'मुन्धुम ट्रेल' ध्वस्त हुनबाट जोगाउन : 'प्रोडक्ट' र आश्रयका लागि 'गोठ स्टे' उपयुक्त विकल्प

'मुन्धुम ट्रेल' ध्वस्त हुनबाट जोगाउन : 'प्रोडक्ट' र आश्रयका लागि 'गोठ स्टे' उपयुक्त विकल्प

टंक राई  |  पर्यटन  |  बैशाख २४, २०७८

पृष्ठभूमि

किराँत धर्मशास्त्र मुन्दुममा सलपा र शिलीचुङलाई अत्यन्त महत्त्व दिइएको छ । पवित्र र करिब करिब सर्वोच्च स्थान छ, सालपा र शिलीचुङको । यसै मुन्दुमी पवित्र गन्तव्यलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले शुरुवात गरिएको छ, 'मुन्दुम  ट्रेल' । चखेवादेखि सुरु हुने यो 'ट्रेल' शिलीचुङ्मा पुगेर सकिन्छ । मध्य पहाडी भूभागमा अवस्थित यो पदमार्ग लगभग ३००० मिटर  उचाइदेखि सुरु भई ४१५३ मिटर मा टुङ्गिन्छ । 

डाँडै डाँडा हिँड्नु पर्ने, प्रायः हिमाल देखिने र प्राकृतिक विविधताले भरिपूर्ण यो पदमार्ग नेपालको मध्य पहाडी पदमार्गहरूमा सबैभन्दा लोकप्रिय पदमार्ग हुने सम्भावना बोकेको गन्तव्य हो, मुन्धुम पदमार्ग । तर, यसलाई बचाउने, व्यवस्थित गर्ने काम चुनौतीपूर्ण छ ।

सामान्यतया पहाडी भूभागमा २५०० मिटर माथि बस्ती बस्ने गरिन्न । त्यस्तै यो पदमार्गमा कुनै गाउँ भेटिन्न । मानव बस्ती नभएकोले कुनै नौलो मान्छे त्यस ठाउँमा जाँदा बस्ने ठाउँ र पानीको मुहान थाहा नपाउँदा अलपत्र पर्ने सम्भावना हुन्छ ।

राम्रो घाँसे मैदान प्रशस्त भएकोले पशुपालनको उत्तम ठाउँ हो, यो । चखेवादेखि नै धेरै गोठहरू यो मार्गमा पाइन्छ । गाउँ घर नभेटिए पनि गोठहरूले मानवीय उपस्थिति गराएको छ । 

हाल नेपालमा 'होम स्टे' लोकप्रिय बनिसकेको छ । 'होम स्टे' भनेको घरमै पाहुना राख्ने व्यवस्था हो । नेपालको ग्रामीण पर्यटनको एक हिस्सा बनेको छ, यो । 'प्रोड्कट' पनि र पर्यटकका लागि पूर्वाधार पनि । तर मुख्य 'मुन्धुम ट्रेल'मा कुनै गाउँ छैन । त्यसैले यो पदमार्गमा 'होम स्टे' सम्भव छैन । (हाँस पोखरीको 'होम स्टे' वास्तविक 'होम स्टे' होइन । सिर्फ पाहुना घर हो । पर्यटकको मनोरञ्जन र बसोबासको व्यवस्था यो पदमार्गको चुनौती रहेको यो बेला 'गोठ स्टे' उपयुक्त विकल्प हुन सक्छ ।

'गोठ स्टे' 

जसरी घरमा पाहुना राख्ने 'होम स्टे' भनिन्छ, त्यस्तै हो गोठमा पाहुना राख्ने  'गोठ स्टे' । अहिले भएको गोठहरूमा पनि मानिस बस्छन् । यसलाई अलिकति सुधार गरेर पाहुना बस्न सक्ने बनायो भने काइदाको 'गोठ स्टे' हुन्छ । नयाँ 'प्रोड्क्ट' पनि, पर्यटकको सुविधा पनि।

गुराँस यस क्षेत्रको अर्को आकर्षण हो । दाउराका रुपमा यसैको धेरै विनाश भइरहेको छ । यसलाई तुरुन्त रोक्नु जरुरी छ । त्यसैले यो 'गोठ स्टे' सञ्चालन गर्न ढिला गर्न हुँदैन । आवश्यक तालीम र संयोजन गरी छिटोभन्दा छिटो सञ्चालन गर्न सके सबैलाई फाइदा नै हुनेछ ।

यो पदमार्गमा रहेका गाई, चौँरी र भेडाको धेरै गोठहरू पर्यटकको हाल पनि आश्रय बनेका छन् । यिनै गोठहरूलाई व्यवस्थित गरेर गोठ सेट् सञ्चालन गर्न सकिन्छ ।गोठहरूलाई अलिकति फराकिलो बनाउने लिपपोत गरेर सफा सुग्घर बनाउने चर्पी (सके नुहाउने ठाउँ पनि) को व्यवस्था गर्ने ओढ्ने, ओछ्याउनेको व्यवस्था गर्ने चुल्हो सुधार गर्ने ।यति व्यवस्था गर्न सके यो पर्यटकको आवाश बनाउन सकिन्छ । यसमा मनोरञ्जन समेत जोड्न सकिन्छ ।

किन 'गोठ स्टे' नै ? 

पर्यटन भनेको आफ्नै पना अर्थात् 'युनिक' हुनु पर्छ । सबै तिर भएको वस्तु वा गतिविधि हेर्न कोही आउँदैन । यो ट्रेलमा 'गोठ स्टे' सुरु गर्न सकियो भने यो आफैमा नौलो हुनेछ ।
अहिलेको समाजमा गोठ संस्कृति हराउँदै गएको छ । केही दशक अघिसम्म यो हाम्रो पहाडी र हिमाली जीवनको अभिन्न अङ्ग थियो । 'गोठ स्टे' ले हाम्रो इतिहास र पुरानो संस्कृति जोगाउन मद्दत गर्छ । कतिपय मानिस त यसैको लागि मात्र पनि आउँछन् ।

गाई, चौँरी, भेडा आदि जनावर नदेख्ने बालबालिका, किशोर र युवा जमात अहिले थुप्रै छन् । उनीहरूको लागि यो आफैमा प्रदर्शनी हुनेछ ।सहरमा उपलब्ध सुविधा सहर मै उपभोग गर्न सक्छन्, मानिसले । त्योभन्दा फरक स्वाद गोठले दिन्छ । सुविधा सम्पन्न होटेल लज जहाँ पनि खोल्न सकिन्छ । तर, जीवन्त गोठ चाहेर पनि अन्यत्र गर्न सकिन्न । त्यसैले यो आफैमा अनौठो 'प्रोडक्ट' हुन्छ । आफूसँग भएको कुरालाई व्यवस्थापन गर्न सजिलो र कम खर्चिलो हुन्छ ।

बसोबास र खानपान

राति क्याम्प फायर, चौँरी, भेडा तथा गाईहरू सँगसङ्गै मानिस, तर निश्चित दुरी कायम गरेर दूध धोएर ताजा दूध, घिउ, मोही खुवाउने अर्ग्यानिक खाना खुवाउने जङ्गली खानेकुरा खुवाउने, जस्तो कि च्याउ, निगुरो, सिस्नु, झ्याउ, कुकुर दाइने आदि जङ्गली फलफूल, जस्तै काफल, ऐसेलु, चुथ्रो आदि खास गरी शेर्पा र किरात राईको परम्परागत खाना खुवाउने  यसका साथै नाचगानको समेत व्यवस्था गर्न सकिन्छ ।

कठिनाइ 

यस क्षेत्रका गोठहरू मौसमी हुने गर्छन् । बर्खा याममा मात्र माथि आउने । यसलाई सधैँभरि कसरी सञ्चालन गर्ने ? गोठको प्रकृति घुमन्ते हुन्छ । त्यसलाई कसरी व्यवस्थापन गर्ने ? यसका अलावा सुरक्षा, सञ्चार, उपचार र उद्धार कसरी व्यवस्थित गर्ने ?

अन्तमा

'मुन्धुम ट्रेल' ध्वस्त हुनबाट जोगाउन, वन विनाश रोक्नु, मोटर बाटोबाट बचाउनु जरुरी छ ।  केही समय पछि नै मोटरको धुवाँ र आवाज नसुनिने गन्तव्य मानिसको सबैभन्दा प्रिय गन्तव्य हुनेछ । सालपा शीलीचुङ बाचाउन सक्यौं भने यसले अवसर र गौरव दुबै पाउने छ । यसका लागि माथिल्लो भेगका जनतालाई स्थानीय सरकारले ढुवानीमा अनुदान दिएर भए पनि 'भर्जिन ल्यान्ड' का रुपमा यश क्षेत्रलाई बचाउनु पर्छ ।

गुराँस यस क्षेत्रको अर्को आकर्षण हो । दाउराका रुपमा यसैको धेरै विनाश भइरहेको छ । यसलाई तुरुन्त रोक्नु जरुरी छ । त्यसैले यो 'गोठ स्टे' सञ्चालन गर्न ढिला गर्न हुँदैन । आवश्यक तालीम र संयोजन गरी छिटोभन्दा छिटो सञ्चालन गर्न सके सबैलाई फाइदा नै हुनेछ ।

https://hamrojalapa.blogspot.com बाट