५ करोड कमिसनले रोकिएको खोप खरिद

५ करोड कमिसनले रोकिएको खोप खरिद

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २३, २०७८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिसिल्ड खोप उत्पादन गर्ने भारतको सिरम इन्स्टिच्युटको नेपाली एजेन्टबीच करिब ३५ करोड कमिसनमा कुरा नमिल्दा ५० लाख डोज खोप खरिद प्रक्रिया अघि नबढेको विवाद सतहमा आएको छ । खोप उत्पादन गर्ने कम्पनी सिरमसँग एजेन्टबिनै ५० लाख डोज भ्याक्सिन खरिद गर्न खोज्दा नेपाली एजेन्टले कमिसन माग गरेर प्रक्रिया नै अघि बढ्न नदिएको मन्त्रालयको दाबी छ ।


‘खोप खरिदमा बिचौलियाले १० प्रतिशत कमिसन लिन खोजे, बिचौलियाको सक्रियताका कारण २७ दिनसम्म अप्ठ्यारोमा परियो ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले भन्नुभएको छ । यो २७ दिन यति निर्णायक भयो, यही बीचमा भारतमा ह्वात्तै संक्रमण बढ्न थाल्यो । त्यही कारण ५० लाख डोज खोप खरिद प्रक्रिया अगाडि बढ्न सकेन ।’ खोप खरिद रोकिएलगत्तै मन्त्रीले सीमित सञ्चारकर्मीसँग एजेन्टको स्वार्थ पूरा गर्न नसकिएको बताउनु भएको थियो ।

‘नेपाली जनतामाथि अन्याय गर्ने यस्ता बिचौलिया पनि देखियो, जसले गर्दा खोप ल्याउन सहज भएन । ’ सञ्चारकर्मीसँग त्रिपाठीले भन्नुभएको थियो । कमिसनकै कारण खोप ल्याउन नदिन बिचौलियाहरू सफल भएको मन्त्रालयको बुझाइ छ । सिरमको नेपाली एजेन्ट हुकाम डिस्टिब्युटर्स एन्ड लजिस्टिक प्रालि हो । हुकाम विजय दुगड, अभिषेक दुगड, सुरज वैद्य र ऋतुसिंह वैद्यका नाममा छ । उनीहरूले खोप खरिद गर्दा १० प्रतिशत कमिसन मागेको मन्त्रालयको दाबी छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।