श्रीलंका विस्फोटबारे राष्ट्रपति मैत्रिपाला सिरिसेनाको स्पष्टोक्ति : सुरक्षा अधिकारीले रिपोर्ट दिएनन्

श्रीलंका विस्फोटबारे राष्ट्रपति मैत्रिपाला सिरिसेनाको स्पष्टोक्ति : सुरक्षा अधिकारीले रिपोर्ट दिएनन्

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १३, २०७६

श्रीलंकामा श्रृंखलाबद्ध बम विस्फोट हुनअघि नै भारतले श्रीलंकाका सुरक्षा अधिकारीलाई इन्टेलिजेन्स रिपोर्ट दिएका थिए । राष्ट्रपति मैत्रिपाला सिरिसेनाले त्यो रिपोर्ट आफूले नपाएको बताएपछि प्रहरी प्रमुख पुजीत जय सुन्दराले पदबाट राजीनामा गरेका छन् । 

कोलम्बो । श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले देशमा भएका आतंकी हमलाबारे महत्वपूर्ण बयान दिएका छन् । 

एउटा मित्र देशले सुरक्षा सम्बन्धमा दिएको इन्टेलिजेन्स रिपोर्ट सुरक्षा अधिकारीले आफूसमक्ष पुग्न नदिएको उनले बताएका छन् । 

यसअघि बिहीबार नै राष्ट्रपति सिरिसेनाले रक्षा सचिव हेमसिरी फर्नाडो र प्रहरी प्रमुख पुजित सुन्दरालाई राजीनामा गर्न भनेका थिए ।

आतंकी हमला हुन सक्ने गोप्य जानकारी हुँदाहुँदै पनि यसलाई रोक्न नसक्नु सुरक्षामा ठूलो कमजोरी रहेको श्रीलंका सरकारले स्वीकार गरेको छ । 
अन्तर्राष्ट्रिय आतंकी संगठन इस्लामिक स्टेट समूह (आइएसएस)ले उक्त हमलाको जिम्मेवारी लिएको छ । श्रीलंका सरकारले भने यस हमलामा स्थानीय इस्लामिक आतंकी संगठन नेशनल तौहीद जमात (एनटिजे) संलग्न रहेको दाबी गरेको छ । आतंकी हमलामा संलग्न रहेको आरोपमा सुरक्षा एजेन्सीले ७६ जनालाई हिरासतमा लिएको छ ।

सरकारी तथ्यांक अनुसार श्रीलंकामा भएको विस्फोटमा अनुसार २५३ जनाको मृत्यु भएको थियो, मृत्यु हुनेमा ३८ विदेशी नागरिक छन् । उक्त विस्फोटमा झण्डै ५०० जना घाइते छन् ।