भारतबाट आउँदै विपन्न मजदुर :न नाकामा परीक्षण, न गाउँ जान यातायात

भारतबाट आउँदै विपन्न मजदुर  :न नाकामा परीक्षण, न गाउँ जान यातायात

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ३१, २०७८

काठमडौं । कोरोना संक्रमणको महामारीले रोजगारी गुमाएका नेपाली जीवन रक्षा गर्न स्वदेश फर्किएका छन्, तर नाकामा पर्याप्त परीक्षणको व्यवस्था अहिले पनि छैन  पश्चिमी सीमानाकामा भारतबाट स्वदेश फर्कनेको घुइँचो थामिएको छैन । भारतमा कोरोना संक्रमण तीव्र बनेपछि कोरोनाको त्रास र लकडाउनका कारण रोजगारी गुमाउँदा त्रिनगर र गड्डाचौकी नाकाबाट दैनिक सयौँ नेपाली घर फर्किरहेका छन् । गत चैत दोस्रो सातायता यी दुई नाकामा दिनहुँ यस्तै घुइँचो छ ।

प्रहरीको तथ्यांकअनुसार त्रिनगर नाकाबाट मात्र दैनिक हजारको हाराहारीमा स्वदेश फर्किरहेका छन् । तर, नाकामा उनीहरूको परीक्षण हुन सकेको छैन । भारतबाट फर्कनेमध्ये थोरैको मात्र एन्टिजेन परीक्षण गर्ने गरिएको छ । स्थानीय तहहरूले भारतबाट फर्केकालाई क्वारेन्टिनमा राख्ने व्यवस्था पनि गरेका छैनन् । त्यसैले उनीहरू सीधै आ–आफ्ना गाउँघर पुगिरहेका छन् र उनीहरूसँगै कोरोना संक्रमण पनि गाउँगाउँमा पुगेको छ ।

दैनिक सयौँ व्यक्ति परीक्षणविनै गाउँघर पुग्ने गरेकाले समुदायमा संक्रमण तीव्र बनेको स्वास्थ्यकर्मीको भनाइ छ । सुदूरपश्चिममा दैनिक थपिने संक्रमितमध्ये धेरैजसो भारतबाट फर्केका र उनीहरूका परिवारका सदस्य रहेको प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए ।

सुदूरपश्चिम प्रदेशमै संक्रमण तीव्र बन्नुको मुख्य कारण भारतबाट संक्रमण भित्रिनु रहेको उनको भनाइ छ । नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार अनुसार ‘नाकामा सबैको परीक्षण गर्न नसक्दा संक्रमण गाउँगाउँमा पुगेको हो,’ डा अवस्थीले भने, ‘त्यसैले अहिले गाउँगाउँमा नयाँ भेरियन्टको संक्रमण देखिएको हो ।’