी मानिएको लाइडर सर्वेक्षण फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार पहिलो पटक भैरहवालाई केन्द्रविन्दु मानेर सर्वेक्षण गरिएको तथा यसपछि नेपालगञ्ज र धनगढीलाई केन्द्र बनाएर सर्वेक्षण गरिने छ । नापी विभागका अनुसार यसअघि फिल्ड सर्वेक्षण गरिएको थियो ।

हवाई जहाजबाट भने पहिलो चरणमा कञ्चनपुरदेखि चितवनसम्मको २० हजार वर्गकिलोमिटर क्षेत्रको लाइडर सर्वेक्षण गरिनेछ । चालु आर्थिक वर्षमा पहिलो चरणको सर्वेक्षण सक्ने योजना बनाइएको छ । पहिलोचरणको सर्वेक्षणका लागि फ्रान्सबाट जहाजसहितको विशेषज्ञ टोली आएको र उसले आर्थिक सहयोग पनि गरेको छ । जहाजमा स्याटेलाइट क्यामेरा जडान गरी तस्वीर खिंचेर तथ्याङ्क सङ्कलन गरिने छ । दोस्रो चरणको लाइडर सर्वेक्षणका लागि जापानको जाइकाले सहयोग गर्ने जनाइएको छ ।