आगामी तीन साता अत्यन्त कठिन अवस्था: डा पाण्डे

आगामी तीन साता अत्यन्त कठिन अवस्था: डा पाण्डे

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २९, २०७८

काठमाडौं । जनस्वास्थ्यविद डा रविन्द्र पाण्डेले आगामी तीन साता नेपालको लागि अत्यन्तै कठिन अवस्था हुने बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै डा पाण्डेले आगामी तीन साता कोरोना संक्रमण तीव्र गतिमा फैलिने बताउनुभएको हो ।

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो । सकभर खाद्यान्न दैनिक किन्ने नगरौं ।’ डा पाण्डेले आम सर्वसाधारणामा आग्रह गर्नुभएको छ ।

पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित छन् भनेर निस्किनै परे डबल मास्क लगाएर निस्कन आग्रह गर्दै उहाँले भन्नुभएको छ ‘६ फिटभन्दा धेरै दुरी कायम गरेर, हात साबुनपानी र स्यानिटाइजरले सफा गरेर सुरक्षित बनौं, भेटघाट बन्द गरौँ ।’ यो ३ हप्ता दुख सह्यौं भने संक्रमणको दर घट्दै जाने उहाँको भनाइ छ । ‘रोकथामभन्दा उपचार निकै कठिन र जोखिमपूर्ण छ ।’ उहाँले भन्नुभएको छ ।

यसपटकको कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाज नगर्न आग्रह गर्दै सरकारले कडाइ गरेको हाम्रै लागि हो भन्दै आम सर्वसाधारणलाई कडा सेल्फ लकडाउनमा बस्न उहाँले आग्रह गर्नुभएको छ ।