चिनियाँ रकेटका भग्नावशेष हिन्द महासागरमा खसे

चिनियाँ रकेटका भग्नावशेष हिन्द महासागरमा खसे

लोकसंवाद संवाददाता  |  विदेश  |  बैशाख २६, २०७८

एजेन्सी । चीनको लङ मार्च ५बी रकेटका भग्नावशेष हिन्द महासागरमा आइतबार खसेको चिनियाँ अन्तरिक्ष इन्जिनियरिङ कार्यालयले जनाएको छ । 

गत अप्रिलमा प्रक्षेपण गरिएको उक्त रकेटले अन्तरिक्षमा चीनको पहिलो स्टेशन बनाउन मद्दत गर्ने लक्ष्य राखिएको थियो । 
कार्यालयका अनुसार चाङ झेङ ५बी नामको रकेट पृथ्वीको वायुमण्डलमा यही मे ९ तारिखको बिहान १० बजेर २९ मिनेटमा पुनः प्रवेश गरेको थियो, र उक्त रकेट हिन्द महासागरमा माल्दिभ्स नजिक खसेको थियो । 

पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नासाथ उक्त रकेटको अधिकांश भाग आगो लागेर ध्वस्त भइसकेको थियो, कार्यालयको विज्ञप्तिमा उल्लेख छ । 

गत बुधबार अमेरिकी रक्षा मन्त्रालयले अनियन्त्रित भएको चिनियाँ रकेटको आफूहरुले ट्र्याकिङ गरिरहेको जनाएको थियो । मन्त्रालयले यही साता उक्त रकेटका अवशेष पृथ्वीमा खस्ने बताएको थियो ।

शुक्रबार चीनले विज्ञहरुले चासो देखाए पनि अनियन्त्रित रकेटबाट पृथ्वीमा कुनै असर नपर्ने दाबी गरेको थियो ।