गैर आवासीय नेपाली सङ्घ अमेरिका, म्यासाचुसेट्स च्याप्टरको अध्यक्षमा  पुनः  प्रेम तामाङ उम्मेदवारी घोषणा

गैर आवासीय नेपाली सङ्घ अमेरिका, म्यासाचुसेट्स च्याप्टरको अध्यक्षमा  पुनः  प्रेम तामाङ उम्मेदवारी घोषणा

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २३, २०७८

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) अमेरिका, म्यासाचुसेट्स च्याप्टरका अध्यक्ष प्रेम तामाङले सोही पदमा पुनः अर्को कार्यकालको लागि उम्मेदवारी घोषणा गर्नु भएको छ । 

म्यासाचुसेट्स राज्यमा रहेका गैर आवासीय नेपालीहरुको बिचमा लोकप्रिय र अशा एवं भरोसा योग्य तामाङ यस अघिको  निर्वाचनमा लोकप्रिय मत ल्याइ निर्वाचित हुनु भएको थियो ।  म्यासाचुसेट्स च्याप्टर वर्तमान अध्यक्ष  समेत रहनु भएकाे  प्रेम तामाङले उम्मेदवारी घोषणा गर्दै भन्नु भएको छ - एनआरएनए अमेरिकाले पनि आफ्नै स्रोत र साधन मार्फत कोरोना पीडित थुप्रै नेपालीहरूलाई राहत सहयोग पुर्‍याएको दावी गर्नु भएको छ । उहाँले भन्नुभयो- 'च्याप्टर अध्यक्षको हैसियतले म्यासाचुसेट्समा आफ्नो नेतृत्वमा कोरोना पीडित नेपालीहरूलाई राहत सहयोग पुग्यो । यही महामारीकै बिच हामीले एनआरएनए अमेरिकालाई म्यासाचुसेट्समा डिबिए रजिस्ट्रेसन गरी गत मार्च १२ तारेख वार्षिक प्रतिवेदन समेत अनलाइन मार्फत स्टेटलाई  उपलब्ध गराइ सकेका छौँ ।' 

म्यासाचुसेट्स  च्याप्टरको अध्यक्ष  पदका प्रत्याशी तामाङको दावी छ - 'आफू अध्यक्ष हुँदा  दुई ढाइ सय मात्रै मतदाता सङ्ख्या रहेकोमा दुई बर्से अवधिमा म्यासाचुसेट्स राज्यमा मात्र एक हजार भन्दा बढी गैर आवासीय नेपालीलाई सङ्घमा आबद्ध गराउन सफल भएको र आम जनमानसमा जागृत एनआरएनए प्रतिको सकारात्मक भावनाको विकास हुँदा गएको छ ।' 

अध्यक्ष तामाङका अनुसार  'दुई बर्से कार्यकालमा केही रचनात्मक कामहरू गर्ने मेरो योजना रहँदा रहँदै पनि  कोरोना महामारीले गर्दा  आसम्भव भयो ।  तसर्थ उक्त योजना साकार पार्न र एनआरएनए अभियान सफल पार्न आगामी कार्यकाल (२०२१ देखि २०२३) का लागि च्याप्टर अध्यक्षमा दोहोर्‍याउने निर्णय गरेको छु र यसै सन्देश मार्फत अध्यक्ष पदमा मेरो उम्मेदवारी घोषणा गर्दछु र फेरि एक पटक मलाई यहाँहरूको अमूल्य मत प्रदान गरिदिन हुन विनम्रतापूर्वक अनुरोध गर्दछु' भन्नु भएको छ ।

अध्यक्षका उम्मेदवार  तामाङले एक अपिल जारी गर्दै 'हामी आफूले गरेको कामको आधारमा मत माग्छौँ र स्वच्छ प्रतिस्पर्धाको सदैव स्वागत गर्दछौँ तर कसैलाई एउटा अमुक राजनीतिक दलको ट्याग लगाएर भ्रम सृजना गर्दै मत माग्ने नीच हर्कतको भने घोर विरोध गर्दछौँ । साथै आम मतदाताहरूलाई त्यस तर्फ सतर्क रहन समेत अनुरोध गर्दछौँ ।' भन्नु भएको छ ।

 अपिलमा भनिएको छ- एनआरएनए राजनीति गर्ने ठाउँ होइन । कसैलाई दलीय राजनीति गर्ने इच्छा भए नेपाल फर्के भो । परदेशमा हामी सबै नेपाली हौँ । नेपालीपन, हाम्रो धर्म र संस्कृतिलाई हामीले बिर्सनु हुँदैन । हामीले यही मान्यतालाई आत्मसाथ गर्नु पर्दछ । 

अपिलको अन्त्यमा भनिएको छ - मातृभूमि छोडेर बिदेसिएका (खासगरी विदेशी नागरिकता लिएका) नेपालीहरूलाई विगतको संविधानले आर्थिक र सांस्कृतिक अधिकारहरू दिएको थिएन तर एनआरएनए अभियानले त्यसलाई अहिलेको नयाँ संविधानमा स्थापित गरिदिएको छ । एनआरएनए परिचय पत्र लिएका व्यक्तिलाई बिना भिसा नेपाल जान आउने सुविधा नेपाल सरकारले दिएको छ । यो सुविधा एनआरएनए अभियान मार्फत प्राप्त चानचुने उपलब्धि होइन । नेपाल सरकारसँग हाम्रो दोहोरो नागरिकताको मुद्दा अझै जारी छ । तसर्थ 'नेपालीका लागि नेपाली', 'एक पटकको नेपाली साधैको नेपाली' र 'हाम्रो एनआरएन राम्रो एनआरएन' लगायतका मूल मर्महरूलाई आत्मसाथ गर्दै यो अभियानमा सहभागी हुन सबैलाई आव्हान गर्दछु ।