जसका गीतमा ‘यथास्थितिवाद’को विद्रोह गुञ्जिन्छ
बैशाख १३, २०७६

फौजी जीवन बीचैमा टुङ्ग्याएर आएका सिपाही । त्यसमा पनि कम्युनिस्ट विचारधाराका अनुयायी । मनमा विद्रोहको राँको सल्काएर गाउँ–बस्ती चहार्न मन पराउने नवयुवक । समाजमा विद्यमान भेदभाव र असमानतामाथि चर्को आक्रोशको भाव । तिनै आक्रोशलाई लोकसंगीतका ताल र सुरमा उनेर जनजागरणका गीत गाउन रुचाउने एउटा सिर्जनशील व्यक्ति ।

यो सहज बाटो थिएन । तर पनि प्रचण्डबहादुर बुढाथोकी मगरले यही बाटो रोजे । उनी २०१४ सालमा १६ वर्षको उमेरमै आसाम राइफलमा भर्ती भए । तर, उनलाई पल्टनमा बुट बजार्ने कुनै रहरै भएन । उनी त्यहाँ एक वर्ष पनि टिक्न सकेनन् । पल्टनको जागिर बीचैमा छाडेर घर फर्किए । 

उनको मनभित्र अर्कै कुराको हुटहुटी चलिरहेको थियो । पल्टनियाँ जीवन त्यागेपछि उनले जनजागरणको गीत गाउन थाले । फौजी जिन्दगी भोगिसकेका उनले युवाहरूलाई लाहुर नजान आग्रह गर्दै गीत गाए । उनले गाएका गीतको हरफ ‘लाहुरे हुन नजाऊ दाइ अब त, खेर गयो नेपाली रगत’, ‘फर्किआऊ दाइ छकछके रेलैमा, देशमा जनता जागेको बेलै’, ‘यो देशको हालचाल कस्तो छ, छाती पिटी रोइरहुँजस्तो छ’ अभैm पनि धेरैको स्मृतिमा ताजै छ । 

उनले सुरुसुरुमा भजन, सोरठी सवाइ पनि गए । पछि क्रान्तिकारी गीतमा दिल बस्यो । उनले देश उचाल्ने तागत भएका युवा वर्गको मनोबल बढाउने किसिमका आवाज बुलन्द गरे । ‘युवा तिम्रो काँधमा देश उचाल्ने शक्ति छ, युवा तिम्रो मुटुमा देशको श्रद्धा भक्ति छ’, ‘युवा तिम्रो हातमा वैज्ञानिक जुक्ति छ, तिम्रो हातमा सर्वाहारा गरिबको मुक्ति छ’ जस्ता उनका गीत निकै चर्चित छन् । 

उनी सधैँभरि ‘यथास्थितिवाद’को विरुद्धमा उभिए । ‘यथास्थितिवाद’ लाई चिर्न उनले क्रान्तिको झिल्को पार्ने गीत गाइरहे । देश र दुनियाँलाई ब्युँझाउन आवाज बुलन्द पारिरहे । अनि, धेरैले नरोजेको बाटो रोजेर आफ्नो पृथक पहिचान बनाए ।

क्रान्तिकारी गीत गाएकाले उनीमाथि राज्यको बक्रदृष्टि परिरहेको थियो । ‘शासक वर्गले आफूहरूलाई शोषक–सामन्ती भनेर गीत गाउँछन् भनेर हामीप्रति बक्रदृष्टि राख्थे,’ उनले विगत सम्झिए । शासकको दृष्टिमा ‘अराष्ट्रिय’ तत्व ठहरिए पनि उनलाई धुरी मानेर लोकसंगीतको क्षेत्रमा अघि बढ्नेहरूको संख्या पनि कमी थिएन ।

जतिबेला उनले फिल्डमै देखिएर गीत गाउन थाले, त्यतिबेला कलाकारको संख्या नितान्त न्यून थियो । त्यसमा पनि विद्रोहको स्वर उराल्ने कलाकारको संख्या नगन्य थियो । उनी क्रान्तिको गीत गाउने दर्बिलो आवाज भएर अगाडि आए, पछि हटेनन् । उनी ‘जनगायक’ हुनका पछाडि एउटा गतिलो पृष्ठभूमि छ । 

अर्घाखाँचीको खिदिममा जन्मेका प्रचण्डबहादुर बुढाथोकीको परिवार बेलैमा नवलपरासी झरेको थियो । नवलपरासीमा उनको र मोदनाथ प्रश्रितको घर टाढा थिएन । उनीहरू एकआपसमा सम्पर्कमा आइरन्थे । उनीहरूबीच राजनीतिक विषय विचारविमर्श भइरहन्थ्यो । विचारविमर्शको निष्कर्ष स्वरूप उनीहरूले माक्र्सवादलाई मार्गदर्शक सिद्धान्तको रूपमा अपनाउने अठोट लिए । सँगै हिँड्ने डुल्ने अन्य साथीसंगीले पनि यसैमा सहमति जनाए । 

उनीहरूको अठोट पहाडको ठाडो खोलाजस्तो जर्कटो थियो । बुढाथोकीले २०२२ सालदेखि विद्रोही गीत गाउन सुरु गरे । यसपछि उनको परिचय ‘जनगायक’का रूपमा दरिन थाल्यो । उनले अन्याय, अत्याचार र भेदभावविरुद्ध गीतमार्पmत् आवाज उठाउन थाले । ‘पूर्वमा रातो लालीमा छाउँदैछ, धुरुमा धुरु नरोऊ साइँला हाम्रो दिन आउँदैछ’, ‘पहेँलो धान झारिदियो परेर असिना, कति दिन खेर जाला यो हाम्रो पसिना’ जस्ता गीतले उनभित्र उम्लिरहेको क्रान्तिकारीपनको परिचय दिन्छन् । 

क्रान्तिकारी गीत गाएकाले उनीमाथि राज्यको बक्रदृष्टि परिरहेको थियो । ‘शासक वर्गले आफूहरूलाई शोषक–सामन्ती भनेर गीत गाउँछन् भनेर हामीप्रति बक्रदृष्टि राख्थे,’ उनले विगत सम्झिए । शासकको दृष्टिमा ‘अराष्ट्रिय’ तत्व ठहरिए पनि उनलाई धुरी मानेर लोकसंगीतको क्षेत्रमा अघि बढ्नेहरूको संख्या पनि कमी थिएन । 

चर्चित लोकगायक लोकबहादुर क्षेत्री उनका अनुयायीमध्ये एक हुन् । क्षेत्री उनलाई गुरु मान्थे, जसबाट उनी निकै प्रभावित थिए । क्षेत्रीको स्वरमा गुञ्जिने लोकप्रिय गीत ‘छोरीलाई नगर हेला, पढ्ने बेला घरधन्दा झमेला’ प्रचण्डबहादुर बुढाथोकीले नै रचेका गीत हुन् । 

उनले राष्ट्रिय प्रसारण संस्था रेडियो नेपालमा धोको फेरेर गीत गाउनै पाएनन् । रेडियो नेपालमा उनका चार–पाँच वटा मात्र गीत छन् । रेडियो नेपालमा गीत सेन्सर गर्ने प्रणाली भएकाले धेरै गीत गाउन पाएनन् । उनका धेरैजसो गीत क्रान्तिकारी प्रकृतिका थिए, जुन व्यवस्था विरोधी आवाज बन्न सक्थ्यो । यही कारण उनका धेरै गीत त्यहाँ रेकर्ड हुन पाएनन् ।

‘ओरालीमा जो झरे पनि मेरै माया झरे झै‌ लाइरनी भन्थी सानीले’, ‘डरलाग्दो कालीपार पैह्रो, पैह्रोभन्दा पीरति झन गैह्रो’ उनले रेडियो नेपालमा स्वरांकन गराएका गीत हुन् । यी उनले नगन्य मात्रामा गाएका मायाप्रीतिका गीतमध्येको एक हो । 

उनी गायनका अतिरिक्त अभिनयमा पनि खप्पिस थिए । उनी नाटकमा पनि अभिनय गर्थे ।  त्यस समयमा मोदनाथ प्रश्रितले ‘पचास रूपैयाँको तमसुक’ शीर्षकमा नाटक लेखेका थिए । उनी नाट्य टोलीमा सहभागी भए । २०२५ सालतिर त्यो नाट्य टोली पूर्वोत्तर भारतको सिलोङ, आसामजस्ता नेपालीभाषी भएको ठाउँमा पुग्यो । उनीहरूले गोरखपुरको पीपलडाँडामा पनि नाटक प्रस्तुत गरे ।

पूर्वोत्तर भारतको भ्रमणको मौकामा उनलाई अर्को मौका पनि जुर्‍यो । उनले रेडियो खर्साङमा गीत गाउने मौका पाए । उनको त्यहाँ मीठो स्वागत भयो, त्यतिबेला उनले रेडियो नेपाल र रेडियो खर्साङबीच एउटा कुरामा तात्विक भिन्नता पाए । ‘रेडियो नेपाल गीतमा गीत गाउन चाकडी गर्नुपर्ने तर त्यहाँचाहिँ गीत गाइदिन उनीहरूबाटै अनुरोध आउने,’ उनी दुईवटा विरोधाभाषपूर्ण प्रवृत्तिको स्मरण गर्छन् । 

पूर्वोत्तर भारतका नेपालीभाषीले उनको गीत निकै मन पराए । त्यहाँ उनको ख्याति चुलियो ।

जतिबेला उनले क्रान्तिको झिल्का पार्ने गीत गाउँदै थिए, त्यतिबेला दलविहीन पञ्चायती व्यवस्था उन्मत्त हुँदै थियो । पूर्वोत्तर भारतको नाटक प्रदर्शन गरेर फर्किएपछि मोदनाथ प्रश्रित पक्राउ परे । प्रश्रितसँगै अरू पनि पक्राउ परे । प्रचण्डबहादुर बुढाथोकीमाथि पनि राज्यको निगरानी बढ्यो । उनी कहिले भूमिगत त अर्धभूमिगत हुँदै हिँड्न थाले । घरको मियो नै हल्लिएपछि घरपरिवारले सास्ती भोग्नुपर्यो ।

जीवनमा धेरै उतारचढाव भोगेका उनको जीवन घामछायाँजस्तो रह्यो । कहिले एउटा भूमिका, कुनै बेला अर्को भूमिका । उनी शिक्षक २७ वर्ष ६ महिना शिक्षण पेशामा संलग्न रहेर २०६० सालमा सेवानिवृत्त भए । जनसांस्कृतिक महासंघका संस्थापक सदस्य रहेका उनी कवि, गीतकार र थुप्रै कृतिका सर्जक हुन् । उनका एक दर्जनभन्दा बढी कृति छन्, जसमध्ये अधिकांश गीत र कविता छन् । उनका थुप्रै कृति अप्रकाशित छन् ।

उनले स्थानीयस्तरका ३० वटा पुरस्कार पाएका छन् । उनी नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानबाट २०७२ सालमा पुरस्कृत भएका छन् । देश र नागरिकका लागि उनले के दिए, उनको प्रतिभाको कसरी लेखाजोखा भयो, उनले कति सम्मान पाए, समाजले उनबाट कति ज्ञान र सीप पाए, यी सबै बेग्लै विश्लेषणको विषय हुनसक्छ । तर, यतिचाहिँ निर्धक्क भन्न सकिन्छ– उनी आफैंमा एउटा पाठ हुन् । 

उनका समकालीन, अनुयायी र अनुजहरूले उनको जीवनधारालाई विभिन्न कोणबाट विश्लेषण गरेका छन् । कवि बुँद रानाले ‘रेडियो जनता’सँग कुराकानी गर्दै उनलाई ‘जनगायक’को उपाधि दिएका थिए । रानाले उनलाई राज्यले संरक्षण गर्नुपर्ने प्रतिभा हुन् भनेका छन् ।

जनमनमा थुप्रै अमिट छाप छाडेर २०७६ साल वैशाख २ गते उनी यस क्षणिक दुनियाँबाट नाता तोडे । दुनियाँसँग नाता तोड्नुको निहुँ थियो, निमोनिया र कमलपित्त । अब उनी हामीबीच छैनन् । उनको साङ्गीतिक विरासत थाम्ने जिम्मा अनुयायी र अनुजहरूको काँधमा आएको छ । उनका सांगीतिक विरासतलाई समाजको बृहत्तर हितमा लगाउनु नै उनीप्रति सही श्रद्धाञ्जलि दिएको ठहरिनेछ ।

याे पनि

पानको पातका सर्जकको मदिरासँग पारपाचुके

जसले कोमल ओलीलाई दोहोरीमा हराए

गुमनाम लोकगायक, जो कुनै दिन एकै दिनमा डेढ लाख कमाउँथे

धेरैलाई ‘सेलिब्रिटी’ बनाउने एउटा गुमनाम प्रतिभा

स्वरकी रानी बिमाको उतारचढावपूर्ण जिन्दगी

दोहोरीमा अपराजित तेजबहादुर, जसको भाग्य गाडी ठक्करले खोसियो

‘स्वागत छ दर्शक आकालाई, नमस्कार छ बेइमानी काकालाई’ का गायक पराजुली जस्ले पहिलाे दोहोरी साँझ चम्काए

‘फेरि के के हुन्छ कल्ले जान्ने हो, यसपालिको दशैं तिहार गाउँमै मान्ने हो’ गीतका गायक


लेखक प्राध्यापन गर्नुहुन्छ ।