रेडियो थेरापी भनेको के हो ? क्यान्सर रोगमा रेडियो थेरापीको के भूमिका हुन्छ ?

रेडियो थेरापी भनेको के हो ? क्यान्सर रोगमा रेडियो थेरापीको के भूमिका हुन्छ ?

डा.अस्मिता रायमाझी  |  दृष्टिकोण  |  बैशाख ३०, २०७८

क्यान्सर रोगमा शल्यक्रिया र केमोथेरापीको विषयमा धेरै मानिसहरूले सुन्दै आएका भएता पनि धेरैलाई रेडियो थेरापीको बारेमा थाहा नहुन सक्छ । क्यान्सर रोगमा रेडियो थेरापीको भूमिका शल्यक्रिया र केमोथेरापी जति नै महत्त्व हुन्छ । 

क्यान्सरका बिरामीहरूले रेडियो थेरापीलाई 'सेकाई' को रुपमा चिन्ने र लिने गरेको पाइन्छ । यो शब्द प्रयोग गर्नु सायद त्यति उचित नहोला ।बिरामीलाई 'सेकाई' चाहिन्छ भन्दा धेरै जसोले तातोपानी, तातो ढुङ्गा र कोरियन 'सेकाई' गरेर घरमा बसेको पनि पाइन्छ । यसै कारणले गर्दा 'सेकाई'को बदलामा  रेडियो थेरापी नै उचित शब्द हो ।  यसको बारेमा सबैले केही न  केही  जानकारी राख्नु बुद्धिमानी अवश्य हुन्छ । रेडियो थेरापीको इतिहास पनि पाठक वर्गको लागि एउटा चाख लाग्दो विषय बन्न सक्छ । रेडियो थेरापीको प्रयोग हुन थालेको करिब एक सय वर्षको हाराहारी भइसकेको छ ।  एक्स-रे को आविष्कार सन् १८९५ मा विल्लिअम रन्जनले (William Roentgen) गरेका हुन्  । यो एउटा आकस्मिक खोज थियो । रन्जनले विकिरणको अध्ययन गर्दा एउटा हरियो विकिरण देखिएको थियो । यस्तो विकिरणलाई उनले एक्स-रे (X-Ray) भनेर नामकरण गरेका थिए ।  'x' भन्नाले थाहा नभएको कुरा र 'Ray' भन्नाले विकिरण भन्ने अर्थ  बुझाउँछ । 

प्रायगरेर नाक,कान,घाँटी,स्तन,मस्तिष्क,रेक्टल,फोक्सोको क्यान्सरमा रेडिएसनको प्रयोग गरिन्छ। मुख्यता माथिको क्यान्सर उल्लेख गरेता पनि यी बाहेक धेरै थरिका क्यान्सरमा यसको भूमिका छ। रेडिएसनको प्रयोग क्यान्सरको स्टेज अनुसार गरिन्छ।

रन्जनले माथि उल्लेख गरिएको विकिरण उनकी श्रीमतीको हातमा पर्दा, हातका हाडहरू देखेका थिए । पछि यही विकिरणको मद्दतद्वारा शरीरका विभिन्न अङ्गहरूको अध्ययन गरेर विभिन्न प्रकारका रोगहरूको निदान गर्न सम्भव भएको थियो ।  एक्स-रेको आविष्कारले स्वास्थ्य विज्ञानलाई एउटा ठुलो उपयोगी योगदान दिएको छ ।   विश्वका हजारौँ हजार बिरामीहरूलाई स्वास्थ्य बनाउन  एक्स-रे प्रविधिको ठुलो मात्रामा प्रयोग भइरहेको छ ।

William Roentgen

स्तन क्यान्सर रोगबाट फर्केर आएकी महिलाको दुखाइ कम गर्न उन्नाइसौँ शताब्दीको सुरुवातमा नै चिकित्सक एमिल ग्रुब्बे (Emil Grubbe) ले रेडियो थेरापीको प्रयोग गरेका उल्लेख गरेका थिए ।  क्यान्सर उपचारका लागि एक्स-रे  प्रविधि प्रयोग गरिएको यसलाई नै पहिलो घटनाका रुपमा  मानिएको छ । 

Emil Grubbe

उन्नाइसौँ  शताब्दी रेडियो थेरापीको विकासको लागि महत्त्वपूर्ण समय मानिन्छ । Madam Curie र  Pierre Curie ले  रेडियम पत्ता लगाए सँगै केही वर्षपछि क्यान्सर उपचारमा रेडियमको प्रयोग गर्न सकिने कुरा उल्लेख गरिएको पाइन्छ । रेडियम एउटा रेडियोधर्मी सामग्री हो जुन युरेनियम भन्ने खनिजबाट निकालिन्छ ।

 

Madam and Pierre Curie

उन्नाइसौँ  शताब्दीको सुरुमा थोरै भोल्ट भएको एक्स-रेबाट सतहको क्यान्सरको उपचार भएता पनि शरीर भित्रमा त्यति प्रभाबकारी नभएकोले सन् १९६० मा लण्डनको  St.Bartholomew  अस्पातलमा मेगा भोल्ट एक्स-रे लाई पहिलो पटक प्रयोगमा ल्याइएको थियाे । 

Megavolt x-ray

दोस्रो विश्व युद्धसँगै आणविक रियाक्टर (Nuclear Reactor)को आविष्कार सँगै कृत्रिम  रेडियो आइसोटोप जस्तै कोबाल्ट-६० (Cobalt-60) को विकास भयो ।  पहिलो पटक नेपालमा ल्याइएको रेडियो थेरापी मेसिन कोबाल्ट-६० नै हो क्ष्सन् १९९१ मा वीर अस्पतालमा ल्याइएको उक्त मेसिनले २५ वर्ष सम्म सेवा प्रधान गर्‍यो । अहिले भक्तपुर र भरतपुर अस्पतालमा एक एक वटा कोबल्ट-६० मेसिन छन् भने अन्य केही ठाउँमा नयाँ प्रविधिका मेसिनहरू आइसकेका छन् ।


 

Cobalt-60 मेसिन

रेडियो थेरापी भनेको के हो र यसको क्यान्सर रोगमा के भूमिका हुन्छ ? 

 रेडियो थेरापी भनेको विकिरणको  प्रयोगबाट अनावश्यक क्यान्सर कोसलाई नष्ट पार्नु हो । सिटी स्क्यान गरेजस्तै बिरामीलाई मेसिनमा राखिन्छ र यही मेसिनबाट आएको मागे भोल्टको विकिरणले क्यान्सर कोसलाई नष्ट पार्छ ।   

क्यान्सर हो वा होइन भनेर विकिरणले कसरी चिन्छ ?

उपरोक्त कुराको जानकारीमा रेडिएसन ओन्कोलोजी चिकित्सकको ठुलो भूमिका हुन्छ ।क्यान्सर कोसलाई नष्ट पार्ने र वरिपरिका अङ्गहरूलाई विकिरणको प्रभावबाट जोगाउन रेडिएसन थेरापीको मुख्य सिद्धान्त हो । यही सिद्धान्तलाई अनुकरण गर्दै रेडिएसन ओन्कोलोजी विशेषज्ञले  क्यान्सरलाई एउटा आकृति र छेउछाउको जोखिम अङ्गलाई एउटा आकृति दिइन्छ, डोज दिइन्छ र फिजीसिस्टको (Physicist) मद्दतबाट विकिरणको प्लान गरिन्छ र अन्त्यमा चिकित्सकले प्लानलाई स्वीकृत गरेपछि उपचार सुरु हुन्छ, यसरी चिकित्सक, फिजीसिस्ट र टेकनोलोजीस्टको 'टिम वर्क'बाट कार्य सफल हुन्छ । अहिले नेपालमा नयाँ प्रविधिका मेसिनहरू आइसकेका छन् जसले क्यान्सर कोषलाई डोज दिएर छेउ छाउको अङ्गलाई जोगाउने काम गर्छ ।

LINAC मेसिन

कस्ता क्यान्सरमा रेडियसनको भूमिका हुन्छ  ?

प्रायगरेर नाक,कान,घाँटी,स्तन,मस्तिष्क,रेक्टल,फोक्सोको क्यान्सरमा रेडिएसनको प्रयोग गरिन्छ। मुख्यता माथिको क्यान्सर उल्लेख गरेता पनि यी बाहेक धेरै थरिक क्यान्सरमा यसको भूमिका छ। रेडिएसनको प्रयोग क्यान्सरको स्टेज अनुसार गरिन्छ। चौथो स्टेजको क्यान्सरमा समेत हड्डीमा, मस्तिष्कमा फैलिएको,पेटको क्यान्सरमा रगत बगिरहने भएमा, खकारमा रगत देखिएमा, यो सबै रोकेर बाचुन्जेल को लागि सहजता ल्याउन पनि प्रयोग गरिन्छ। 

रेडिएसन थेरापी कति दिनको हुन्छ ?

रेडिएसन थेरापी एकै दिनमा सकिन्न। रोगको स्टेज अनुसार उपचारको मनसाय  निको पर्ने हो कि सजिलो मात्र पार्ने हो त्यही अनुरूप रेडिएसन ओन्कोलोजी विशेषज्ञले डोजको (Dose) निर्धारण गर्नुहुन्छ। निको पार्ने मनसायको  उपचारमा क्यान्सर भएको अङ्ग अनुसार ३५,३०,२५ आदि दिन हुन सक्छ भने सजिलो मात्र पार्न गरेको उपचार मा ५ वा १० दिन हुनसक्छ। क्यान्सर प्रभावित अङ्गहरू र क्यान्सरको स्टेज अनुसार रेडिएसनको डोज र समय तोकिने भएकोले विशेषज्ञको सल्लाह अनुसार उपचार गराउनु बुद्धिमानी हुन्छ।
केही दिन उपचार गराएर छोड्दा रोग बढ्न सक्ने सम्भावना हुन्छ। यसर्थ बिचमा उपचार छाड्नु हानिकारक हुन सक्छ । यो सबै कुरालाई उपचारको बेला ख्याल गर्नुपर्छ र आफ्नो विशेषज्ञसँग सल्लाह गर्नुपर्छ।  

राज्यको दायित्व :

सन् २०२० को आँकडा हेर्‍यो भने नेपालमा २०२० मा थपिएको क्यान्सर २०,५०८ थियो । यसरी हरेक वर्ष क्यान्सर रोग बढिरहेको छ । हाल नेपालमा प्रदेश ३ मा सरकारी र निजी गरेर ४ वटा रेडिएसन सेन्टर छन् भने प्रदेश १ मा एउटा । यति मात्र रेडिएसन सेन्टरहरूले बिरामीको भार खेप्न नसक्ने अवस्था छ र  सहज रुपमा उपचार पाउन कठिन देखिन्छ। प्रत्येक प्रदेशमा हाललाई कमसेकम एक एक वटा क्यान्सर उपचार केन्द्रको स्थापना गर्न राज्यले ढिलो गर्नु हुँदैन। हालको लागि पुरानो क्यान्सर अस्पताललाई सबै सुविधा पूर्ण बनाई, विशेषज्ञहरूलाई अनुभव बटुल्ने थलोको रुपमा विकास गर्न सकिन्छ, अनुभव बटुल्न बेलायत, अमेरिका,छिमेकी मुलुकमा समेत तालिमको लागि पठाउन सकिन्छ ।

पुर्बाधार र उपकरणहरूको बेवास्ता मिलाई एउटा सेन्टर अफ एकसीलेनसी (Center of Excellency) बनाउन सफल भएपछि अनुभव बटुलेका विशेषज्ञहरूलाई परिचालन पनि गर्न मिल्छ र त्यही अनुरूप  प्रदेशको  क्यान्सर अस्पतालको पनि मापदण्ड जाँच गर्न मिल्छ र त्यही अनुरूप बनाउन मिल्छ। नेपालमा क्यान्सर विशेषज्ञको उत्पादन भइसकेको छ र यो ज्यादै खुसीको कुरा हो तर पुर्बाधारहरुको  कमिले गर्दा सोचे जस्तो प्रतिफल पाउन सकेको छैन। यसर्थ यसतर्फ सम्बन्धित निकएको ध्यान गई क्यान्सर उपचारमा रेडिएसन लगायत चाहिने पुर्बधार को प्रदेशमा विकास गरे बिरामीले सही समयमा सही उपचार पाउन सफल हुन्छ भन्ने आशा गरौँ ।