जुम्ला समाचारः आइसोलेसन सेन्टर निर्माण गर्दे स्थानीय तह

जुम्ला समाचारः आइसोलेसन सेन्टर निर्माण गर्दे स्थानीय तह

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ३०, २०७८

जुम्ला । कोरोना भाइरसको दोस्रो लहर रोकथाम तथा सङ्क्रमणबाट बच्न जुम्लाका सात स्थानीय तह आइसोलेसन सेन्टर निर्माणमा जुटेका छन् । यहाँको तिला गाउँपालिकाले पाँच शय्याको अक्सिजनसहितको आइसोलेसन सेन्टर निर्माण गरेको छ । सो गाउँपालिको – ३ मा रहेको कोभिड अस्थायी अस्पतालमा आइसोलेसन सेन्टर निर्माण गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख गशेष शाहीले बताउनुभयो । 

उहाँले गाउँपालिकाको तीन स्थानमा हेल्थ डेस्क स्थापना गरेको बताउनुभयो । सेन्टरमा थप आवश्यक पर्ने सामग्री तत्काल उपलब्ध गराउन नेपालगञ्जबाट औषधिको माग गरिएको छ । आवश्यक सामग्री तत्काल व्यवस्थापनका लागि निर्देशन दिइएको छ । । कोरोना भाइरस बढ्दै गएमा र शय्याको अभाव भएमा सेन्टरमा थप शय्याको व्यवस्था समेत गर्न गाउँपालिका लागि परेको स्वास्थ्य शाखाका प्रमख शाहीले बताउनुभयो । कोभिड अस्थायी अस्पतालमा एक मेडिकल अधिकृत, एक नर्स र एक कार्यालय सहयोगी कार्यरत छन् । 

चिकित्सक अभाव

स्थानीय तहले सञ्चालन गरेका अस्थायी कोभिड अस्पतालका लागि चिकित्सकको अभाव भएपछि अक्सिजनसहितको आइसोलेसन सञ्चालन गर्न समस्या भएको छ । सङ्घीय सरकारले अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र नभएका स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माण गर्न सबै स्थानीय तहमा बजेटसहित निर्देशन गरेको छ । 

तत्काल तीन महिनाका लागि बजेट व्यवस्थापनसहित यहाँका स्थानीय तहमा सङ्घीय सरकारले रु १० लाखका दरले बजेट पनि पठाएको छ ।  जिल्लाका सात स्थानीय तहमा अस्थायी कोभिड अस्पताल स्थापना गर्न बजेट पठाइए पनि तिला बाहेक अरु ६ स्थानीय तहले एक  चिकित्सक पनि पदपूर्ति गर्न नसकेको यहाँका गाउँपालिका प्रमुख बताउँछन् । सरकारले कोभिड अस्पतालका लागि एक मेडिकल अधिकृत, दुई स्टाफ नर्स तथा एकएक  ल्याब टेक्निसियन र कार्यालय सहयोगी राख्न बजेटसहितको व्यवस्थापन गरेको थियो । यहाँका स्थानीय तहले १५ दिनको समयावधिमा दुई पटकसम्म विज्ञापन आह्वान गरेकामा एक चिकित्सकले पनि विज्ञापनमा दरखास्त नदिएको सिञ्जा गाउँपालिकाका स्वास्थ्य संयोजक नरबहादुर बुढाले बताउनुभयो ।

चन्दननाथ नगरपालिकाभित्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भएकाले सो नगरपालिकामा मेडिकल अधिकृत छन् । स्टाफ नर्स र अन्य कर्मचारीका हकमा ठूलो सङ्ख्यामा आवेदन परी परीक्षा लिई उत्तिर्ण हुनेलाई भर्ना गरेपनि मेडिकल अधिकृत अहिलेसम्म पाउन नसकिएको यहाँका स्थानीय तहका स्वास्थ्य शाखाले जनाएका छन् । रु चार लाख ५० हजार तलब र रु पाँच लाख ५० हजार अस्थायी कोभिड अस्पताल व्यवस्थापनका लागि बजेट पठाइएको थियो । अहिले जटिल प्रकृतिका सङक्रमित सम्पर्कमा आउँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाउनुपर्ने बाध्यता रहेको कोभिड अस्थायी अस्पतालले जनाएका छन् । 

पत्रकार महासंघको भवनमा आइसोलेशन

नेपाल पत्रकार महासंघ जुम्लाले पाँच शय्याको आइसोलेसन तयार गरेको छ । जुम्ला सदरमुकाम खलंगा स्थित महासंघले आफ्नै भवनमा पाँच शय्याको आइसोलेसन तयार गरेको हो । दोस्रो लहरको कोरोना सङ्क्रमण दैनिक बढ्दै गएको र पत्रकारलाई पनि सङ्क्रमण हुन सक्ने भन्दै तत्काल पाँच शय्याको आइसोलेसनको पूर्वतयारी गरेको महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले बताउनुभयो । 

छुटै आइसोलेसनले पत्रकारलाई राहत मिल्ने महासंघका सचिव मानदत्त रावलले बताउनुभयो । महासंघको अनुरोधमा आइसोलेसन निर्माणका लागि विभिन्न संस्थाले करिब ५० हजार बराबरको नौ प्रकारका सामाग्री उपलब्ध गराएको सचिव रावलले बताउनुभयो ।