प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा वाराणसी सिटबाट नामांकन दर्ता

प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा वाराणसी सिटबाट नामांकन दर्ता

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १३, २०७६

वाराणसी । प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा चुनावका लागि शुक्रबार वाराणसीबाट नामांकन दर्ता गराएका छन् । उनले बिहान ११ः४० बजे भाजपाका आधिकारिक प्रत्यासीका रूपमा आफ्नो नामांकन दर्ता गराएका हुन् । 

नामांकन दर्तापछि मिडियासँग कुराकानी गर्र्दै उनले भने, ‘काशीवासीलाई धन्यवाद, पाँच सालपछि पुनः काशीमा छु । यति लामो रोड सो काशीवासी नै गर्न सक्छन् ।’ 

उनले सबै मतदातालाई भोट दिएर देशलाई बलियो बनाउन मतदातासँग आग्रह गरेका छन् । ‘केही मानिस मलाई जिताउन माहोल बनाउन लागिरहेका छन् । ती मानिसको कुरामा नलाग्नुस् । सबैलाई धेरैभन्दा धेरै भोट दिएर देशलाई बलियो बनाउनुस्,’ उनले भने । 

मिडियासँगको कुराकानीपछि उनले गठबन्धनका नेतासँग भेटघाट गरेका थिए । 

त्यसअघि मोदीले वाराणसीमा कार्यकर्तालाई सम्बोधन गरेका थिए । त्यसलगत्तै उनी काशी कोतबाला बाबा कालभैरवको दर्शन गर्न गएका थिए । 

मोदीले वाराणसीबाट लगातार दोस्रो पटक नामांकन गरेका हुन् । सन् २०१४ मा मोदी यही सिटबाट चुनाव जितेर प्रधानमन्त्री बनेका थिए ।