स्वास्थ्य प्रणाली करिब करिब ‘कोल्याप्स’ उन्मुख : अस्पताल र मेडिकल कलेजले 'हात झिक्दै' ?

लोकसंवाद टिप्पणी

स्वास्थ्य प्रणाली करिब करिब ‘कोल्याप्स’ उन्मुख : अस्पताल र मेडिकल कलेजले 'हात झिक्दै' ?

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ३०, २०७८

‘बसाई हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँदछ, लाखौँको लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्ग छ’ दसकौँ अघि गायक जेबी टुहुरेले गाएको यो गीत अझै उत्तिकै सान्दर्भिक छ । यही गीत गाएर वा सुनेर कम्युनिस्ट भएकाहरूको शासन सत्ता मुलुकमा छ तर जनताको जीवनस्तरमा खासै परिवर्तन हुन सकिरहेको छैन। नेपालमा पटक पटक व्यवस्था फेरिए पनि अवस्था नफेरिँदाको पीडा यति बेला नेपालीहरूले टुलुटुलु हेरेर बस्नुको विकल्प छैन । 

२०७२ को भूकम्पमा नेपालले ठुलो क्षति व्येहोर्‍यो। भूकम्पले नेपालको स्वास्थ्य प्रणाली, आर्थिक वितरण र सामाजिक अवस्थालाई सबैका सामु ल्याइदिएको थियो। भूकम्पबाट थातथलो र बास बस्ने घर गुमाएकाले लामो समयसम्म घर बनाउने अवस्था रहेन । हिउँदको चिसो र वर्षाको भेलमा नै कष्टकर जीवन बिताउनु  भूकम्प पीडितको नियति नै बन्यो । जसोतसो भूकम्पबाट तङ्ग्रिन लागेको बेलामा कोरोना महामारीबाट गुज्रनु परिरहेको छ । 

यति बेला नेपाल मात्र होइन, विश्व नै  कोरोना भाइरसको दोस्रो लहरको चपेटामा परेको छ। यसबाट नेपाल अछुतो रहने भन्ने कुरै हुँदैन । भूकम्पमा नचेतेको सरकार महामारीमा पनि चेतिरहेको छैन । २०१९ को डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना महामारी विश्वव्यापी बनेको छ । यसका विभिन्न भेरियन्टहरु झनै सङ्क्रामक देखिएका छन्। दक्षिण अफ्रिकी भेरियन्ट, ब्राजिली भेरियन्ट, युके भेरियन्ट, भारतीय भेरियन्टजस्ता सङ्क्रामक भेरियन्टका कारण ठुलो सङ्ख्यामा सर्वसाधारणले ज्यान गुमाइरहेका छन् । कोरोना भाइरसको पहिलो लहरमा भन्दा दोस्रो लहरमा ब्राजिल र मेक्सिकोमा पहिलो लहरभन्दा दुई गुणा र भारतमा तीन गुणा बढीले ज्यान गुमाएका छन् । सङ्क्रमणको तुलनामा सबैभन्दा बढी मृत्युदर दक्षिण अफ्रिकामा ३.४ प्रतिशतसम्म पुगेको छ । 

विश्वव्यापी महामारीका रुपमा आएको कोरोनाको दोस्रो लहरका कारण नेपालमा पनि ठुलो सङ्ख्यामा सङ्क्रमित थपिइरहेका छन् भने ज्यान गुमाउनेको सङ्ख्या पनि दैनिक जसो बढिरहेको छ । सङ्क्रमितको उपचार नपाएर घरमा, बाटोमा, अस्पताल परिसरमा नै मृत्यु भइरहेको छ । बेड र आइसियु र अक्सिजन नपाएर मर्नेको सङ्ख्या बढ्दो छ । नेपालको स्वास्थ्य प्रणाली पहिलेबाट नै अव्यवस्थित थियो । महामारीले दुई सातामै स्वास्थ्य प्रणाली करिब करिब ‘कोल्याप्स’ बनेको अवस्था छ । कोरोना सङ्क्रमितले जोखिम मोलेर घरमै बस्ने वा अस्पताल पुगेर पनि बेडभन्दा बाहिरै बस्न तयार हुनुपर्ने अवस्था छ । कतिसम्म भने काठमाडौँ उपत्यकामा नै रहेका चर्चित मेडिकल कलेजहरूले अक्सिजन अभावमा बिरामी डिस्चार्ज प्रेस विज्ञप्ति मार्फत गर्न थालेका छन् । अतरखेल स्थित नेपाल मेडिकल कलेजले २०७८ वैशाख २९  मै सबै बिरामी डिस्चार्ज गरेको जनाएको छ भने सिनामंगलकाे काठमाडौँ मेडिकल कलेज समयमा नै  अक्सिजन उपलब्ध नगराए  बिरामी डिस्चार्ज गर्ने चेतावनी दिएको छ ।  कृतिम अभाव सृजना गर्नेदेखि पहुँचवालाले अनावश्यक 'स्टक' राखेका कारण पनि अस्पतालहरुले नपाउने अवस्था सृजना भएकाे हाे । 

सङ्क्रमितमा अक्सिजन कम भयो भने समयमा अक्सिजन पाएर जीवन बचाउने सम्भावना कम बनेको छ । अस्पतालले अक्सिजन, बेड र सेवाको अभावमा सूचना निकालेर बिरामी भर्ना लिन छाडेका छन् । यस पटकका सङ्क्रमितमध्ये अधिकांशलाई अक्सिजनको सपोर्ट चाहिएको छ । जसका कारण नयाँ बिरामीले अक्सिजन, बेड र आइसियु वा भेन्टिलेटर पाउन पुरानो बिरामी निको हुनुपर्ने वा मरिसकेको हुनुपर्ने अवस्था सिर्जना भएको छ । कोरोना सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या बढे पनि एउटै आशाको कुरा भनेको निको हुने सङ्क्रमितको सङ्ख्यामा पनि वृद्धि हुँदै गइरहेको छ । सरकारले अस्पताललाई दिने अक्सिजनमा पनि कोटा प्रणाली र सीसीएमसीको निर्णयपछि मात्रै पाउने निर्णय गरेपछि पहुँच नभएका बिरामीहरू झनै सङ्कटमा परेका छन् । अहिले बिरामीहरूको आशा चिकित्सकहरूमा टिकेको छ । तर चिकित्सक आफैँ सङ्कटको सामना गरिरहेका छन् । 

यस्तो अवस्थामा पनि सरकार, राजनीतिक दल र तिनका नेताहरूलाई सत्ताको छिनाझम्टीका कारण जनतालाई सम्झिने फुर्सद मिलेको छैन । कुन सांसदलाई कताबाट रोक्ने, कुन प्रदेशमा मन्त्री थप्ने र हटाउने, कसलाई कुन कर्नरमा पारेर आफूसँग आउन बाध्य बनाउने, कुन सांसदलाई तटस्थ पारेर वा राजीनामा गराएर अर्कोतिर बहुमत देखाउने भन्नेजस्ता राजनीतिका अति नै घृणित खेलमा सरकार र दलहरू लागेका छन् । जसले गर्दा राज्यको स्तरबाट कोरोना नियन्त्रणमा जुन प्रकारको भूमिका हुनुपर्दथ्यो त्यो हुन सकेको छैन । नेपालले कोरोना महामारी नियन्त्रणका लागि पर्याप्त समय पायो । तर यो समयलाई सदुपयोग गर्न सकेन ।

गत वर्ष लामो लकडाउन लगाएर राख्यो, त्यस समयमा आवश्यक मात्रामा स्वास्थ्य सामग्रीसहित महामारीको सामना गर्न सरकार लागेन । कोरोना सङ्क्रमण विश्वमा भयावह अवस्थामै रहँदा नेपालमा भने नेताका स्वार्थअनुसारका ठुला र्‍याली, जुलुस, आमसभा गर्न सरकार र विपक्षीहरू लागे । जसको फलस्वरूप यति बेला देश भयावह अवस्थाको सामना गरिरहेको छ। नेताहरुले सत्ताको लडाइमा मस्त छन् । नेपालमा महामारीको भयावह अवस्था र राजनीतिक दलका गतिविधिले यति बेला सरकार, राज्य, राजनीतिक दलहरूको अस्तित्व र जिम्मेवारीमाथि गम्भीर प्रश्न खडा भएको छ ।

सङ्कटको समयमा अभिभावकत्व लिनुपर्ने सरकार नै मानवीय संवेदना भुलेर सत्ता मस्त भएर बसेको छ। जनताको जीवन भन्दा बालुवाटार, शीतल विवास, अध्यादेश, राजनीतिक नियुक्ति, उद्घाटन र शिलान्यास सरकारको प्राथमिकतामा परिरहेको छ । कोरोनाविरुद्धको खोप ल्याउनका लागि कूटनीतिक पहल गर्न, स्वास्थ्य सामग्री खरिद गर्न सरकारसँग पर्याप्त समय थियो । तर समय हुन्जेलसम्म चुनावको कथित ड्वाङ पिट्नैमा फुर्सद मिलेन । यति खराब अवस्था आउँदा समेत सरकार निषेधाज्ञा लगाएर ढुक्कैसँग बसेको छ । छिमेकी मुलुक भारतमा ठुलो मात्रामा कोरोना फैलिसक्दा पनि सीमानाकामा कडाइ गरिएन, परीक्षण, क्वारेनटाइन र कन्ट्याक्ट ट्रेसिङ नगर्दा भुसको आगोजस्तै भित्रभित्रै सङ्क्रमण समुदाय स्तरमा फैलिन पुगेको छ । 
विश्वमा नै कोरोना महामारीलाई जुन देशका नेता र सरकारले गम्भीरतापूर्वक लिए, त्यहाँ कम क्षति भएको छ । जसले कोरोनाबारे भ्रम फैलाए ती देशमा कोरोनाले ठुलो क्षति गरेको छ । अमेरिका, ब्राजिल यसको ज्वलन्त उदाहरण हुन् । नेपालमै प्रधानमन्त्रीले नै कोरोना केही होइन, बेसार पानी खाँदा ठिक हुन्छ, नेपालीको इम्युनिटी पावर बढी छ, गुर्जो र अम्बाको पातैले ठिक हुन्छ भन्नेजस्ता हावादारी, तथ्यसँग मेल नखाने र वैज्ञानिक रुपमा अप्रमाणित कुराले भ्रमित तुल्याउने काम भयो ।

जसको परिणाम आज तपाई हाम्रासामु छ । नेताहरू बिरामी भए भने सामान्य रोगको उपचारका लागि पनि विदेश धाउने, स्वदेशमा अस्पताल, भौतिक सुविधा, स्वास्थ्य सामग्री पर्याप्त नबनाउनुको परिणाम आज हामी महामारी धान्न असक्षम भइरहेका छौँ । राज्यले महामारी नियन्त्रणका लागि निषेधाज्ञालाई मात्रै उपाय बनाउँदा निम्न आय भएकाहरू लामो यात्रा पैदल हिँडेर थातथलो फर्किन बाध्य भइरहेको कारुणिक र टिठ लाग्दा दृश्यले यो देश अझै सीमित उच्च घरानाका लागि मात्रै स्वर्ग बनिरहेको छ।