एमालेमा अन्तिम 'सङ्कट मोचन' तयारी : फागुन २८को निर्णयमा पुनर्विचार हुने सङ्केत !

लोकसंवाद टिप्पणी

एमालेमा अन्तिम 'सङ्कट मोचन' तयारी : फागुन २८को निर्णयमा पुनर्विचार हुने सङ्केत !

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २४, २०७८

 काठमाडौँ ।  माधवकुमार नेपाल समूहलाई पार्टीभित्र पेलेरै साइजमा ल्याउने रणनीति लिएका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले घुमाउरो रुपमा पुनः संवादको सुरुवाती गरेका छन् । २७ गते विश्वासको मत लिएर कडा नीति लिने तयारी गरेका ओलीलाई विश्वासको मत नदिने बरु त्यसअघि नै सांसदहरूले सामूहिक राजीनामा दिने नेपाल समूहको तयारीपछि अन्ततः ओली संवादका जुटेका विभाजनको अन्तिम 'सङ्कट मोचन' तयारी सुरु भएको छ ।

ओलीले बालुवाटारमा बिहीबार बसेको स्थायी कमिटीको आकस्मिक बैठकमा नेपाल समूहमाथिको कारबाही फिर्ता लिने विषयमा छलफल गरे लगत्तै राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शीतल निवास पुगे । सांसदबाट विश्वासको मत हासिल नउङ्ने, प्रदेशका सरकार ढल्ने र राष्ट्रियसभा उपनिर्वाचनमा पनि ओलीविरुद्धको महागठबन्धन बन्ने सम्भावनापछि ओली अन्ततः नेपाल समूहसँग संवादमा जुटेका हुन्। यसै क्रममा दोस्रो तहका नेताहरू समेत विभिन्न चरणमा छलफलमा जुटेका छन्। 

२३ फागुनमा सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता भङ्ग गर्दै तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएपछि प्रधानमन्त्री केपी शर्मा ओली र उनी पक्षधर नेताहरू विजेता शक्तिका रुपमा देखा परेका थिए । खारेज भएको नेकपामा अल्पमतमा रहेका ओली एमाले ब्युँतिएसँगै पार्टीभित्र पुनः बहुमतमा पुगे । प्रचण्ड समूहमा रहेका माधव नेपालसहितका नेताहरू भने एमालेभित्रै सङ्घर्ष गर्ने भन्दै पार्टीमा फर्किए । त्यस अवस्थामा तत्कालीन माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा बादलसहित नेताहरू ओली समूहमा नै रहे ।

होटेल मेरियटमा ओली पक्षीय नेता विष्णु पौडेलले सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग छलफल गरेका छन् । पछिल्लो समयमा पार्टीभित्रको बहुमतको दम्भका कारण चौतर्फी राजनीतिक र संवैधानिक मर्यादा र सीमा नाघेर गरेका गतिविधिका कारण सङ्कट पर्न थालेपछि ओली पक्ष संवादमा जुटेको छ ।

पार्टीमा आफू बहुमतमा पुगेपछि २८ फागुनमा आफू पक्षको बैठक बोलाएर विधान संशोधन गर्दै ओलीले ९औँ महाधिवेशनबाट निर्वाचित सबै पदाधिकारी हटाएर अध्यक्ष र महासचिव मात्रै राखे भने माओवादी केन्द्रका २३ जना नेतालाई केन्द्रीय समितिमा थप गरे। ओलीले त्यति मात्रै गरेनन्, पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई राजनीतिक रुपमा र पार्टीका आन्तरिक संरचनामा सिद्ध्याउन सबै भूमिका खेले। यसबिचमा धेरै नेपाल पक्षीय नेताहरूलाई आफ्नो समूहमा तान्न सफल भएका छन् । विभिन्न राजनीतिक नियुक्तिदेखि पार्टीका जिम्मेवारी बाँडफाँडमा समेत माधव नेपाल पक्षलाई निषेध गरिएको छ।

आफू पार्टीमा बहुमतमा भएपछि नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, नेता सुरेन्द्र पाण्डेलाई त ६ महिना पार्टीबाट निलम्बन गरेका छन्  भने ३० जना सांसदलाई स्पष्टीकरण सोधेका छन् । ओलीले पार्टीभित्र एकतर्फी कदम चाल्न थालेपछि नेपाल समूह देशै भरी समानान्तर गतिविधि गरिरहेको छ । 

ओली पक्षले एकलौटी रुपमा पार्टीमाथि कब्जाको शैलीमा क्रियाकलाप गरिरहेका बेला कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत नदिन एमालेले गरेका ह्विप उल्लङ्घन गर्दै चार सांसदले विश्वासको मत दिएपछि कर्णालीमा आफ्नो नेतृत्वमा सरकार बनाउने ओली पक्षीय नेता यामलाल कँडेलको सपना पूरा हुन सकेन । यस्तै लुम्बिनीमा शङ्कर पोखरेलले एकलौटी रुपमा सत्ता स्वार्थमा काम गरेको भन्दै एमालेका दुई सांसदले राजीनामा दिएका छन् भने नेकपाबाट विजयी सांसद विमला वलीले माओवादी केन्द्र रोजेकी छन् । गण्डकीमा पनि २७ गते मुख्यमन्त्रीविरुद्ध आएको अविश्वासको प्रस्तावमा मतदान हुने कार्यक्रम छ। सोही दिन सांसदबाट प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विश्वासको मत लिँदै छन् । 

ओलीले विश्वासको मत लिने निर्णय गरे पनि अहिलेकै अवस्थामा उनले विश्वासको मत पाउने सम्भावना देखिएको छैन । ओलीलाई विश्वासको मत दिन विपक्षी मात्रै होइन एमालेकै माधवकुमार नेपाल समूह तयार नदेखिएपछि ओलीको सत्ता बहिर्गमनको खतरा बढेको छ । माधव नेपाल समूहले २७ गते ओलीलाई विश्वासको मत नदिने बरु प्रत्यक्ष निर्वाचित सांसदहरूले राजीनामा दिने तयारी गरेपछि ओली दबाबमा छन् । सत्ता बहिर्गमनको खतरासँगै ओली समूहमा रहेको दम्भ ओरालो लाग्न थालेको सङ्केत देखिन थालेको छ। 

बालुवाटारमा नेपाल पक्षमाथिको कारबाही फिर्ताबारे छलफल

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय स्थायी कमिटीको बिहीबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जनामाथिको कारबाही फिर्ता लिनेबारे छलफल भएको छ । ओलीले बिहीबार बिहान बोलाएको आकस्मिक स्थायी कमिटी बैठकमा कारबाही फिर्ता लिनेबारे छलफल भएको हो । पार्टीमा समानान्तर गतिविधि गरेको भन्दै वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई ६ महिना पार्टीबाट निलम्बन गरिएको छ। उता पार्टी एकता कायम  २८ फागुन गते  निर्णयमा पुनर्विचार गर्न तयार भएको सन्देश दिए पछि दोस्रो तहका नेताहरुले छलफल सुरु भएको हो । 

ओलीले २८ फागुनको आफू पक्षको बैठकबाट विधान संशोधन, पदाधिकारी हटाउने, केन्द्रीय सदस्यहरू थप गर्ने काम गरेपछि नेपाल समूहले ४–५ चैतमा राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो । सोही आरोपमा ओलीले नेपालसहितका नेतामाथि कारबाही गरेका हुन् । बालुवाटार बैठकमा गृहमन्त्री समेत रहेका नेता रामबहादुर थापा बादलले बाग्मतीबाट आफूले चुनाव हार्ने अवस्थामा उम्मेदवार नबन्ने बताएपछि अर्को सन्नाटा छाएको थियो । शुक्रवार उम्मेदवारी मनोनयन भए पनि एमालेले बिहीबार साँझसम्म उम्मेदवार तय गर्न सकेको छैन । 

२०७४ सालमा माओवादी केन्द्रका तर्फबाट नेता रामबहादुर थापा ‘बादल’ निर्वाचित भएका थिए । माओवादी केन्द्र छाडेर उनी एमाले प्रवेश गरेपछि रिक्त भएकोले उपचुनाव हुन लागेको हो । सो स्थानमा एमालेले पुनः बादललाई निर्वाचन लडाउन चाहे पनि उनी उपचुनाव लड्न तयार नभएको बताइन्छ । यो क्षेत्रमा ओली समूह बाहेक सबै विपक्षीहरूले साझा उम्मेदवार उठाउन लागेपछि ओलीलाई अर्को सकस परेको छ । बाग्मतीमा बादलविरुद्ध माधव नेपाल समूहले समेत विपक्षी दलसँग गठबन्धनको तयारी गरेको छ । माधव नेपाल समूह विपक्षी गठबन्धनमा सामेल भएमा बादललाई चुनाव जित्न सहज छैन । एमालेको बागमतीमा एकल बहुमत भए पनि नेपाल समूह निर्णायक छ । 

पार्टीमा लामो समयदेखि दम्भपूर्ण व्यवहार प्रदर्शन गर्दै आएका ओली गण्डकीदेखि लुम्बिनी हुँदै सङ्घीय सरकार र राष्ट्रिय सभाको उपनिर्वाचनमा समेत पराजित हुने अवस्था आएपछि माधव नेपाल समूहलाई फकाउन लागिपरेका छन् । बिहीबार साँझ नेपालसँग राष्ट्रपति विद्या भण्डारीले छलफल गरेकी छन् । यस्तै होटेल मेरियटमा ओली पक्षीय नेता विष्णु पौडेलले सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग छलफल गरेका छन् । पछिल्लो समयमा पार्टीभित्रको बहुमतको दम्भका कारण चौतर्फी राजनीतिक र संवैधानिक मर्यादा र सीमा नाघेर गरेका गतिविधिका कारण सङ्कट पर्न थालेपछि ओली पक्ष संवादमा जुटेको छ । संवादले निकास निकाल्छ या निकाल्दैन हेर्न भने बाँकी छ ।