बीथोवनको ‘नाइन्थ सिम्फनी’

बीथोवनको ‘नाइन्थ सिम्फनी’

सुशोभित सिंह सक्ताक्त  |  समाज  |  बैशाख १३, २०७६

बीथोवन भन्ने गर्थे, ‘मानिस भन्छन्– ईश्वरले मानिससँग कुरा गर्दैनन् । तर, मेरो कानमा ऊ यति ठूलो स्वरले बोल्छ कि म बहिरो हुन पुगेँ ।’ 

मृत्यु हुनुभन्दा तीन वर्षअघि जब बीथोवनले ‘नाइन्थ सिम्फनी’ बनाएका थिए, त्यो बेलासम्म उनी पूर्णरूपमा बहिरो भइसकेका थिए ।

उनले ७० मिनेटको त्यो ‘कोरल सिम्फनी’ आफ्नो अन्तरबोधको औंला समाएर रचना गरेका थिए । भियनाको आकाशमा जब त्यो सिम्फनी पहिलोपटक गुञ्जियो, बीथोवनले त्यसलाई सुन्न सकेका थिएनन् । उनले आफूले रचेको त्यो सिम्फनीलाई कानले नभएर कुनै सरीसृपका भाँति आफ्नो छाला र शरीरको माध्यमबाट अनुभव गरेका थिए । 

सन् १८२४ मे ७ मा भियनाको क्यार्नटनेर्टर थिएटरमा ‘नाइन्थ सिम्फनी’को पहिलो प्रिमियर भएको थियो । थिएटरका केपेलमिस्टर माइकल उम्लाफले भनेका थिए, ‘म यसलाई कन्डक्ट गर्छु, किनकि बहिरो संगीतकारले सिम्फनी लेखी त दिए तर, यति ठूलोे आर्केस्टा र कोरसलाई उनले कन्डक्ट गर्न सक्दैनन् ।’ 

यो कुनै पनि ठूलो संगीतकारको पहिलो सिम्फनी थियो, जसमा मानव आवाजको प्रयोग भएको थियो । बीथोवनले शिलरको कविता ‘ओड टु ज्वाय’लाई आफ्नो सिम्फोनीको अन्तःस्थलमा राखिदिएका थिए, जसका लागि निष्णात गायकका कण्ठ नै प्रयोग गरिएका थिए । 

प्रदर्शन सुरु भयो । बीथोवन आफ्ना सिम्फनीको नोट लिएर बसे । र, पाना पल्टाइरहे, टेम्पो दिइरहे । त्यसपछि उनी उभिएर केपेलमिस्टरसँगै सिम्फनी कन्डक्ट गर्न थाले । जुन बेला आर्केस्टा उच्च पिचमा जान्थ्यो, त्यो बेला उनी आगोको ज्वालाझैं तन्किन पुग्थे । र, जब आर्केस्टा तल्लो आक्तेभमा आएर शान्त हुन्थ्यो, बीथोवन सर्पजस्तै कुन्डली मारेर भुइँमा बस्थे । ऊ आफ्नो सर्वोत्कृष्ट रचना, आफ्नो ‘मैग्नम आँपस’लाई यो क्षणमा एक्लै कसरी छाड्न सक्थ्यो ! 

प्रस्तुति समाप्त भयो । तर, बीथोवनको बेटन अझै पनि गुञ्जरित भइरहेको थियो । ऊ आफ्नो सिम्फनीसँग तालमा ताल मिलाउन समर्थ थिएन । र, दर्शकदीर्घातिर पिठ्यूँ देखाएर उभिएको थियो । यहीबेला उसको कोरस ग्रुपको एउटा आल्टोे गायक केरलिनले अघि बढेर बीथोवनको अनुहार ताली बजाइरहेका दर्शकतिर फर्काइदिइन् । बीथोवनले मन्त्रमुग्ध भएर सयौं हात हल्लिरहेको देखे, उनका लागि यो सपनाजस्तै थियो । केही प्रशंसकले गोजीबाट रुमाल झिकेर हल्लाइरहेका थिए । बहिरो संगीतकारको गला अवरुद्ध हुनपग्यो, मानौं उसको कलेजोमा पानी भरिएको थियो । 

शिलको जुन कवितालाई बीथोवनले यस सिम्फनीमा हालेर इतिहास रचेका थिए, त्यो कविता यि शब्दबाट प्रारम्भ हुन्छ–
‘ओह फ्रिउन्डे, निष्त डिज ट्योने...’ 
(ओहो ! मेरा मित्र, होइन यि ध्वनि होइनन् । हामीलाई योभन्दा धेरै सुन्दर र प्रमुदित स्वर चाहिन्छ...।) 

ती तिनै सुन्दर र प्रमोदित स्वर थिए, जुन ईश्वरले मात्र र मात्र बीथोवनका कानमा भनेका थिए– बिस्तारै र कानेखुसी गरेर होइन, वरन बेस्सरी चिच्याएर भनेका थिए । जसले गर्दा बीथोवन बहिरो बनेका थिए । त्यो बीथोवन जुन पश्चिमको सबैभन्दा ठूलो संगीतकार थियो ।