दाङका बिरामी निको भएर घर फर्कन थाले

दाङका बिरामी निको भएर घर फर्कन थाले

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  बैशाख २३, २०७८

दाङ । दाङका चार पालिकाको सहयोगमा लमहीमा कोभिड सङ्क्रमण व्यवस्थापनका लागि उपचार केन्द्र सञ्चालन भएपछि देउखुरी क्षेत्रका बिरामीलाई सहज भएको छ । लमहीमा कोरोना सङ्क्रमितको उपचारका लागि २५ श्ययाको एचडीयू अस्पताल सञ्चालनमा आएको छ । 

लमही नगरपालिका तथा गढवा, राप्ती र राजपुर गाउँपालिकाको लगानीमा अस्पताल सञ्चालनमा आएको छ । सङ्क्रमितलाई भर्ना गरेर उपचार शुरु भएको अस्पतालका प्रमुख डा पुष्प भुसालले जानकारी दिनुभयो । “कोरोना अस्पताल निर्माण गरेर उपचार थालिएको छ”, डा भुसालले भन्नुभयो, “अक्सिजनसहितको अस्पताल तयार भएको हो ।”
  
 लमही–४ अर्नहवा निवासी ४५ एक वर्षीय पुरुषलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भयो । होमआइशोलेशनमा बस्दा श्वासप्रश्वास पक्रियामा समस्या भयो । अक्सिजन दिएर बिरामी भर्ना गर्नुपर्ने भयो । उहाँलाई लमहीस्थित एचडीयू कोभिड अस्पतालमा भर्ना गरियो । निमोनियाका कारण छातीमा सङ्क्रमण भएको पत्ता लागेपछि दुई दिन कोभिड अस्पतालमा औषधि चढाएर अक्सिजन दिइयो । जसले गर्दा शरीरमा अक्सिजनको मात्रा पूरा भयो । छातीमा देखिएको सङ्क्रमण पनि कम हुँदै गएपछि डिस्चार्ज गरेर घर पठाइएको कोभिड अस्पतालका प्रमुख डा भुसालले जानकारी दिनुभयो । 

“समयमा अक्सिजन र औषधि पाउने हो भने छातीमा हुने थप सङ्क्रमण रोक्न सकिन्छ”, उहाँले भन्नुभयो, “यहाँ भर्ना भएको दुई दिनमा सञ्चो भएर डिस्चार्ज गर्ने अवस्थामा हामी पुग्यौँ ।” कोभिड उपचारका लागि अस्पताल स्थापना भएपछि बिरामीको उपचार सम्भव भएको उहाँले बताउनुभयो ।
 
पहिलो चरणमा १२ श्यया तयारी अवस्थामा छन् । अन्य  १३ थपेर २५ श्यया पु¥याइने छ । श्यया कुरेर बस्दा सङ्क्रमितको ज्यान जोखिममा थियो । देउखुरी क्षेत्रका मानिस बिरामी भएपछि घोराही पुग्नुपथ्र्यो । नेपालगञ्ज, बुटवल नै जानुपर्ने बाध्यता थियो । होम आइशोलेशनमा बस्न नसक्ने र अक्सिजन दिएर उपचार गर्नुपर्ने सङ्क्रमितलाई  अस्पताल भर्ना गरेर उपचार थालिएको र अहिले सो अस्पतालमा १० बिरामीले उपचार गराइरहनुभएको छ । निको भएर घर जाने क्रम शुरु भएको लमहीका नगरप्रमुख कुलबहादुर केसीले बताउनुभयो ।