रसुवाको स्वास्थ्य अवस्था सामान्य

रसुवाको स्वास्थ्य अवस्था सामान्य

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  बैशाख ३०, २०७८

रसुवा । पछिल्लो प्रारम्भिक अध्ययनबाट रसुवाको स्वास्थ्य अवस्था सामान्य देखिएको छ । कोभिड–१९ को सङ्क्रमणबारे जिल्ला प्रशासन कार्यालयले स्थानीय तहका पदाधिकारीमार्फत गरेको प्रारम्भिक अध्ययनबाट चार गाउँपालिकाअन्तर्गत २२ वडामा बसोबास गर्ने स्थानीय बासिन्दाको स्वास्थ्य अवस्था सामान्य देखिएको हो ।

पाँच गाउँपालिका एवं २७ वडा रहेको जिल्लामा करिब ४३ हजार जनसङ्ख्या रहेको बताइएको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालका अनुसार गोसाइँकुण्ड, उत्तरगगया, आमाछोदिङ्मो र नौकुण्ड गाउँपालिकाभित्र बसोबास गर्ने बासिन्दामा कुनै जटिल वा कोभिडको लक्षणसँग मिल्दोजुल्दो रोग फेला नपरेको र कालिका गाउँपालिकामा भने वडावडामा बुझ्ने काम भइरहेको छ ।

 रोग नियन्त्रणका लागि यही वैशाख २७ गते रातिबाट जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा पूर्णरूपमा पालना भइरहेको र गाउँपालिकाबाट उल्लेखनीय सहयोग भएको प्रजिअ ढकालले जानकारी दिनुभयो । यसैगरी कोरोना नियन्त्रणका लागि गोसाइँकुण्ड गाउँपालिकाले भने कार्ययोजनासहित मातहतका सम्पूर्ण कर्मचारी परिचालन गरेको छ । उक्त गाउँपालिकाले आफ्ना मातहतका स्वास्थ्यसम्बन्धी कर्मचारीलाई उपचार सेवा एवं प्रशासनिक कर्मचारीलाई भने सूचना सङ्कलन तथा अन्य आवश्यक व्यवस्थापन कार्यमा परिचालन गरेको छ ।

कोभिड नियन्त्रण व्यवस्था समितिअन्तर्गत तयार गरिएको जनशक्तिले परामर्श सेवा, स्वाब सङ्कलन, होमआइसोलेशन तथा उपचारको अनुगमन, गर्भवती, सुत्केरी, अशक्त बिरामीलाई अस्पताल लैजाने व्यवस्था, दीर्घरोगीको उपचार, विद्यालयको व्यवस्थापन सिकाइ, स्थानीय बासिन्दासँगको समन्वय र सहजीकरणजस्ता कार्यको व्यवस्थापन मिलाएको गोसाइँकुण्ड गाउँपालिकाले जनाएको छ ।

कोरोना पोजेटिभ देखिएका बिरामीलाई घरमै उपचार सेवा सहज पार्न चिकित्सकको परामर्शमा सो गाउँपालिकाले आफ्नो स्वास्थ्य शाखामार्फत आवश्यक पर्नासाथ मास्क तथा स्यानिटाइजर र आठ प्रकारका औषधिसहित निःशुल्क वितरणका लागि तयारी हालतमा राखिएको अध्यक्ष कैसाङनुर्पु तामाङले बताउनुभयो ।

कोरोना सङ्क्रमण रोकथाम गर्न नियमित मास्कको प्रयोग, सामाजिक दूरी कायम, साबुनपानीले हातधुने, हिँडडुल बन्दजस्ता स्वास्थ्यको मापदण्ड पूर्णरूपमा पालना गराउन सचेतना कार्यलाई निरन्तरता दिइएको बताइएको छ । यसैगरी नौकुण्ड गाउँपालिकाले पनि कोरोना नियन्त्रणका लागि आफ्ना सबै जनशक्ति परिचालन गरिरहेको र स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा पूर्ण पालना हुँदै गएका कारण जिल्लामा सङ्क्रमितको सङ्ख्या क्रमशः घट्दै जाने आकलन गरिएको प्रजिअ ढकालले जानकारी दिनुभयो ।

जिल्लाभर लगाइएको निषेधाज्ञा पालना गर्दै कोरोनाबाट बच्ने र बचाउने कार्यमा सम्पूर्ण जिल्लावासी सचेत रहने कुरामा आफू आशावादी रहेको जनाउँदै जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले जिल्ला प्रशासन कार्यालय एवं स्थानीय सरकारले गरेको व्यवस्थापन र स्वास्थ्यकर्मीले दिएको उपचार सेवा तथा परामर्श आम जिल्लावासीमाझ हितकारी बन्दै गएको बताउनुभयो । 

पछिल्लो समय सङ्क्रमितको सङ्ख्या कूल १८१ र तीमध्ये १३ जना संस्थागत आइसोलेशन तथा अन्य होमआइसोलेशनमा उपचार गराइरहेका छन् । सबैको स्वास्थ्य अस्वस्था सामान्य रहेको जनस्वास्थ्य अधिकृत मनिषा देवकोटाले जानकारी दिनुभयो ।