राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइई र कक्षा १२ को परीक्षा स्थगन गर्ने निर्णय

राष्ट्रिय परीक्षा बोर्डद्वारा  एसइई र कक्षा १२ को परीक्षा स्थगन गर्ने निर्णय

लोकसंवाद संवाददाता  |  शिक्षा  |  बैशाख २७, २०७८

भक्तपुर । आगामी जेठ १३ गतेदेखि सञ्चालन हुने एसइई र जेठ २६ गतेदेखि हुने कक्षा १२ को परीक्षा स्थगन गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि दुवै परीक्षा स्थगन गर्ने निर्णय गरेको हो । 

कोभिड–१९ को महामारी बढिरहेको र सरकारले पनि यथास्थितिमा परीक्षा सञ्चालन नगर भनेकाले यही अवस्थामा परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नरहेकाले तत्कालका लागि दुवै परीक्षा स्थगन गरिएको  परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिनुभयो । परीक्षा अब कहिले हुन्छ भन्ने बारेमा पुनःछलफल गरी अर्को सूचना प्रकाशन गरी जानकारी गराइने उहाँले बताउनुभयो ।

कोरोना महामारीबीचमा एसइईका लागि देशभरका दुई हजार १९ परीक्षा केन्द्रमा परीक्षा दिने तयारीमा रहेका पाँच लाख १७ हजार विद्यार्थीलाई परीक्षामा सहभागी गराउन सक्ने अवस्था नरहेको बैठकले निष्कर्ष निकालेको बताइएको छ ।

बोर्डका अनुसार बैठकले एसइई र कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्ने भन्नेबारेमा अध्ययन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालका संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । सो कार्यदलले समग्र अवस्थाको अध्ययन गरी कोरोनाको सङ्क्रमण कायमै रहेर भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नभए के कसरी परीक्षा सञ्चालन गर्ने भन्नेबारेमा ढाँचा तयार गर्ने बताइएको छ । 

गत वर्ष पनि कोरोना भाइरसको महामारीका कारण एसइईका परीक्षार्थीलाई विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनका आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष अब कसरी हुन्छ भन्ने निर्णय हुन बाँकी  छ । यस वर्षको एसइई परीक्षाका लागि आवश्यक प्रश्नपत्र छपाइको काम सम्पन्न भइसकेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 

त्यस्तै  कक्षा १२ को परीक्षा पनि कहिले हुन्छ भन्ने निर्णय हुन बाँकी  छ । कक्षा १२ मा करिब चार लाख परीक्षार्थीको सहभागिता हुने छ । बोर्डले यस वर्ष कक्षा १२ को परीक्षाका लागि अनलाइनबाट प्रश्नपत्र पठाउने तयारी गरेको थियो । गत वर्ष पनि कोरोना महामारीबीच अनलाइनबाटै प्रश्नपत्र पठाएर घरपायक परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।