दुःखले आर्जेको महासागरको डुबुल्की: न त स्विमिङ कस्टम, न त फेर्ने वस्त्र 'हाम्फालें छ्वाप्ल्याङ'!

नियात्रा

दुःखले आर्जेको महासागरको डुबुल्की: न त स्विमिङ कस्टम, न त फेर्ने वस्त्र  'हाम्फालें छ्वाप्ल्याङ'!

डा. सदानन्द कडेल  |  साहित्य  |  बैशाख २५, २०७८

जर्मनीको फ्र्यांकफर्ट विमानस्थलबाट उडेको ५४ मिनेट पछि विमानको झ्यालबाट देखिन्छ आन्ध्र महासागर ।  बत्तीस हजार फिटको उचाईमा उडीरहेको लुफ्थान्सा ५२० को सिट नम्बर ४० ‘के’ बाट तल नियालेर हेर्न हौसिन्छन् आँखाहरू । आँखाले भ्याएसम्म धरतीको आँगनमा निलो विस्कुन सुकाए जस्तो देखिन्छ । मलिन खालको निलो आकाशलाई महासागरको गाढा निलो रंगले गिज्याई रहेजस्तो लाग्छ । मलिन र गाढा निलोको बिचमा ठाउँ ठाउँमा देखिन्छन् सेता वादलका थुङ्गाहरु । मलाई ती सफेद थुङ्गाहरूसँगै विचरण गरूँ गरूँ जस्तो लाग्छ, झ्यालबाट खुसुक्क निस्किएर ।  बाहिर निस्किने त केवल कल्पना मात्र हो ।  प्लेनमै भए पनि ती थुङ्गाहरू माथि यात्रा गर्न पाउँदा दंग परेको छु ।   

क्षितिजमा कुनै भूभाग देखिदैन ।  जता हेर्‍यो  पानी पानी ।  कुनै छोटा र कुनै लामा गरेर १६-१७ वटा जति सेता धर्साहरू देखिन्छन् । ठुला धर्साको एक छेउमा पानी जहाज देखिन्छ ।  साना धर्साको एक छेउमा भएको चिजलाई राम्रो ठम्याउन सकिन्न ।  सायद ‘भुरा’ जहाजहरू होलान् ।  जहाज तिब्र गतिमा चल्दा निलो महासागर चलायमान भएर त्यस्ता धर्साहरू देखिने रहेछन् ।  साह्रै राम्रो मनमोहक दृश्य ! एकदम रमाइलो अनुभव भइरहेछ , भिडियो नै खिच्नु जस्तो  । 

बीस बर्ष अगाडि अहिले जस्तो भिडियो खिच्न मिल्ने मोबाइल फोन थिएन । साथमा भएको एउटा फुच्चे क्यामेराले तस्वीर पनि राम्रो खिच्न सकेन ।  त्यसैले कतिपय कुराहरूलाई नजरले कैद गरेर स्मृतिको ‘हार्ड डिस्क’ मा पठाउनु तथा डायरीको पानामा पनि लिपिबद्ध गर्नु बाहेक मसँग अरु कुनै उपाय बाँकी थिएन ।   

आन्ध्र (एटलान्टिक) महासागर माथि मन साह्रै रोमान्चित भएको बेलामा सानै देखी नयाँ ठाउँमा घुम्न जाने भने पछि हुरुक्कै हुने मान्छेको आँखा आगाडि आउँछन्, बाल्यकालका यात्राका सम्झनाहरु सिनेमाको पर्दामा देखिए झैं । 

दश बर्षको उमेर पनि ननाघ्दै बुवासँग पिरेर धादिङ्गको अमिल्टारबाट हिडेरै काठमाण्डौ गएको दृश्य अगाडी आयो ।  अनि रोई कराई गरेर आमासँग कान्द्रांगगढीको बाटो हुँदै हिडेर चितवन मामाघर गएको दृश्य पनि । त्रिभुवन राजपथको नौबिसेबाट पोखरासम्म जाने पृथ्वीराजमार्ग नबन्दासम्म मेरो गाउँ वरपर सडक नभएकोले गाडी चढ्न पाउने त कुरै थिएन ।  त्यतिबेला रेडियो नेपालबाट ‘जाउँन सरर, कन्काई बसैमा‍‍...’ भन्ने विज्ञापन आउँदा अचम्म लाग्थ्यो ।  ‘कस्तो होला त्यो कन्काई बस ? कत्ति रमाइलो हुँदो हो त्यो बसमा सरर यात्रा गर्दा ?’ यस्तै उत्सुकताले मनै फुरुंङ बनाउँथ्यो । 

बालुवामा एकछिन दौडिएँ–शरिरको पानी सुक्यो । झोलाबाट सर्ट निकालें । तौलिया जसरी बेरेर, भित्रि बस्त्र निकाल्दै पाइन्ट लगाएँ । धोई पखाली, निचोर नाचर गरेर, त्यसलाई झोलामा कोचिदिएँ । न त स्विमिङ्ग कस्टम, न त फेर्ने भित्रि बस्त्र, न त तौलिया नै ।  आखिर काम तमाम । ‘अड्काउ पड्काउ तेलको धुप’ हाल्न सिपालु छु नि त, आखिर नेपाली न परें ! 

सानैदेखि हरेक नयाँ ठाउँमा पुग्दा एकदम आनन्द आउँथ्यो । पछि अलिक बुझ्ने भए पछि पेसा बाहेकको आफ्नो रुचीको काम अर्थात ‘हबी’ नै ‘नयाँ ठाउँको भ्रमण’ भनेर लेख्न थालियो । चालीसको दशकमा जागिरको सिलसिलामा सुदूरपश्चिममा काम गर्न थाले पछि नयाँ ठाउँ भ्रमण गर्दा वा नयाँ ठाउँमा पुग्दा डायरी लेख्न सुरु गरियो ।  त्यसको निरन्तरता अहिलेसम्म  पनि छँदैछ ।  

‘हैट, यति लोभलाग्दो दृश्य अवलोकन गर्दै यात्रा गरिरहेको बेला के पुरानो कुरा सम्झेको होला ?’, आफैलाई मनमनै प्रश्न गर्दै म फेरी आन्ध्र महासागर माथिको आकाशमै तानेर ल्याउँछु आफ्नो दिमागलाई । 

प्लेनको टिभी स्क्रिनमा देखिने बारेको जानकारीले मलाई विभिन्न स्थान बारे बुझ्न सजिलो भइरहेको छ । अब स्क्रिनमा हेर्दै डायरीमा लिपिबद्ध गर्दैछु । यात्रुहरूसँगको भलाकुसारी र झ्याल बाहिरको दृश्यलाई पनि डायरीमा समेट्दैछु ।  

मसँगैको सिटमा हुने युवक कोलम्बियाको राजधानी बोगोटाका रहेछन् । हट्टाकट्टा, खाइलाग्दा र रसिला देखिने उनी कलाकार रहेछन् । गायन र पेंटिंगमा उनको विशेष रुची रहेछ । त्यसैले उनी आफ्नो सिट अगाडिको स्क्रिनमा सिनेमा भन्दा गीत सुन्न र हेर्नमा मस्त थिए । पल्लो सिटमा उनकी आमा छिन् । उनी पेसाले शिक्षिका रहिछन् । युवकलाई भेट्न तीन जना केटीहरू बेला-बेला आईरहन्छन् ।  क्याडबरी दिन्छन् ।  गफगाफ गर्छन् ।  गाला मुसार्छन्, जान्छन् ।  स्प्यानिश भाषा केही बुझिन्न ।  उनलाई नेपाल नामको देश छ भन्ने थाहै रहेनछ ।  

झ्यालबाट फेरी हेर्छु  ।  फेरी पनि निलो सिवाय केही देखिन्न । यतिबेला मलाई एक जना चर्चित नेपाली महिला साहित्यकारले एउटा अन्तर्वार्तामा भन्नु भएको कुरा सम्झना भयो । उहाँले भन्नु भएको थियो, ‘मेरो मरण एटलान्टिक महासागरमा उडिरहेको बेला प्लेन क्रयास् भएर होस् । ताकी आफन्त कसैले मेरो लास पनि देख्न नसकुन्’ ।   मलाई त्यतिबेला पनि ‘कत्ति निराशाजनक अभिव्यक्ति’ भन्ने लागेको थियो ।  कुनै दिन भेट भयो भने किन त्यसो भन्नु भएको भएर सोध्छु भन्ने लागिरहेको थियो ।  भेट गर्ने अवसर अझै मिलेको छैन । 

यसैबीच मलाई बिबिसीको समाचारको स्मरण हुन्छ । गत साल (सन् १९९९) लस एन्जलसबाट न्युयोर्क हुँदै इजिप्टको कायरो तर्फ उडेको इजिप्ट एरको विमान दुर्घटना भएर आन्ध्र महासागरमा खसेको थियो । त्यसमा रहेका २१७ यात्रुहरू महासागरमै हराएका थिए ।  त्यसको तीन बर्ष अघिमात्र (सन् १९९६) न्युयोर्कबाट रोम तर्फ उडीरहेको बोइंग ७४७ विमान आकाशमै बिष्फोट भइ आन्ध्र महासागरमा खसेर २३० यात्रुहरू बेपत्ता भएका थिए ।  यस्तो समाचार स्मरण गर्दै झ्यालबाट तल हेर्दा त अलिक डर डर लागेको जस्तो भयो । ‘हत्तेरिका ! के यस्तो कुरा सम्झिरहेको होला ?’ पश्चातापको मनोभावले मलाई अलिक गाले जस्तो भयो । तत्काल झ्यालबाट आफ्नो ध्यान प्लेनको टिभी तिर केन्द्रित गरेर मल्हम पट्टि लगाउन कोशिस गरें ।   

सात घण्टा २६ मिनेट पश्चात जहाज क्यारिबियन समुन्द्रको माथि पुगेको छ, ३९ हजार फीटको उचाईमा ।  यो समुन्द्र अमेरिकाको मियामी शहर र दक्षिण अमेरिकामा अवस्थित भेनेजुएलाको काराकस शहरको बीचमा रहेको जस्तो देखाउँदैछ नक्साले । यो समुन्द्र आन्ध्र महासागर जति निलो छैन ।  शायद घाम बढी भएर हुन सक्छ ।  यो समुन्द्रको पानी आन्ध्र महासागरमा मिसिने रहेछ ।  प्रशान्त महासागर तिर मिसिन चाही पनामा भन्ने मुलुकको भूभागले छेकेको सहजै देख्न सकिन्छ स्क्रिनमा । 

झन्डै सवा नौ घण्टा महासागर र समुन्द्र माथि उडेपछि तल जमिन देखियो । भिन्दै अनुभूति भयो । नक्शाको आधारमा यो जमिन भेनेजुएलाको हुनुपर्छ भन्ने लाग्यो । बस्ति अझै देखिएको छैन । मरुभूमि जस्तो मात्रै देखिन्छ । साह्रै सुखा तथा रुखो जमिन जस्तो छ । जमिन माथि उड्दा त्रिभुवन राजपथ बाइरोडको बाटोमा हिडे जस्तो लाग्ने रहेछ ।  अलिक ढुक्क क्या ! दुर्घटना भैहाले पनि, नौ बल्ड्याङ खाए पनि पानीमा डुब्ने चिन्ता नहुने । धादिंगको गल्छीदेखि नारायणगढसम्म यात्रा गर्दा जस्तो त्रिशुलीमा खसेर डुबिएला कि भन्ने डर नहुने ।   

एकैछिनमा भेनेजुएलाको राजधानी काराकस माथि पुगियो । त्यसपछि छिट्टैनै कोलम्बियाको भूभाग माथि प्रवेश गरे जस्तो लाग्यो । उडेको १० घण्टा पछि ‘अब हामी बोगोटा विमानस्थलमा ओर्लिदैछौं’ भन्ने सूचना आयो । सबै यात्रुहरु दंग परे । कोलम्बियाको भूभाग झन्डै नेपालकै जस्तो लाग्यो । स-साना पहाड र बीचमा स-साना नदीहरु । बस्ती पनि छरिएको ।  जर्मनीको जस्तो घना बस्ती नदेखिने माथिबाट हेर्दा ।  

मेरो अफिसको हाकिम दुर्भल मार्टीनेज इक्वेडरका नागरिक भएकाले उनले मलाई लामो हवाईयात्रामा खुट्टा, ढाड तथा जिउ दुख्ने हुँदा केही एक्सरसाइज पनि सिकाएका थिए ।  मैले त्यसको भरपुर उपयोग गरें। खुट्टा तथा सिंगो शरीर दुख्नु स्वाभाविक थियो किनकी काठमाण्डौ-ब्यांकक-जर्मनी हुँदै यहाँसम्म आइपुग्दा २४ घण्टा भन्दा बढीको यात्रा भइसकेको थियो । ट्रान्जिटमा खासै लामो समयको पर्खाई पनि थिएन ।  

दश घण्टा ३७ मिनेट लामो यात्रा पछि हामी दक्षिण अमेरिका स्थित कोलम्बियाको राजधानी शहर बोगोटामा उत्रियौं । त्यहाँ बालमैत्री विद्यालय सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन इक्वेडरको ग्वायाक्विल जान लागेका अफ्रिकी मुलुक बुर्किनो फासोका दुई जना र सेरालियोनका दुई जना तथा दक्षिण अमेरिकी देश कोलम्बियाका तीन जना साथीहरू भेटिए । अर्को मुलुकमा काम गर्ने आफ्नै अफिसका साथीहरू भेटिए पछि एकदम रमाइलो भयो । ट्रान्जिटमा केही घन्टा बसेपछि एभियांका (कोलम्बियन एर) मा चढेर ग्वायाक्विल तर्फ प्रस्थान गर्‍यौं । साँझको समय भएको हुनाले इक्वेडरको भूभाग केही देख्न भने  सकिएन ।  

ठ्याक्कै २५ घण्टा ३८ मिनेटको हवाई यात्रा पछि इक्वेडकरको ग्वायाक्विल एरपोर्टमा अवतरण गरियो । एरपोर्टमा भिसा लिन सजिलो रहेछ । निमन्त्रणा पत्र पनि नहेरी, के कामको लागि आएको भन्ने पनि नसोधी सजिलैसंग भिसा लगाइदियो ।  आगमन कक्षबाट बाहिर निस्किंदै गर्दा लोगो सहित ‘प्लान इन्टरनेशनल’ लेखेको प्लेकार्ड बोकेर केही मानिसहरू उभिएको देख्दा ढुक्क भइयो । उनीहरूले नै स्वागत गरेर पुर्‍याए होटेल सम्म । 

चौबिस देशका सहभागीहरू भएको अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा ‘नेपालको समुदायमा आधारित बालविकास कार्यक्रम उत्कृष्ट अभ्यासको रुपमा रहेको’ भन्ने सुन्न पाउँदा निकै आनन्दानुभुतिको महशुस भयो । 

चौथो दिनको बिहानै फिल्ड अवलोकन भ्रमणको लागि तयारी हुँदै थियो । अघिल्लै दिन सहभागीहरूलाई पाँचवटा समुहमा विभाजन गरिएको थियो । युनिपार्क होटेलको पार्किंग लटमा तयार भएका पाँचवटा बस मध्यको एउटा बसमा बसें म ।  यात्रा सुरु भए पछि मेरो मन चितवन राष्ट्रिय निकुन्जको मयूर झैँ नाच्न थाल्यो ।  गाउँमा गएर बालमैत्री विद्यालय कार्यक्रम अवलोकन गर्दा हुने सिकाइले मन लोभ्याएको थियो ।  अर्कोतिर कतै प्रशान्त महासागर पनि नजिकै छ कि ? त्यहाँ पौडी खेल्न पाइने हो कि ? भन्ने विचार मनमा आएकोले आफु पुलकित हुन पुगेको थिएँ । 

ग्वायाक्विल शहरकै छेउमा नदि माथि काठको खम्बामा स-साना छाप्रा रहेछन् । त्यसले बागमतीको किनार, ढाका तथा दिल्लीको सुकुम्बासी बस्तीको झल्को दिन्थ्यो । यसैबीच भारतका साथी शेष गिरीले भने, ‘यो त दिल्लीको स्लम एरिया जस्तै रहेछ । दिल्लीको स्लम त संसारकै ठुलो स्लम मध्यमा पर्दछ ।' 

सवा घण्टामा प्रोग्रेसो भन्ने ठाउँमा पुगियो । बालमैत्री विद्यालयका प्रधानाध्यापकले गेटमा आएर स्वागत गरे । विद्यालय व्यवस्थापन समितिलाई विद्यालय सरकार र बाल क्लबलाई बाल सरकार भन्ने चलन रहेछ । बाल सरकारका प्रतिनिधिहरूसँगको छलफल निकै नै रोचक र शिक्षाप्रद रह्यो । आधा दिनको अवलोकन भ्रमण फलदायी  नै रह्यो  ।
फर्किने सुरसार हुँदै गर्दा मैले प्रधानाध्यापकसँग ‘यहाँबाट प्रशान्त महासागरको किनार पुग्न कति समय लाग्छ ?’ भनेर सोधें । उनले ‘आधा घन्टामा सजिलै पुगिने’ बताए । ‘कुन उपायले सामुन्द्रिक तटमा पुग्ने निर्णय गराउने होला त ?’ भनेर सोचमग्न भएँ । तत्काल केही साथीहरूसँग कुरा राखें । बुर्किना फासोको साथीले आफु पनि भूपरिबेष्ठित मुलुककै भएकोले प्रशान्त महासागर तटमा जान इच्छुक भएको बताए । आन्ध्र महासागरमै जोडिएको देश भए पनि सेरालियोनका जोनले रुची जाहेर गरे । हिन्द महासागर नजिकै रहेको केन्याकी मार्गरेटले पनि प्रशान्त महासागरको ‘तटमा गएको छैन’ भनेर आज नै जानु पर्ने धारणा राखिन् । फिलिपिन्सकी लोर्ना, भारतका शेष गिरि र बंगलादेशका मोहम्मदले पनि सही थापे । नेपालीले प्रस्ताव राख्ने र अरु देशकाले समर्थन गर्ने सहमति भयो । 

दक्षिण अफ्रिकी क्षेत्रीय कार्यालयका कार्यक्रम सल्लाहकार पाउल बोडेले हाम्रो टोलीको नेतृत्व सम्हालेका थिए । उनलाई आवस्यक पृष्ठभूमि सहितको प्रस्ताव राख्दा सजिलै मान्न तयार भएनन् । उनले भने, ‘हामीले सेकेन्ड हाफमा होटेल फर्किनु पर्छ । अन्तिम सेसन बाँकी नै छ । समय बचत गर्न हामीले प्याक लन्च लिएर आएका छौं । बाटैमा गाडीमा खानको लागि ।’ अझै उनले थपे, ‘हामी महासागरको किनार तर्फ जाने हो भने बाँकी सेसनमा भाग लिन सक्दैनौं । अरु चार टोली सम्मेलन स्थलमा समयमै पुगेका हुनेछन् ।’ 

मैले बिनित भावले थप अनुरोध गर्दै भनें, ‘म संसारको सवभन्दा अग्लो ठाउँ सगरमाथाको देशबाट आएको हुँ । भूपरिबेष्ठित मुलुकबाट आएका मान्छेलाई समुन्द्री किनारमा पुग्नु अत्यन्तै ठुलो कुरा हुन्छ । हामी एशिया, अफ्रिका र युरोपबाट आएका सहभागीहरू छौं । हामी आफ्नो खर्चमा प्रशान्त महासागरको किनारसम्म आइपुग्न सक्दैनौं । हामीलाई केवल डेढ घण्टा भए पुग्छ । आधा घण्टा जान, आधा घण्टामात्र विचमा रमाउन र आधा घण्टा फर्किनको लागि । अनुमति दिनु भएमा आजको दिन हाम्रो लागि जीवनकै ऐतिहासिक दिन हुनेछ ।’ बुर्किना फासोका साथीले पनि थप अनुरोध गरे ।

मुसुक्क मुस्कुराउँदै पाउलले डेढ घण्टा भन्दा बढी समय नलगाउने शर्तमा स्वीकृति दिए । सबै खुशी भए । हामी हतार हतार गर्दै गाडी चढ्यौं । हरेकलाई छुट्टा छुट्टै दिईएको प्याक लन्च (दुई बोतल मिनरल वाटर, एक बोतल पेप्सी, ३ टुक्रा कुकिज्, एउटा स्याउ र सानो टुक्रा स्यान्डविच) खाँदै प्रशान्त महासागर तिर हुईकियौं । 

प्रशान्त महासागर र आन्ध्र महासागर बारे बाल्यकालमा सामान्य ज्ञानमा पढिएको थियो । त्यतिबेला चिट्ठी लेख्दा पनि ‘प्रशान्त महासागर भन्दा गहिरो सम्झना’ अनि ‘क्षितिज भन्दा बिशाल सम्झना’ भनेर लेख्ने चलन थियो । 

विश्वको अर्को छेउमा आएर महासागर अवलोकन गर्न जान लाग्दा अत्यन्तै मज्जा लाग्यो ।  केवल २५ मिनेटमै किनारमा पुगियो । छिट्टै नै पुर्‍याइदिएकोमा हामी सवै चालक प्रति कृतज्ञ थियौं ।  मैले ड्राइभरसँग हात मिलाउँदै भने, ‘मुचज ग्र्यासियस्’ ।  केही दिनको ग्वायाक्विल बसाइमा सिकेका यी दुई शब्दको अर्थ हो धेरै धन्यबाद ।   

गाडी नरोकिदै सबैलाई झर्न हतार भैसकेको थियो ।  सबैलाई आधा घण्टा भित्रैमा बसमा आइसक्न उर्दी जारी गरियो । म झोला बोकेरै दौडिएँ प्रशान्त महासागरको किनार तिर !

आहा... क्या राम्रो दृश्य ! आँखाले देखेभर निलो कन्चन पानीको महासागर ! एक पछि अर्को तँ छाड म छाड गर्दै निरन्तर आइरहेका छालहरू । खोरबाट भर्खर बाहिर आँगनमा आउन पाएको पाठोले झैँ बुर्कुसी मार्दै पुगें छालमा रमाइलो गर्न । छाल हुत्तिएर आउँदा भाग्दै फर्किने र छाल फर्केर जाँदा खेदे जस्तो गर्दै पछि पछि जाने गर्दा बिछट्टै रमाइलो । 
खासमा यो विच (तट) धेरै चर्चित खालको रहेनछ ।  छिट्टो फर्किनु पर्ने भएकोले अलिक नजिकैको सानो विचमा ल्याइएको रहेछ हामीलाई । यो झन् प्राकृतिक छटाले भरिपूर्ण छ ।  मान्छेको भिडभाड पनि कम ।  

किनारमा सफा बालुवा, छेउछाउमा रुखहरु, निलो कन्चन पानीले मनोरम वातावरण बिच उर्लेरहेको छालमा लडिबुडी गर्न मन लाग्यो । पौडी खेल्न मन लाग्यो । मलेखु खोला र त्रिशुली नदीमा पौडी खेल्दै हुर्किएको मान्छे म । जता गयो त्यतै पौडी खेल्न तम्सिने मान्छे । यो पटक समयको पावन्दी र सामग्रीको अभावले कक्रक्क हुन पुगें । 

इजरायलमा हुँदा भूमध्यसागर र मृत सागर (डेड सी)मा पौडी खेलेको सम्झना भयो । दिपायलमा बस्दा दुई बर्षसम्म सेती नदीमा पौडी खेलेर आनन्द लिएको स्मरण भयो । त्यस्तै, कर्णाली (जुम्ला) , रारा ताल (मुगु), शारदा (सल्यान), कालीगण्डकी (मुस्ताङ), राप्ती (हेटौडा), मरस्याङ्दी (गोरखा), बेत्रावती (रसुवा), तादी (नुवाकोट), इन्द्रावती र मेलम्ची (सिन्धुपाल्चोक), धादिङ्गका थोपल र महेशखोला आदिमा पौडी खेलेको सम्झनाले धैर्यताको बाँध तोडीदियो । फेरी प्रशान्त महासागरको किनारमा पुगिने हो कि हैन ? के ठेगान छ र ? यो ऐतिहासिक मौकालाई चुकाउन नहुने निष्कर्षमा पुगें म । 

‘बिना स्विमिङ्ग कस्टम र तौलिया कसरी पौडी खेल्ने त ?’ यो प्रश्न मनमनै खेलाउँदै म किनारको अलिक पर गएँ साथीहरूलाई छोडेर । ‘कोही नचिनेको ठाउँमा त के फरक पर्छ र स्विमिङ्ग कस्टम नभए पनि ? आखिर अरु पनि त कोहि रहेछन्, कस्टम बिना नै छालमा रमाउने ।’ यस्तै सोच्दै एकछेउमा लुगा खोलेर झोलामा राखें । अनि म बुर्कुसी मार्दै छाल तिर हानिएँ । मानौं, म ओलम्पिक खेलको सय मिटरको दौडमा भाग लिईरहेछु । पौडी खेल्न राम्रो जान्ने हुँदा मलाई कुनै डर लागेन । तथापी छालले तान्न सक्ने कुराको हेक्का राख्दै म प्रशान्त महासागरमा हाम्फालें छ्वाप्ल्याङ आवाज आउने गरी ।  एकपल्ट डुबुल्की मारेर टाउको निकाल्न लाग्दा छालले धकेलेर वरसम्म ल्याईदियो ।  मेरी बास्सै ... क्या रोमान्चित भएँ म ! भूपरिबेष्ठित सगरमाथाको देशबाट दक्षिण अमेरिका आएर प्रशान्त महासागरमा डुबुल्की मार्दाको आनन्दलाई व्यक्त गर्न खोज्दा शब्दाभावले नतमस्तक बन्छ मेरो दिमागको नेपाली शब्दकोष । 

श्राद्ध गर्न भन्दा सिदा पुर्‍याउन गाह्रो भने झैं ‘अब कसरी लुगा फेर्ने होला भनेर ? ’ म चिन्तनशील हुन पुगें . एउटा इन्डियन साथीले भन्थे, ‘आइडिया इज् ग्रेटर ड्यान इन्डिया’ । मैले पनि जुक्ति निकाली हालें । बालुवामा एकछिन दौडिएँ–शरिरको पानी सुक्यो । झोलाबाट सर्ट निकालें । तौलिया जसरी बेरेर, भित्रि बस्त्र निकाल्दै पाइन्ट लगाएँ । धोई पखाली, निचोर नाचर गरेर, त्यसलाई झोलामा कोचिदिएँ । न त स्विमिङ्ग कस्टम, न त फेर्ने भित्रि बस्त्र, न त तौलिया नै ।  आखिर काम तमाम । ‘अड्काउ पड्काउ तेलको धुप’ हाल्न सिपालु छु नि त, आखिर नेपाली न परें ! 

‘यो डुबुल्की दुःखले आर्जेको  थियो । यो ऐतिहासिक डुबुल्की पनि हो’ भन्ने मनमनै सम्झिदै आफु त आधा घण्टा भित्रै बसमा फर्किएँ । तर अन्य ६-७ जना साथी आएनन् । आधा घण्टा  भने पनि एकघण्टा लाग्यो बसमा फर्किन ।  पछि आउनेले ‘यो  क्षण ऐतिहासिक रहेको’ भन्दै ढिलो भएकोमा आत्मालोचना गरे ।  डच (नेदरल्याण्ड वासी) कडा हुन्छन् भनिन्छ तर पाउल त्यति रिसाएनन् । धैर्यवान रहेछन्  । 

हाम्रो टोली दुई घण्टा ढिलो होटेलमा पुगेकोले अपरान्हको सत्र सञ्चालन  हुन सकेन ।  अवलोकन भ्रमणको समिक्षाको सत्रलाई भोली बिहानको सेसन भन्दा आगाडी राखिएको र ब्रेकफास्टको समय छोट्याइएको जानकारी दिइयो । 

भोलीपल्ट बिहानको सत्रमा पाउलले नै ‘संसारको सवभन्दा अग्लो ठाउँ सगरमाथा भएको भूपरिबेष्ठित देश नेपालबाट आएका सहभागीको अनुरोध तथा अफ्रिकाका सहभागीहरूको समर्थनमा आएको महासागर तटमा जाने प्रस्तावले गर्दा ढिला भएको कुरा मार्मिक ढंगले भनिदिएँ । साथै, समुहकै तर्फबाट माफी पनि मागीदिए। पछि यो समुहमा नपरेर प्रशान्त महासागर जाने मौका नमिलेकोमा अन्य समुहका साथीहरू ‘थक्क थक्क’ भए  ।  

त्यो रोमान्चकारी डुबुल्की सम्झिदा अहिले पनि प्रशान्त महासागरका छालहरू दौडिन थाल्छन् मेरो दिल दिमागमा ।