अन्तरराष्ट्रिय चलचित्र महोत्सव: नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वभरि फैलाउने

अन्तरराष्ट्रिय चलचित्र महोत्सव: नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वभरि फैलाउने

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  बैशाख २३, २०७८

काठमाडौँ । चौथो नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ) २०७८ बैशाख २४ शनिबारदेखि शुरु भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपाली चलचित्र र चलचित्रकर्मीलाई विश्वका चलचित्र र चलचित्रकर्मीमाझ परिचित गराउने तथा चलचित्रमार्फत नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वभरि फैलाउने उद्देश्यका साथ महोत्सव शुरु गरिएको हो ।  

महोत्सवको भर्चुअल उद्घाटन गर्दै  राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले महोत्सवले नेपाली चलचित्रका माध्यमबाट नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वसामु प्रचार गर्ने बताउनुभयो ।  चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले महोत्सवले विभिन्न देशबीच आत्मीय सम्बन्ध राख्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

पोर्चुगलका चलचित्र निर्देशक ज्वाओ पाउलो म्याकेज्डोले महोत्सवमा सहभागी नेपाली चलचित्रबाट नेपाली कथा र विषयवस्तु बुझ्न पाइने बताउनुभयो । चलचित्र निर्देशक तुलसी घिमिरेले महोत्सवले समग्र चलचित्र क्षेत्रको विकास र विस्तारमा सहयोग पुर्‍याउने बताउनुभयो । 

महोत्सवमा भारतीय अभिनेता अनुराग कश्यपले आफ्नो अनुभव सुनाउनुभएको थियो ।उहाँले नेपालका मनोरम दृश्य र नेपाली कथा समेटिएको चलचित्रलाई विश्वबजारले समेत उत्साहका साथ हेरिरहेको बताउनुभयो । 

प्रतिष्ठानका अध्यक्ष केपी पाठकले नेपाल सहित ३१ देशका ६५ वृत्तचित्र र छोटा चलचित्र महोत्सवमा सहभागी रहेको जानकारी दिनुभयो ।  नेपालका तर्फबाट आठ छोटा चलचित्र समाविष्ट  छन् ।  महोत्सव यही वैशाख २७ गतेसम्म  सञ्चालन हुनेछ । कोरोना भाइरसका कारण यसपटक महोत्सवलाई भर्चुअल रुपमा सञ्चालन गरिएको छ ।