मंगलमा पनि झट्का

मंगलमा पनि झट्का

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  बैशाख १३, २०७६


काठमाडौं, एजेन्सी 

पृथ्वी बाहिर मानव बस्ती बसाउने कार्यमा वैज्ञानिकहरु वर्षैंदेखि लागिपरेका छन् । उनीहरुले यसका लागि पहिलो अन्वेषण चन्द्रमामा गरे । चन्द्रमामा पानी प्राप्त गर्न कठिन भएपछि उनीहरुको यात्रा मंगल ग्रहतर्फ मोडियो । मंगलमा मानव वस्ती विकासका लागि उनीहरुको अथक प्रयास जारी नै छ । 

मंगलमा पानी भएको अपुष्ट समाचारले कहिलेकाँही वैज्ञानिकहरु पुलकित हुने गर्छन, मानव बस्ती विकासका लागि । तर यस पटक नासाको एउटा समाचारले वैज्ञानिकहरुलाई केही चिन्तित बनाएको छ । यसको कारण हो, चन्द्रमा तथा मंगल ग्रहमा पनि भूकम्पको झट्का महसुुुस गरिएको छ । 

पृथ्वीमा भूकम्पको भयले सताएको मनुवालाई चन्द्रमा तथा मंगलमा पनि नछोड्ने देखिएको छ । पृथ्वी तथा चन्द्रमाको सतहमा हुने कम्पनका बारे वैज्ञानिकलाई जानकारी थियो र यसका बारेमा धेरै सूचना तथा तथ्यका बारे प्रशस्त जानकारी एकत्रित गरिसकिएको छ । तर मंगल ग्रहका बारे भने यसको जानकारी पहिलो पटक भएको हो । 
नासाले मे २०१८मा सतहको कम्पन सम्बन्धी अध्ययनका लागि इनसाइट नामक यान मंगलमा पठाएको थियो । 

मंगलमा उत्रिएको करिब पाँच महिना पछि एनसाइट यस अध्ययनलाई पुष्टि हुने समाचार पठाएको थियो । वैज्ञानिकहरु यसबारेमा एकिन भएपश्चात मात्र यो जानकारी सार्वजनिक गरिएको हो । नासा को  क्यालिफोर्निया स्थित जेट प्रोपल्शन लेबोरोटरी (जेपीएल) का वैज्ञानिकले पहिलो पटक मंगल ग्रहको सतहमा पहिलो पटक यस्तो कम्पनको गतिविधि रेकर्ड गरिएको हो । यसलाई मार्सक्वेक नाम दिइएको छ । पृथ्वीभन्दा बहिर कुनै पनि ग्रहमा रेकर्ड गरिएको यो नै पहिलो सतहको कम्पन हो । 

मंगलमा उत्रिएको १२८ दिन पश्चात सतहको कम्पनका लागि जडान गरिएको यन्त्रमा हलचल देखिएको थियो । यसले वैज्ञानिकहरु उत्साहित देखिएका थिए । मंगलको सतह भित्र भएको कम्पनका बारेमा अहिले पनि अध्ययन भै रहेको छ जसले कम्पनको कारण पत्ता लगाउन सकियोस । तर पनि वैज्ञानिकहरु एउटा निष्कर्षमा पुगेका छन् कि यो मंगलको भित्री सतहको नै कम्पन हो । 
हुनत मंगलमा हावा हुरीका कारण पनि सतहमा हलचल हुने गर्छ तर ६ अप्रिलमा भएको यो हलचल अलग किसिमको हो । वैज्ञानिकहरुले मंगलको सतहमा हुने आवाजको पनि अध्ययन गरिरहेका छन् । यदि हावाका कारण हलचल भएको भए हावा चलेको आवाज सुनिन्थ्यो । तर यो सामान्य र कमजोर खालको कम्पन थियो । 

अपोलो अभियान अन्र्तगत चन्द्रमामा सन् १९६९ देखि १९७७ सम्म यस्तो हजारौं कम्पन रेकर्ड गरिएको थियो जो मंगलमा भएको कम्पनसँग मेल खान्छ । 
५ मे २०१८ मा प्रक्षेपण गरिएको इनसाइट यान २६ नोभेम्बरमा मंगलको सतहमा पुगेको थियो । ४८.३ करोड किमि यात्रा गरेको यस यानको तौल प्रक्षेपणको समयमा ६९४ किग्रा तौल रहेको यानको तौल अवतरणको समयमा ३५८ किग्रा  थियो ।